सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा अत्याधुनिक ल्याण्डफिल साइट निर्माण अन्तिम चरणमा

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको अत्याधुनिक ल्याण्डफिल साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ०७३ भदौ २८ गते सुरु भएको आयोजनाको निर्माण कार्य यही महीनाभित्र सकिने गरी निर्माण भइरहेको छ । सबै प्रक्रिया पूरा गरेर आगामी महिनादेखि सञ्चालनमा आउने तयारीमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

ल्यान्डफिल साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि करिब एक वर्ष ढिलाइ भएको थियो । त्यसयता काम सुरु भए पनि २०१८ अप्रिलदेखि मात्र निर्माण कार्यले गति लिएको थियो । आयोजनाअन्तरगत स्वतन्त्र परामर्शदाता प्रकाशराज शिवाकोटीका अनुसार यही महीनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । उनका अनुसार विद्युतीकरण र केही मेसिनहरु जडानका कामहरु बाँकी रहेका छन् ।

‘निर्माण कम्पनीले अबको केही दिनभित्र आयोजना निर्माणको सबै काम सक्नेछ,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने । क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइमार्फत जारी निर्माणकार्य करिब करिब पूरा भइसकेको र अब फिनिसिंगको काम मात्र बाँकी रहेकाले आगामी महिनाभित्र साइट सञ्चालनमा ल्याइने जानकारी दिए ।

आयोजनाको हालसम्म करिब ८७ प्रतिशत काम सकिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ नेपालगन्जले जनाएको छ । एसियाली विकास बैंकको ऋण अनुदान ८० प्रतिशत, सहरी विकास कोषको ऋण १५ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत म्याचिङ फन्ड गरी कुल रु.३३ करोड ८८ लाख २७ हजारको लागतमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको थियो ।

थप संरचना निर्माणका लागि पुनरावलोकन गरेपछि केही लागत बढेर रु.३८ करोड ९३ लाख ४२ हजारको लागतमा सम्पन्न गरिने भएको हो । यो सुरुको लागतको १४.८९ बढी हो । प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने, ‘मुख्य पूर्वाधार निर्माणका काम सकिएका छन् । सानातिना काम पनि सकिने अवस्थामा छन् ।’ यो ल्यान्डफिल साइट सञ्चालनमा आए यहाँको फोहर मैला व्यवस्थापन गर्न निकै सहज हुने उनको दावी छ ।

निर्माणको जिम्मा पाएको रम्की एन्ड एनएएनसी जेभी काठमाडौंले अबको दुई महिनाभित्र सक्ने गरी तीव्र गतिमा काम गरिरहेको जनाएको छ । सानातिना काम बाँकी रहेकाले अबको केही दिनभित्रै ती काम पनि पुरा भएर आयोजना सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ । ल्यान्डफिल साइट निर्माणकार्य पूरा भएपछि १ वर्षसम्म निर्माण व्यवसायीले फोहर संकलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

नेपालगन्जमा दैनिक ३५ देखि ३८ टन फोहर जम्मा हुने गरेको छ । ल्यान्डफिल साइटमा दैनिक २४ टन फोहर भण्डारण हुनेछ भने बाँकी फोहर व्यवस्थापनको उपाय खोजिने भएको छ । फोहर विसर्जन गर्ने स्थान नहुँदा हाल उपमहानगरपालिकाले जहाँ खाली ठाँउ पायो त्यहीं फाल्नुपर्ने बाध्यता छ । प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले साइट देशकै नमुना साइटको रूपमा रहने दाबी गर्दै भने, ‘ल्यान्डफिल साइट सञ्चालनमा ल्याउने बित्तिकै फोहर विसर्जनको समस्या समाधान हुनेछ ।’

उनका अनुसार नेपालगन्जमा अब फोहोर विसर्जन लगायतका समस्या समाधान हुनेछन् । ‘नेपालगन्जवासीले आफ्नो घर आँगन र सडकलाई सफा राख्ने बानी बसाल्नुपर्छ, सफाइ र सौन्दर्यकरणमा विशेष ध्यान दिनुपर्छ,’ प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने, ‘ल्यान्डफिल साइट नेपालकै सबैभन्दा राम्रो र आधुनिक रहेको छ । ल्याण्डफिल साइट नेपालमै अत्याधुनिक रहेकोले हेर्न तथा अवलोकन गर्न देशभरिका मानिस नेपालगन्ज आउने उनको दाबी छ ।

फोहर मैला व्यवस्थापन चुनौतीको रूपमा रहेको नेपालगन्जमा ल्याण्डफिस साइट सञ्चालनमा आएसँगै फोहरको वर्गीकरण गरी गल्ने फोहरलाई मलको रूपमा उत्पादन गरी बिक्री वितरण गरेर आयआर्जन गरिने र नगल्ने फोहरलाई रिसाइकल गरी अन्तिममा ल्यान्डफिट साइटमा विर्सजन गरिने हुँदा वातावरण स्वच्छता राख्न मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको भनाई छ ।

ल्यान्डफिल्ड साइट सञ्चालनमा आएपछि नगरको फोहोरमैला व्यवस्थापन गर्न सहज हुने विश्वास नगरवासीले गरेका छन् । निर्माण कम्पनी रम्की एन्ड एनएएनसी जेभीले फोहोर वर्गीकरण, व्यवस्थापन लगायतका लागि साइट निकै उपयोगी हुने बताएको छ । ल्यान्डफिल्ड साइट निर्माण पूरा भएपछि एक वर्षसम्म निर्माण कम्पनीले फोहर संकलन गरेर विसर्जन गर्ने कार्यलाई नै परीक्षणको रूपमा सञ्चालन गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार १२:४९