सूचनाको शक्ति - The Power Of Information

        

बीस वर्षअघि जडान गरिएका डिप बोरिङ जीर्ण

नीरज गौतम । नेपालगन्ज । बाँके जिल्लाका विभिन्न स्थानमा रहेका सबै डिप बोरिङ अहिले अत्यन्तै जीर्ण अवस्थामा छन् । बीस वर्षअघि जिल्लाका विभिन्न स्थानमा जडान गरिएका १०२ डिप बोरिङमध्ये प्रायः सबै सरकारी उदासीनताका कारण टुटफुट र बिग्रेको अवस्थामा पुगेका छन् । डिप बोरिङ सञ्चालनका लागि अहिले पनि खासै कतैबाट कुनै पहल गरिएको छैन । नेपालगन्ज उपमहानगरपालिकाले भने नगर क्षेत्रभित्रको डिप बोरिङ सञ्चालनका लागि प्राविधिक बोलाएर मर्मत गर्न थालेको छ ।

करीब २० वर्ष अगाडि डिप बोरिङ सञ्चालन हुँदा किसानको खेतमा पानीको कमी थिएन । किसान सहजै बालीनाली सिँचाइ गरिरहेका थिए । डिप बोरिङको उचित सुरक्षा, व्यवस्थापन र समयमा मर्मतसम्भारमा ध्यान नपुर्याउँदा किसानका खेतबारीले फेरि सुख्खा रहनुको नियति भोग्नु परिरहेको छ । बाह्रैमास कृषि उत्पादन गर्न डिप बोरिङ सञ्चालनमा ल्याइएको थियो । डिप बोरिङ सञ्चालनको शुरुआती केही वर्ष किसानले त्यसको प्रयोग गरे । क्रमशः डिप बोरिङ बिग्रन थाले, तर तत्काल मर्मत, सम्भारमा ध्यान नदिँदा यस्तो अवस्था आएको खजुरा–२ गौघाटका किसान देवी अधिकारीले बताए ।

डिप बोरिङको विकल्पमा आर्थिक अवस्था राम्रो भएका किसानले पानी तान्ने मोटरको प्रयोग गरिरहेका छन् भने नसक्ने किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । ‘डिप बोरिङ मर्मत र सञ्चालनका लागि अहिले पनि सरकारबाट कुनै ठोस योजना लागू भएको छैन । वर्षौँदेखि बन्द अवस्थामा रहेको डिप बोरिङ मर्मत गरेर सञ्चालन गर्न अर्बौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले अधिकांश डिप बोरिङको महत्वपूर्ण सामग्री हराएका छन् । विद्युत् प्राधिकरणको बक्यौता रकम पनि तिर्न सकिएको छैन,’ नेपालगन्जस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनीयर राजकुमार भगतको भनाइ छ ।

बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा मात्रै १९ वटा डिप बोरिङ छन् । जसमध्ये तीन वटामात्र सञ्चालनमा छन् । यस क्षेत्रका किसानले सबै डिप बोरिङ सञ्चालन गर्नुपर्ने माग गाउँपालिकासमक्ष प्रस्तुत गरेका छन् । बन्द भएका डिप बोरिङमध्ये कतिपयको ट्रान्सफर्मर चोरी भएको छ, कतिपयको मोटर जलेको छ त कतिपयको विद्युत् महसुल बक्यौता रहेको छ । बक्यौता नबुझाएसम्म विद्युत् प्राधिकरण विद्युत् जडान गर्ने पक्षमा छैन तर, समन्वय गरेमा डिप बोरिङ सञ्चालनका लागि आवश्यक सहयोग गर्न सकिने नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखा प्रमुख रामदुलार यादवको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाले भने नगर क्षेत्रका विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका करीब ३८ वटा डिप बोरिङको मर्मत कार्य अहिले शुरु गरेको छ । डिप बोरिङ मर्मत गर्न उपमहानगरपालिकाले भारतको बहराइचबाट दक्ष मेकानिक बोलाएर काम शुरु गरेको छ । बोरिङ मर्मत र सञ्चालनका लागि उपमहानगरपालिकाले रु १० लाख बजेटसमेत छुट्याएको छ । नगर प्रमुख डा धवलशम्शेर राणाले पहिलो चरणमा तीन वटा डिप बोरिङ मर्मत गरी सञ्चालनमा ल्याइने र त्यसको परिणाम हेरेर मात्र अन्य बोरिङ मर्मत गरेर सञ्चालनमा ल्याउने बताए । मर्मत गर्न लागिएको अधिकांश डिप बोरिङको ट्रान्सफर्मर र महत्वपूर्ण पार्टपुर्जा चोरी भएको अवस्थामा रहेको छ ।

उपमहानगरपालिकाले डिप बोरिङ सञ्चालन गरेपछि कृषक समूहलाई हस्तान्तरण गर्ने जनाइएको छ । करीब २० वर्ष अगाडि सञ्चालनमा आएर असुरक्षाका कारण प्रयोगविहीन भएका ती डिप बोरिङ मर्मत गरेर एक महीनाभित्र सञ्चालनमा आउने बताइएको छ । ‘डिप बोरिङ सञ्चालन भएपछि नेपालगञ्जको कृषि विकासमा क्रान्ति नै आउँछ,’ नगर प्रमुख राणाको थप भनाइ छ, ‘एउटा डिप बोरिङबाट झण्डै ३० देखि ४० बिघा जमीनमा सिँचाइ गर्न सकिन्छ ।’ यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि पनि रु १० लाख बजेट विनियोजन गरेको नगर प्रमुख राणाले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १५:२७