बाँके । विगतका बर्षहरुमा शीतलहरले आक्रान्त बनाउने बाँके र बर्दियामा यसवर्ष शीतलहरको प्रभाव परेन । एक–दुई दिन हुस्सु लागे पनि दिनभर घाम लागेपछि पुस–माघमा पनि बाँकेबासीले चिसोको सामना गर्नुपरेन । माघ अन्तिम तीन दिन लगातार झरी परेपछि केही चिसो महसुस गरे बाँकेबासीले ।
फागुन लागेसँगै तराईमा गर्मीको अनुभव हुन थालेको छ । फागुन महिनाको सुरुवातमै गर्मीको अनुभव हुन थालेपछि यस बर्ष यहाँको तामक्रम उच्च हुने आँकलन भइरहेको छ । बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेसँगै नेपालगन्जका कपडा व्यवसायीहरुले जाडोका लागि विक्रीमा राखिएका कपडा थन्काउन थालेका छ ।
कपडा व्यवसायीहरुले आफ्ना पसलहरुमा गर्मीका कपडाहरु झुण्डाउन थालेका छन् भने नेपालगन्जका गार्मेन्ट उद्योगलाई भने गर्मीयाममा लगाउने कपडा उत्पादन गर्ने चटारो छ । यतिबेला यहाँका गार्मेन्ट उद्योगका कामदार टिर्सट, हाफपाइन्ट, पाइन्ट लगायतका गर्मीमा लगाउने कपडा बनाउन रातदिन ब्यस्त छन् ।
‘गार्मेन्ट उद्योगलाई गर्मीको कपडा बनाउने चटारो छ,’ कमल गार्मेन्ट उद्योगका सञ्चालक टंकसिंह धामीले भने, ‘अहिले उत्पादन सुरु ग¥यौं भने गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्छ ।’ कमल गार्मेन्ट उद्योगमा कार्यरत कामदारहरु टिर्सट, हाफपाइन्ट, पाइन्ट लगायतका गर्मीमा लगाउने कपडा सिलाउन व्यस्त छन् । नेपालगन्जमा दुई दर्जन बढि गार्मेन्ट उद्योग सञ्चालनमा छन् ।
सीमित उद्योगहरु ठुलो लगानीसहित सञ्चालनमा छन् भने अन्य उद्योग सानो लगानीका छन् । यी उद्योगहरुले कच्चा पदार्थ बाहिरबाट ल्याएर यहाँ कपडा उत्पादन गर्ने गर्छन् । नेपालगन्जमा गार्मेन्ट उद्योगको ठुलो बजार भएकाले यहाँ उत्पादन भएका कपडाहरु ५ नम्बर प्रदेशका पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ ।
न्यू लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कश्मिरा खातुनका अनुसार, यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो । मौसम अनुसारका कपडा उत्पादन हुने गरेको उनले बताइन् । ‘अहिले गर्मीयामको कपडा उत्पादन गर्न सुरु गरिसकेका छौं,’ कश्मिराले भने, ‘हामी अहिले कपडा उत्पादनको काममै व्यस्त छौं ।’
घरेलु उद्योगमा १७८ महिला उद्यमी
बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा महिलाहरुको लगानी बढ्दै छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा १७८ जना महिलाले उत्पादनदेखि सेवामुलक उद्योग सञ्चालन गर्न बिभिन्न फर्महरु दर्ता गरेका छन् । महिलाको नाममा फर्म दर्ता गरेर पुरुषले चलाउने गरिएको भए पनि पछिल्लो समय स्वयं महिला सक्रिय बन्न थालेका छन् ।
घरेलु तथा साना उद्योग क्षेत्रमा महिलाको आर्कषण बढेको व्यवसायीहरुले बताएका छन् । जिल्लामा चालु आर्थिक वर्षका छ महिनामा रु.एक अर्ब २९ लाख ५१ हजार लगानीमा ५५२ उद्योगहरु बाँकेमा भित्रिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख शिक्षक ऋषिराम पोखरेलका अनुसार चालु आर्थिक बर्षमा उद्योग दर्ता बढेको देखिन्छ ।
दर्ता भएका अधिकांस उद्योग सञ्चालन भइरहेको पोखरेलले जानकारी दिए । दर्ता भएका उद्योगमध्ये ५६६ जना पुरुषको छ भने १७८ वटा महिलाका नाममा सञ्चालित छन् । चालु आर्थिक वर्षभित्रै बाँकेमा दर्ता भएका उद्योगबाट १ हजार २२८ जना महिलाले रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जको तथ्यांकले जनाएको छ ।
सत्यपाटी - ।