राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताउनुभएको छ ।
कृषि तथा पशुपक्षी मन्त्रालय, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन तथा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकद्वारा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७५’ को पहिलो दिन आज बनेपामा आयोजित किसान सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व हो, सरकार पनि विषादीमुक्त देश बनाउन चाहन्छ ।” उहाँले सरकारको आउँदो १० वर्षमा विषादीमुक्त देश बनाउने अभियानमा साथ दिन सबै पक्षसँग आग्रह गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले घातक विषादी प्रयोगका कारण विशेषगरी महिला तथा बालबालिकामा गम्भीर असर पारिरहेको बताउँदै आफ्नो खेतबारीको माटो र स्वास्थ्य जोगाउन किसानले आजैदेखि जैविक विषादी तथा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“सरकारले पनि कीटनाशक विषादी विधेयक पास गर्दैछ”, उहाँले थप्नुभयो, “सरकारको पाँच वर्षभित्र उत्पादन दोब्बर बनाउने अभियानमा सम्पूर्ण किसानले सहयोग गर्नुपर्छ, यसबाट हाम्रो अर्थतन्त्र पनि मजबुत हुन्छ ।”
अध्यक्ष श्रेष्ठले छिमेकी मुलुक चीन र भारतबाट वार्षिक ६०० टन विषादी भित्रिने गरेको बताउँदै घातक विषादीबाट विश्वमा वार्षिक करीब तीन लाख मानिसको मृत्यु हुनु भयावह स्थिति हो भन्नुभयो ।
“विषादी न्यूनीकरण नगरे हामीले धेरै कुरा गुमाउनुपर्छ, एकैपटक बन्द गर्न नसके पनि प्रयोग कम गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । अध्यक्ष श्रेष्ठले चेतना÷ज्ञानको अभावमा नेपालमा अत्यधिक विषादी प्रयोग हुँदै आएको र यसबाट ठूलो क्षति भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विषादी न्यूनीकरणमा आयोगले पनि विभिन्न चेतनामूलक कार्यक्रम ल्याउँछ ।”
कृिष तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव ईश्वरराज रिजालले सबै किसानले आफ्ना खेतबारीमा विषादी न्यूनीकरण गर्दै जानसके माटो र मानव स्वास्थको रक्षा गर्न सकिने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख कृष्णभद्र अधिकारीले अत्यधिक विषादी प्रयोग ठूलो चुनौती बन्दै गएकाले विषादी र रासायनिक मलको विकल्पमा जानैपर्ने बताउनुभयो ।
किसान सभाअघि ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नाराका साथ आयोजित ¥यालीले बनेपा नगर परिक्रमा गरेको थियो । (तस्बिर उपलब्ध छ)
(रासस)
।