नेपालगन्जमा निर्माणाधिन डिजिटल शौचालयको फाउण्डेशन । तस्वीर : मेयर धवलशम्सेर राणाको फेसबुकबाट
बाँके । तपाई नेपालगन्जबासी हो वा यहाँ आएको पाहुना । यदि तपाई नेपालगन्जमा हुनुहुन्छ भने अब शौचसँगै संगीतको आनन्द लिन सक्नुहुन्छ । जसका लागि नेपालगन्ज उपमहानगरपालिकाले छिट्टै अत्याधुनिक डिजिटल शौचालय नेपालगन्जमा स्थापना गर्दैछ ।
नेपालगन्जको केन्द्र धम्बोझी चोक नजिक स्थापना हुन लागेको डिजिटल शौचालयमा संगीतको आनन्द लिँदै आरामका साथ शौच गर्न पाउने ब्यवस्था उपमहानगरपालिकाले ल्याएको छ । नेपालगन्जको धम्बोझी चोक नजिक कृषिविकास बैंक र राष्ट्र बैंकको बीचमा शौचालय स्थापना हुनेछ ।
एकैपटक ७ जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान १०–१५ दिनमै सर्वसाधरणका लागि खुला गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र एसएनभीको संयुक्त पहलमा डिजिटल शौचालय निर्माण गरिँदैछ ।
केही महिनाअघि शौचालय स्थापना गरिने सो क्षेत्रमा फाउडेसनको काम सम्पन्न गरिसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाले बताए । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने डिजिटल शौचालयको निर्माणको कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।
‘जमिन माथिको फाउडेसन निर्माण अन्तिम चरणमा पुगेको छ, मेयर डा.राणाले भने, ‘काठमाडौंमा निर्माण भइरहेको सो शौचालयको फाउडेसनको स्थलगत अनुगमन गरेका छौं ।’ नेपालगन्ज उपमहानगरपालिकाको ५ लाख तथा एसएनभीको ४५ लाख लागतमा बन्ने डिजिटल शौचालयमा सोलार सिस्टमबाट विद्युत प्रवाह गरिनेछ ।
अपाङ्ग तथा महिला मैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक जना फरक क्षमता (अपङ्गता) भएका ब्यक्तिले शौच गर्न सक्नेछन् । उपमहानगरपालिकाका सरसफाई संयोजक ओविराज आचार्यले भने, ‘पूर्ण स्वचालित पद्दतीमा चल्ने शौचालयभित्र पानी र सावुन नभए शौचालयको ढोका खुल्दैन । यो शौचालय देशकै पहिलो हुनेछ ।’
उनका अनुसार शौचालयभित्र शौच गर्दा स्वचालितरुपमा संगीत बज्छ । जो कोहीले संगीत सुन्दै शौच गर्न पाउने छन् । शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने वा ठेक्कामा दिने त्यो निर्णय हुन बाँकी छ । यसअघि नेपालगन्जमा शौचालय अभावको समस्यालाई समाधान गर्न चार वटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।
सत्यपाटी - ।