सूचनाको शक्ति - The Power Of Information

        

अख्तियारका आयुक्तको घुस रेट ‘एक हजार !’

सन्त गाहा मगर । काठमाडौं । घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन एउटा पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न उनले राजीनामा दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महाअभियोग लगाउने तयारी गरिसकेको थियो । तर, महाअभियोग नलाग्दै उनले राजीनामाको बाटो रोजे । तर, भ्रष्टाचार जस्तो जघन्य विषयमा महाअभियोग वा राजिनामालाई भ्रष्टाचारी उम्कने बाटो बन्न दिन नहुने जानकारहरू बताउँछन् । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका पूर्वअध्यक्ष भरत थापा भन्छन्, ‘राजीनामा वा महाअभियोग लाग्दैमा कुनै पनि व्यक्तिले गरेको अपराधमा माफी दिन मिल्दैन ।’

संवैधानिक व्यवस्थाअनुसार पनि थप छानविन बाध्यात्मक हुने थापा बताउँछन् । पदबाट हटिसकेपछि पनि विवादित व्यक्तिको विषयमा सार्वजनिक उजुरी आह्वान गर्नुपर्नेमा उनको जोड छ । एउटै शैक्षिक संस्थासँग जोडिएको भ्रष्टाचार मिलाउन घुस लिएर राजीनामा दिन बाध्य भएका पाठकसँग जोडिएको यो नै पहिलो विवादित घटना भने होइन । ०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुल्लेआम घुस लिने गरेको उनका सहकर्मीहरू नै बताउँछन् ।

दुई वर्षअघि पक्राउ गर्नुपर्ने व्यक्तिसँग अदुअआमा कार्यरत एक प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पाठकले उल्टै ५ लाख रुपैयाँ घुस लिन निर्देशन दिएका थिए । यो कुरा ती डीएसपीले अदुअआका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीसम्म पनि पुर्याए । तर, कार्कीले कारवाही नगरी गुपचुप राखे । अख्तियारका एक पूर्वकर्मचारीका अनुसार पाठकले अनुसन्धान अधिकारीलाई बोलाएर सिधै रकम बार्गेनिङ गर्न लगाउने गर्थे । उनी भन्छन्, ‘यतिसम्म कि उहाँले एकपटक मेरै अगाडि एक हजार रुपैयाँ घुस लिनुभएको थियो ।’

घरमै बोलाएर धम्की

त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थान (आईओएम)का पूर्व सहायक डीन प्रा.डा.विमल सिन्हा आयुक्त पाठकले आफूलाई शान्तिनगरस्थित घरमै बोलाएर थर्काएको बताउँछन् । पाठकले आफूलाई जानकी मेडिकल कलेजको एमबीबीएस सिट संख्या बढाउन दबाव दिएको सिन्हाले अनलाइनखबरलाई जानकारी दिए । ‘खारेज गर्नुपर्ने अवस्थामा पुगिसकेको कलेजको सिट संख्या बढाउन नमानेपछि ‘हम आपको देखेँगे भनेर धम्काउनुभयो’, डा.सिन्हाले भने । आयुक्त पाठकले आफूलाई नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा र आशिष थापाकै अगाडि धम्काएको सिन्हा बताउँछन् ।

अदुअआका तत्कालीन प्रमुख लोकमानसिंह कार्की र पाठक मिलेर काठमाडौं विश्व विद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेका थिए । पाठकले मेरिट लिस्टमा आउन असफल आफ्नी छोरीलाई जबरजस्ती भर्ना गराउनका लागि अख्तियारको दुरुपयोग गरेका थिए । ‘पाठकले मलाई अरु थाहा छैन, छोरीको जसरी पनि भर्ना हुनुपर्छ भन्नुभयो,’ त्यतिबेला आईओएमको सहायक डीन रहेका डा. सिन्हा भन्छन्, ‘त्यतिबेला उहाँ कतै जान एअरपोर्ट पुग्नुभएको रहेछ, त्यहीँबाटै मलाई दबाव दिन फोन गर्नुभएको रहेछ ।’ दुईवटै दवाब नमानेपछि आयुक्त पाठकले आफूलाई तेह्र पन्ने भराउनेदेखि बैंक लकर रोक्का गरेर बदला लिएको सिन्हाको गुनासो छ ।

प्रदेश प्रमुख बन्ने लक्ष्य !

घुसखाने बानीले बदनाम पाठकको स्वभाव भने अति सरल देखिने गरेको अख्तियारका एक कर्मचारी बताउँछन् । ‘जुनसुकै तहका कर्मचारी पाठक सरसँग सहजै कुराकानी गरिरहेका हुन्थे’ उनी भन्छन्, ‘हामीले नसुन्दा पनि हुने गोप्य कुरासमेत उहाँले सहजै हामीलाई भन्नुहुन्थ्यो ।’ एकडरा, महोत्तरी स्थायी घर भएका पाठकले निकटस्थहरूसँग आफूलाई भविश्यको प्रदेश प्रमुखका रुपमा प्रस्तुत गर्दथे । प्रमुख बन्नका लागि उनले दुई नम्बर प्रदेशमा केही तयारी पनि गरेको अदुअआ स्रोत बताउँछ ।

दुई नम्बर प्रदेशमा बाटो, पुल उद्घाटन गर्न जाने गरेका थिए । उद्घाटनका लागि जाँदा पाठकको साथमा गाडीको लस्कर हुन्थ्यो । ‘काठमाडौं वा अन्त कँही नदेखिएको गाडीको लस्कर लगाउने मोह प्रदेश दुई मात्र देखिन्थ्यो,’ स्रोत भन्छ । एउटै टीममा भए पनि पाठकको यस्तो मोह लोकमानसिंह कार्कीलाई भने मन परेको थिएन । कार्कीले पाठकलाई सिधै भन्न नसके पनि कर्मचारीमार्फत यस्तो तामझाममा नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

पाठक–कार्कीबीच प्रेम र घृणाको सम्बन्ध

सर्वोच्च अदालतबाट २४ पुस ०७३ मा अदुअआ प्रमुख हुन अयोग्य ठहर भएका लोकमानसिंह कार्कीले पदमुक्त हुनुअघि नै पाठकलाई ‘गुड बुक’बाट हटाइसकेका थिए । ‘प्रयोग गर्नैपर्ने ठाउँमा बाहेक कार्कीले पाठकलाई बोलाउँदैनथे’, अदुअआका एक कर्मचारी भन्छन्, ‘कार्कीका क्लाइन्टसँग पनि आफैं घुस लिन थालेपछि पाठक गुडबुकबाट हटेका हुन् ।’ २०१४ साल बैशाखमा महोत्तरीमा जन्मेका पाठक शान्तिनगर, काठमाडौंमा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका उनी अख्तियारमा जानुअघिसम्म नजराना लिने सरकारी वकिलका रुपमा परिचित थिए ।

०३९ सालमा शाखा अधिकृतबाट करिअर सुरु गरेका उनी ०४९ सालमा उपन्यायाधिवक्ता बने । ०५४ सालमा सहन्यायाधिवक्तामा बढुवा भए भने ०६६ सालमा नायब महान्यायाधिवक्तामा बढुवा भए । ०७१ सालमा पाठकलाई आयुक्त बनाउन कार्कीले पनि सहयोग गरेका थिए । सरकारी वकिल हुँदा लगाएको गुण तिर्न कार्की उनको पक्षमा उभिएका थिए । ०५४ सालताका १० किलो सुन र १५० किलो चाँदी गायब पारेको काण्डमा पाठकले कार्कीलाई मद्दत गरेका थिए ।

सुन तस्करीको आरोप लागेका बेला कार्की भन्सार प्रमुख र अदुअआका पूर्वसचिव भवगतीकुमार काफ्ले त्रिभुवन विमानस्थलका भन्सार प्रमुख थिए । संयोग कस्तो पर्यो भने कार्की र पाठक दुबै कार्यकाल पूरा नगरी अदुअआबाट बाहिरिएका छन् । महाअभियोग गर्दा गर्ता विभिन्न आरोप लागेका कार्कीमाथि थप छानविन भएको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका पूर्वअध्यक्ष थापा भन्छन्, ‘पदमुक्त भएकै कारण जस्तोसुकै भ्रष्टाचारी पवित्र मान्ने विगतका नियति अब दोहोरिनुहुँदैन ।’

 

 

#अनलाइनखबर

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १७:४८