सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको लक्ष्मणपुरमा पुगेर नेता रविन्द्रले भनेका थिए, ‘हाम्रो भूमि भारतको दाइजो होइन’

बाँके । नरैनापुर गाउँपालिका–५ बाँकेका लक्ष्मणपुर रामखेलावन यादवले हेलिकप्टर दुर्घटनाको समाचार सुनेपछि २०५४ सालतिरको सम्झना गरे । जुनबेला रविन्द्र अधिकारी विद्यार्थी नेता थिए । विद्यार्थी राजनीतिमा सक्रिय भएकै बेला नेपाल–भारत सीमामा भारतले एकतर्फीरुपमा बनाएको लक्ष्मणपुर बाँध भत्काउँ अभियानको नेतृत्व रविन्द्रले गरेका थिए ।

यादवलाई नाम थाहा छ, मन्त्री भएको पनि जानकारी छ, विद्यार्थी नेता हुँदा लक्ष्मणपुर पुगेको पनि उहाँलाई याद छ, तर त्यसयता आजसम्म अधिकारीसँग भेट भएको छैन । हेलिकप्टर दुर्घटनापछि यादवले मन्त्री अधिकारीको नाम सुने, उनको मनमा चैन छैन, अधिकारीको त्यो पुरानो अनुहार यादवको मानसपटलमा अलिअलि मात्रै ताजा छ ।

पुरानो याद सम्झँदै यादव भन्छन्, ‘यहाँ आउने एउटा बाबु मन्त्री भएका थिए, हेलिकप्टर दुर्घटनामा परेछन् । सारै राम्रा थिए । राम्रालाई कालले पनि नछोड्नै रहेछ ।’ हेलिकप्टर दुर्घटनापछि लक्ष्मणपुरका यादवमात्रै नभएर धेरैले रविन्द्रलाई सम्झिएका छन् । लक्ष्मणपुरबासीलाई रविन्द्रले बोलेको एउटै कुरा सम्झनामा छ, ‘हाम्रो भूमि भारतले दाइजो दिएको होइन, यहाँ उसको अधिकार छैन ।’

दिवंगत भएका रविन्द्रलाई लक्ष्मणपुरवासीले अहिले पनि स्पष्ट वक्ताका रुपमा सम्झिन्छन् । नेपाली भूमि बचाउन रविन्द्रले नेतृत्व गरेको आन्दोलन सम्झिँदै लक्ष्मणपुरका मैकुलाल यादव भन्छन्, ‘उहाँले लक्ष्मणपुर बचाउँ आन्दोलनको नेतृत्व गर्नुभएको थियो । लक्ष्मणपुरमा आएको अहिले पनि सम्झिरहेको छु । आज समाचार सुन्दा पत्याउनै मुस्किल भएको छ । मुलुकले राष्ट्रप्रेमी नेता गुमायो ।’

भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको भन्दै रविन्द्रले लक्ष्मणपुरमा भाषणसमेत गरेका मैकुलालले स्मरण गरे । ‘भारतले एकतर्फीरुपमा बाँध बाँधेको भन्दै नेता रविन्द्रले त्यसको विरोध गर्नुभएको थियो,’ मैकुलालले भने, ‘भारतको एकलौटी निर्णय मान्दैनौं भन्दै विद्यार्थीकालमै प्रष्ट बोल्नुभएको थियो ।’

मैकुलालले भने, ‘हरेक वर्षातमा लक्ष्मणपुरका पाका पुराना अगुवाले कुनै न कुनै बेला रविन्द्रलाई सम्झिँदै आएका थियौं । अब त त्यो पनि रहेन ।’ बर्षायाममा लक्ष्मणपुरबासीको एउटै पीडा हुन्छ, ‘रातमा बाढी आयो भने हामी सबै मर्छौं, पछि अध्ययन गर्न धेरै आउलान् तर पहिले काम गर्न कोही आउँदैनन् । हाम्रा माग सरकारले सुन्दैन ।’ समस्या अहिले पनि उस्तै छ । बाढी आउँछ, स्थानीयहरु सरकारसँग हारगुहार गर्छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार २०:५१