सूचनाको शक्ति - The Power Of Information

        

कार दुर्घटनामा घाइते प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सामान्य सुधार

बाँके । कार दुर्घटनामा परेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ ।

उनको उपचारमा खटिएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताए । ‘हामीले यहाँ उहाँको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ, थप सुधार आउनासाथ उपचारका लागि अन्यत्र लैजानुपर्दछ,’ उनले भने ।

उनको टाउको, हात, छाती र पेटमा गम्भीर चोट देखिएको छ । डा श्रेष्ठले मुख्य चोट छातीमा लागेकाले पाँच करङ भाँचिएको र पेटमा समेत रगत देखिएको बताए । ओलीलाई अहिले पनि आइसीयु कक्षमा ‘भेन्टिलेटर’मार्फत कृत्रिम श्वासप्रश्वास सञ्चालन गरिएको छ ।

ओलीलाई थप उपचारका लागि गए राति नै भारतको लखनउ लैजान भन्टिलेटरसहितको एम्बुलेन्स मगाए पनि अवस्था गम्भीर भएकाले लैजान नसकिएको उपचारमा खटिएका नेकपाका नेता अब्दुल हुसेन खाँले जानकारी दिए ।

‘हिजो अस्पतालमा ल्याउँदाभन्दा सामान्य सुधार देखिएको छ, तर अवस्था गम्भीर नै छ,’ खाँले भने, ‘चिकित्सकसँग परामर्श गरिरहेका छौँ, केही सुधार आउनासाथ काठमाडौँ वा लखनउ लैजाने तयारी भएको छ ।’

हिजो साँझ करीब साढे पाँच बजे तुलसीपुरबाट वीरगञ्ज जाँदै गरेको ना५ख ५५२९ नंको बस र बुटवलबाट तुलसीपुर जाँदै गरेको बा१८च ६८३६ नंको कार घोराही उपमहानगरपालिका–३ चिसापानी घुम्तीमा ठोक्ँिकदा ओली गम्भीर घाइते भएका थिए ।

बसमा सवार रुकुम मुसिकोट गाउँपालिका–२ निवासी ३६ वर्षीय रमिता शर्माको घटनास्थलमै मृत्यु भएको थियो भने प्रदेशसभा सदस्य ओलीसहित १४ घाइते भएका थिए । ओली आफँैले कार चलाउनुभएको बुझिएको छ । ओली गतवर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १२:२७