सूचनाको शक्ति - The Power Of Information

        

उद्योगको उत्पादनमा बृद्धि, गुणस्तरमा बेवास्ता

बाँके । बाँकेको नेपालगन्जमा रहेका प्लाष्टिक उद्योगहरूले उत्पादन दोब्बर बढाएका छन् । तर, बस्तु वा सामग्री उत्पादनसँगै गुणस्तरमा भने उद्योगहरूले खासै ध्यान दिएका छैनन् ।

नेपालगन्जमा आर्थिक वर्ष २०७४/०७५ मा ६३० मेट्रिक टन प्लाष्टिकका सामाग्री उत्पादन भएको व्यवसायी बताउँछन् । यद्दपी यी बस्तुको टिकाउ म्याद, वा गुणस्तरका बिषयमा उनीहरू आफै अनबिज्ञता देखाउँछन् ।

आर्थिक वर्ष २०७३/०७४ मा २७५ मेट्रिकटन सामग्री उत्पादन गरेका यहाँका प्लाष्टिक उद्योगले उत्पादनमा बृद्धि गरेपनि उत्पादीत बस्तुको गुणस्तरमा खासै बृद्धि नगरेको कारकाँदोका उपभोक्ता स्मृति डिसी बताउँछिन् ।

यहाँ गणपति, गरिमा, सुपर, लक्ष्मी, टण्डनजस्ता प्लाष्टिक उद्योग छन् । यी प्लाष्टिक उद्योगले प्लाष्टिकका घरायसी प्रयोग हुने सामग्रीदेखि बिजुलीको काममा प्रयोग हुने सामग्री पनि उत्पादन गर्दै आएका छन् ।

तर, नेपालगन्जमा यस्ता बस्तु मासिक, बार्षिक कति खपत हुन्छन र यीनको टिकाउ म्यादका बारे कसैले एकिन भन्न सक्दैनन् । यहाँ उत्पादित प्लाष्टिक पश्चिम नेपालका बिभिन्न जिल्लामा बिक्री बितरण हुने गरेको उद्योगीहरू बताउँछन् । यहाँ यस्ता उद्योगमा करोडौको लगानी छ ।

धेरैले रोजगारी पाएका छन् । प्लाष्टिकको उत्पादकत्व क्षमता मात्र नभई गुणस्तरमा उद्योगले ध्यान दिन आबश्यक देखिएको व्यवसायीहरू नै बताउँछन् । नेपालगन्जका प्लाष्टिक उद्योगलाई भारतीय प्लाष्टिकको चुनौती रहेको उनीहरूको भनाई छ ।

कमसलखालको कच्चा पदार्थबाट बनेका प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्यलाई असर पार्ने चिकित्सकहरू बताउँछन् । गुणस्तरिय प्लाष्टिक उत्पादनमा उद्योगीले चासो देखाएको अवस्थामा यस्ता उद्योगको प्रभावकारी अनुगमन समेत नियमनकारी निकायले गर्न सकेको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १६:३८