सूचनाको शक्ति - The Power Of Information

        

विद्यालयमा मेरो एकदिन अभियान कार्यान्वयन : विद्यार्थी पढाउँदै उपमेयर

बाँके । प्रदेश पाँच सरकारले विद्यालयका लागि मेरो एक दिन अभियानको शुरूवात गरेको छ । केही समयअघि दाङको तुलसीपुरको एक विद्यालयमा गई पढाएर मुख्यमन्त्री शंकर पोखरेलले अभियानको शुभारम्भ गरेका थिए । यसैको निरन्तता दिँदै र सरकारको नीतिलाई अक्षरस कार्यान्वयन गर्दै कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी थारूले पनि विद्यालयमा पढाएकी छन् ।

नगरपालिकाभित्र पर्ने एक बिद्यालयको कक्षा कोठामा अचानक उपप्रमुख प्रबेश गर्दा बिद्यार्थीहरु चकित भएका थिए । कोहलपुर २ स्थित कृषि प्राबिधिक धारको अनुगमन गर्ने क्रममा उपमेयर थारूले लक्ष्मी माविको कक्षा ९ मा प्रबेश गरी विद्यार्थीलाई पढाएकी हुन् । विद्यार्थीहरुलाई पढाईमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिदैं उपप्रमुख थारूले पढाईनै सबै भन्दा ठुलो कुरा भएको बताइन् । उपप्रमुख थारूले नेपाल कृषि प्रदान देश भएकाले यसको महत्व बुझ्न जरुरी रहेको बताइन् ।

कृषि नै आयआर्जनको प्रमुख आधार भएकोले कृषि ब्यावसायिक र आधुनिकरन बनाउन जोड दिनुपर्ने उनको भनाई थियो । अहिलेको पुस्ताले कृषि विषयलाई पनि प्राथमिकता दिनु पर्ने बारे विद्यार्थीसँग भलाकुसारी गरेकी थारू सरोकारवालाको सामूहिक सहभागिताको माध्यमबाट सामुदायिक विद्यालयमा रहेका विविध समस्या तथा मुद्दालाई उजागर गरी शैक्षिक सुधारको अभियानलाई सकारात्मक दृष्टिकोणबाट सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले यो अभियान शुरु गरेको बताउँछिन् ।

प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई समधुर बनाएर शैक्षिक गुणस्तर उकास्न यो अभियान अघि बढाएको बताउँदै थारूले सरकारी यस अभियानमा आफूले सामान्य सहयोग मात्र गर्न थालेको बताइन् । यो अभियान प्रदेश पाँचका १०९ स्थानीय तहमा रहेका ४ हजार ६३९ सामुदायिक विद्यालयसम्म पुर्याउने सरकारी योजना रहेकोले कोहलपुर नगगरपालिका उपप्रमुख थारूले लक्ष्मी माध्यमिक विद्यालयमा पहिलो पटक पढाएकी हुन् ।

उपप्रमुख थारूले लक्ष्मी माविका विद्यार्थी र शिक्षकहरुसँग अन्तरक्रिया गरेरै विद्यार्थीले पढिरहेको कक्षा कोठामा प्रवेश गरेकी थिइन् । उनले विद्यार्थीले पढाइमा सुधार गर्नुपर्ने पक्षमा सुझाव समेत दिइन् । शिक्षकले पढाउने शैली र विद्यार्थीको पढाइका वारेमा पनि उनले चिन्ता व्यक्त गरेकी छन् । शिक्षकले कक्षा कोठामा एकोहोर पढाउने तर, विद्यार्थीहरुले सिक्ने उत्सुकता देखाएनन् भने त्यस्तो पढाईको अर्थ नहुने भन्दै उनले विद्यार्थीलाई शिक्षकसँग आफ्ना कुराहरु निर्धक्क राख्न आग्रह गरेकी छन् ।

सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाईं आकर्षणको केन्द्र बनाउनुपर्ने उनको भनाई छ । बिद्यालयका लागि मेरो एक दिन अभियानमा सामुदायिक बिद्यालयहरुमा जनप्रतिनिधि, राजनैतिक दल आबद्ध सामाजिक कार्यकर्ता, बिश्वबिद्यालय तथा प्राबिधिक बिद्यालयका प्राध्यापकहरु तथा प्रशिक्षक, सेवा निबृत कर्मचारी, सुरक्षा निकायका कर्मचारी, पत्रकार, शिक्षाविद्, सरकारी निकायका कर्मचारी, नागरिक समाज, समाजसेवी, खेलाडी, उद्योगी तथा व्यापारी, स्वास्थ्यकर्मी तथा अन्य पेशाकर्मी पनि अभियानमा सहभागी हुन सक्नेछन् ।

अभियानमा अभिभावकहरु एवम् सबै सरोकारवालाहरुले आ–आफ्नो दक्षता, विज्ञता तथा गच्छे अनुसार विद्यालयमा शैक्षिक, भौतिक, आर्थिक र नैतिक पक्षमा स्वयमसेवी रुपमा योगदान गर्न सक्ने र एक दिन बिद्यालयमा स्वयमसेवी रूपमा काम गर्न चाहने, सचेत तथा जागरूक स्वदेशी बिदेशी सबैले अभियानमा सहयोग गर्न सक्ने शिक्षा ईकाई समन्वय समिति बाँकेका प्रमुख गोरखबहादुर थापा बताउँछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतवार ११:०६