सूचनाको शक्ति - The Power Of Information

        

सरकारको पहिलो वर्ष : ‘प्रादेशिक नीति तथा संरचना निर्माण वर्ष’

पोखरा । गण्डकी प्रदेश सरकारले सरकार स्थापनाको एक वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिदै आज वार्षिकोत्सव मनाएको छ । पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सरकार गठनका एक वर्षको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा समेत छलफल गरियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सरकार गठनको एक वर्षमा कानुनी बन्दोवस्त लगायतमा अल्झनुपरेको वास्तविकतामा जे जति काम सम्पन्न भएका छन् त्यसमा निराशा हुनुपर्ने अवस्था नरहेको बताए । लामो समयको संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले संविधान र संघीयताको कार्यान्वयनमा सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

उनले संविधानले व्यवस्था गरे अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको अधिकारको बाँडफाँड लगायतका विषयलाई सही निष्कर्षमा पुर्याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारले पहिलो वर्षलाई ‘प्रादेशिक नीति तथा संरचना निर्माण वर्ष’का रुपमा लिएको बताए ।

सरकारले विभिन्न चुनौतीका बाबजुद पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका सबै क्षेत्रमा जनआकांक्षा अनुरुप विकास निर्माणका कामलाई अघि बढाएको उनले बताए । नेपालको संविधानले परिकल्पना गरेका तीन तहका संघीय संरचना मध्ये प्रादेशिक संरचना नयाँ भएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले देश संघीयतामा गएको अनुभूति केवल प्रदेश सरकारले दिन सकेको भन्दा अत्युक्ति नहुने बताए ।

संघीय संरचना सञ्चालन र व्यवस्थापनमा अभ्यास गर्दै सिक्ने अवस्थाबाट सरकार अघि बढीरहेको उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको बताए । उनले शान्ति सुरक्षा, सुशासन जस्ता कुरामा जनताले सरकारबाट धेरै अपेक्षा गरे पनि त्यसको अनुभूति सरकारले दिलाउन नसकेको उल्लेख गरे ।

सभामुख नेत्रनाथ अधिकारीले संघीय संरचना अनुसार तीनवटै तहका सरकार बनिसके पनि अझैसम्म कसले के गर्ने भन्ने कुरा स्पष्ट नहुँदा अन्यौलता कायम भएको बताए । सत्तापक्ष प्रतिपक्ष केही नभनी संविधान र संघीयताको कार्यान्वयनमा सबैको साथ र सहयोग आवश्यक हुनेमा उनको जोड छ ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सीता सुन्दास, म्याग्दे गाउँपालिका प्रमुख माया राना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीब बहादुर कोइराला लगायतले सरकार गठनको एक वर्षका अवसरमा जे जति उपलब्धि भए त्यो सकारात्मक भएको चर्चा गर्दै आगामी दिनमा जनअपेक्षा अनुरुप समृद्धि र विकासमा केन्द्रित बन्नुपर्ने सुझाव दिए ।

कार्यक्रमका अवसरमा प्रदेश प्रमुख कुँवरले गण्डकी प्रदेश सरकारको एक वर्ष शीर्षकको पुस्तक विमोचन गरे भने सोही अवसरमा प्रदेशका गतिविधि, योजना आदिको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट अनुगमन, समन्वय एवम् सहयोग पुर्याउने लक्ष्यका साथ मुख्यमन्त्री गुरुङले औपचारिक रुपमा ‘वार रुम’ शुभारम्भ गर्नुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १८:३०