सूचनाको शक्ति - The Power Of Information

        

गाडी चलाउँदा होसियार ! अब इन्टरनेटले गर्दैछ सवारी जाँच (हेर्नुस् १० तस्वीरमा)

बाँके । तपाई गाडी चलाउँदै हुनुहुन्छ या गाडीको मालिक । अब तपाईको गाडी इन्टरनेटमार्फत चेकजाँज हुनेछ । लामो दुरीका गाडीमा दुई जना चालक भए नभएको, चालकले कति दुरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत चेकजाँच ‘ट्राफिक कम्युनिकेशन एप्स’बाटै हुनेछ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । यो एप्सले तपाईले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो या भएन भन्ने चालकको तस्वीरसहितको सबै कुराको राख्नेछ । यदी तपाईले नियम पालना गर्नुभएको छैन भने एप्सको निर्देशनअनुसार कारबाही भोग्नुपर्ने हुनसक्छ ।

तपाई कारबाहीबाट बच्न तपाईले ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशनअनुसार समयको पालना गर्नुपर्नेछ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको उक्त आज उद्घाटन समेत गरेको छ ।

आगामी दिनमा लामो दूरीका सबै क्षेत्रमा सञ्चालन गर्ने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आज ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीमा कार्यक्रमको आयोजना गरी ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन गरी आजैदेखि सञ्चालनमा ल्याएको छ ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।

रोकायका अनुसार लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न पोष्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुङ्गा, प्रदेश–२ को सर्लाहीको कर्मैया र प्रदेश–५ को बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याइएको छ ।

ट्राफिक प्रहरी प्रमूख रोकायले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई वटा चालक राखिने हुँदा दुर्घटनामा कमी आउनेछ ।’

ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा कोहलपुरको चप्परगौडीमा आयोजित कार्यक्रममा ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर रावतले एप्सले सवारी दुर्घटना न्यूनीकरण हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतवार २०:३८