बाँके । सभागृह निर्माणका लागि यसअघि उठाइएको रकम पारदर्शीरूपमा सार्वजनिक गर्न चौतर्फी दबाब आएपछि नेपालगन्ज उद्योग बाणिज्य संघले बिहीबारदेखि गर्ने भनेको महोत्सव केही दिन पर सारिएको छ । संघले सभागृह निर्माणका लागि भन्दै यसअघिका बर्षमा पटक पटक महोत्सव आयोजना गरी करोडौंको रकम संकलन गरेको छ ।
उक्त मेला, महोत्सवमा उठेको एकीन रकम अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन । संघले सभागृहका नाममा उठाएको रकम हिनामिना गरेको आरोप लागिरहेको छ । यद्दपी संघ उक्त आयव्यय पारदर्शीरूपमा सार्वजनिक गर्ने मनशायमा अझैपनि देखिएको छैन् । संघले तत्कालिन अध्यक्ष दामोदर आचार्यको कार्यकालदेखि नियमित सभागृहका नाममा मेला, महोत्सव गर्दै लाखौं रकम उठाउँदै आएको छ ।
सभागृह निर्माणका लागि आमनागरिकले दिएको रकम संघका अध्यक्ष नन्दलाल बैश्यलगायतका पदाधकिारीले विभिन्न बहानामा खर्च गर्दै आएको संघ निकट स्रोतले खुलासा गरेको छ । संघमा भएको आर्थिक हिनामिनाका बारेमा जिल्ला प्रशासन कार्यालय बाँके पनि उदासीन रहेको छ । अख्तियार र पारदर्शीताका आडम्बरी गफ गर्ने अशल शासन क्लब समेत मौन बसिरहेको स्थानीय व्यवसायी बताउँछन् ।
संघले फागुन १६ गतेदेखि नेपालगन्जमा फेरि सभागृह निर्माणकै निहुँमा प्रादेशिक महोत्सव गर्न लागेको थियो । विगतको रकम सार्वजनिक गर्न दबाब बढेसँगै संघकै पदाधिकारीबीच आन्तरिक विवाद उत्पन्न भएपछि बिहीबारदेखि गर्ने भनिएको मेला सरेको संघका एक कार्य समिति सदस्यले जानकारी दिए । तर, संघका अध्यक्ष नन्दलाल बैश्यले भने बर्षाका कारण सारिएको दाबी गरेका छन् । उनले बुधबार गोप्यरुपमा पत्रकार सम्मेलन गर्दै मौसम अनुकूल नभएकोले महोत्सव सारिएको बताए ।
सत्यपाटी - ।