साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।।”
दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौँ र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर लगिन्छ तर, कञ्चनपुरकी डिक्रालाई बोलाइन्नँ । बोलाइए पनि काठमाडौँबाट लगिने कलाकारको तुलनामा अति न्यून पारिश्रमिक दिइन्छ ।
डिक्राले डेउडा र ठाडी भाकामा दिएको योगदानलाई सम्मान र संरक्षण गरिनुपर्नेमा उल्टै उपेक्षा भइरहेका बेला गएको शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा एकल डेउडा गायनपछि डिक्राको परिचय देशभर फैलिएको छ । तारादेवी, नारायण गोपाल जस्ता मूर्धन्य कलाकारहरुले रेडियो नेपालमा गाएको सुनेर कलाकार बनेकी डिक्रालाई आफूले पहिला पहिला गाएका आफ्नै गीत र भाकाहरु बिर्सने स्थिति भइसकेको छ ।
कोइली झैँ सुरिलो आवाज निकालेर पति सङ्गीतकार कित्थ्या बादीका साथ भाका हालेर काठमाडौँका कलाप्रेमी र दर्शकमाझ पहिलोपटक प्रस्तुत भएपनि डिक्रालाई यस क्षेत्रमा पुनरागमन हुन उत्साह थपिएको छ । उचित वातावरण नपाएपछि विसं २०५२ तिर उहाँले गायनलाई स्थगन गर्नुभएको थियो । रासससँग कुरा गर्दै डिक्राले भन्नुभयो – “खोजीखोजी काठमाडौँमा गायनका लागि ल्याउन पहल गर्ने अमृत भादगाउँले र हेमन्त विवशका कारणले मलाई आँट मिलेको छ । मेरो भाग्य खुलेको छ । अब बाटो पाएँ जस्तो लागेको छ ।”
कन्सेप्ट नेपालको आयोजना तथा रैथाने साङ्गीतिक समूह र अलिमियाँ लोक वाङ्यमय प्रतिष्ठानको सहयोगमा डिक्राको एकल गाउन भएको थियो जहाँ उहाँलाई आर्थिक सहयोग, गीत रेकर्ड र उपचारमा सहयोगको घोषणा गरिएको थियो । डिक्राको भगोष्ट समस्या ९युटेरस० को पनि यही काठमाडौँ बसाइमा उपचार शुरु भएको छ ।
बाजुरा माइत र घर बझाङबाट झरेर हाल कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ बङ्कमा बस्दै आउनुभएका बादीलाई दलित भएकै कारण स्थानीय महोत्सवहरूमा कलाकारका रुपमा महत्व नदिइएको ठान्नेहरु पनि छन् । “पहिला पहिला सिक्न आउनेहरू परेवा जोडी आया छन्, हात मिलाऔं भन्थे, अहिले हामीलाई भेट्न आउनेहरुलाई समेत पनि बास भएको ठाउँ ठेगाना देखाउन पछि हट्छन्,” डिक्रा दम्पतीको व्यथा छ – “रोजगारी छैन, मागेर खान भएन ।” पहाडमा डेउडा र ठाडी भाका घन्काएर हिँड्ने डिक्रालाई यो संस्कृति लोप हुन लागेकामा पनि चिन्ता छ ।
उहाँको ‘प्याउली फूल्न दे’ एल्बम तयार भएर पनि रेकर्ड भएको छैन । त्यसमा रहेका “हिउँदका पहाडी दिन भँवरा डुल्न दे,
अब त फूलका भारी फुल्न दे” जस्ता मार्मिक गीतहरु अत्यधिक लोकप्रिय छन् ।
अनामनगरमा विशेष डिजिटल सञ्चालन गर्ने शोभा थापाले काठमाडौँबाट महङ्गो शुल्कमा कलाकार लगेर ठाउँ ठाउँमा महोत्सव गर्ने आयोजकहरुले डिक्रालाई नसम्झिएकामा दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो – “डिक्रा दिदीबाट गीत सिकेकाहरुले बढी कमाउन थालिसके । उहाँको आर्थिक अवस्था दयनीय भएको चाहीँ कसैले देखेन । त्यही भएर हामीले दिदीका लागि केही गर्न खोजेका छौँ ।”
डिक्राको सम्पत्तिका नाममा बङ्कमा नौ धुर ऐलानी जग्गा छ । त्यहीँको एक झुप्रोमा उहाँहरुको जोडी बस्दै आएको छ । चार छोराछोरी लाखापाखा लागिसके । कामकै सिलसिलामा एक छोरो मलेशियामा छ ।
नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली ठाडी भाका र डेउडा बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा अपनाइन्छ । ठाडी भाकामा आलाप गर्ने लोकप्रिय परम्परा छ ।
सामान्य साक्षर डिक्रा बादीले २०५२ सालदेखि डेउडा गीत रेकर्ड गराउनुभएको हो । यसैबाट लोकप्रियता हासिल गरेर करीब एक दर्जन गीति एल्मब निकाल्नुभएका डिक्राका टेप्रिकाट ९चक्कावाला० मा रेकर्ड भएका गीतहरु डिजिटलाइज्ड हुन नसक्दा सामाजिक सञ्जालमा हेर्न र सुन्न सकिँदैन ।
काठमाडौँमा उहाँको यो पहिलो एकल गायन हो । उहाँको पहिलो एल्बम ‘बसिबियाँलो’ गायक नरेन्द्रराज रेग्मी र गोरख थापाको पहलमा भारतको पलियामा रेकर्ड गरिएको थियो । डिक्रा यसअघि बादी समुदायका महिलाले विसं २०६४ भदौ १ गतेदेखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिम ढोकाअगाडि निकालेको अद्र्धनग्न जुलुसमा सहभागी हुन काठमाडौँ आउनुभएको थियो । आन्दोलनपछि सरकारले २०६५ पुस २३ गते एक निर्णय गर्दै बादी महिलालाई यौनशोषणमुक्त र पुनःस्थापना गर्ने घोषणा गरेको थियो ।
अहिलेसम्म त्यो कार्यान्वयन नहुँदा आफ्नो समुदाय उपेक्षित भएको उहाँ ठान्नुहुन्छ । वादी समुदायका महिलाले आफूहरुको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने मागलाई अहिले पनि उठाइरहेका छन् । सरकारले आर्थिक वर्ष २०६६÷६७ को नीति तथा कार्यक्रममा बादी महिलाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न रु। तीन करोड विनियोजन गरेको थियो ।
दलित समुदायभित्र पनि सबैभन्दा धेरै बहिष्करणमा पर्दैआएका बादीहरु दाङ, कैलाली, सल्यान, रोल्पा, बर्दिया, सुर्खेत, बाँकेलगायतका जिल्लामा बसोबास गर्छन् । विसं २०६८ को जनगणनाअनुसार बादी समुदायको जनसङ्ख्या ३८ हजार ६०३ छ । महिला बादीको सङ्ख्या पुरुषको तुलनामा दुई हजार जति बढी छ । (रासस)
।