सूचनाको शक्ति - The Power Of Information

        

भिडियोमार्फत चिनाउनुस् ‘आफ्नो गाउँ–ठाउँ’

बाँके । पर्यटनसम्बद्ध भिडियो डकुमेन्ट्री निर्माणमा रुची राख्नेहरुका लागि वि विल राइज फाउण्डेसनले अवसर जुराइदिएको छ । फाउण्डेसनले आफ्नो गाउँठाउँको पर्यटकीय संभावनायुक्त विषयवस्तुको माध्यमबाट पर्यटन प्रबद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता गराउने भएको छ ।
प्रतियोगितामा व्यवसायीक डकुमेन्ट्री निर्मार्तासँगै नयाँ व्यक्तिले पनि सहभागि हुन पाउने छन् । आयोजक वि विल राइज फाउण्डेसनले नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुगोस् भन्ने उदेश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठका अनुसार निर्माताहरुले कुनै पनि गाउँको प्राकृतिक, साँस्कृतिक, भेषभुषा, खानपान, कलासम्बन्धी कुनै एक विषयमा भिडियो तयार पार्न सक्ने छन् । अधिकतम ५ मिनेसम्मको भिडियो मोबाइलबाट खिचिएको पनि मान्य हुनेछ । तर भिडियो गुणस्तर एचडी क्वालिटीमा हुनुपर्नेछ ।
देशैभरबाट प्राप्त हुने डकुमेन्ट्रीमध्येबाट निर्णायक समितिले उत्कृष्ठ १० वटा छनौट गरी तीमध्येबाट पनि उत्कृष्ट भिडियो चयन गर्ने पनि श्रेष्ठले जानकारी दिए । निर्णायकहरुबाट चयन भएका उत्कृष्ट भिडियोहरुलाई फाउण्डेसनको युट्यूब च्यानल र फेसबुक पेजमार्फत प्रचारप्रसार गरिनेछ । र, जुन भिडियोमा सर्वाधिक लाइक, कमेन्ट र शेयर हुन्छ त्यो भिडियोलाई पिपुल च्वाइस एवार्ड प्रदान गरिनेछ ।
निर्णायकबाट उत्कृष्ट ठहर गरिएको भिडियो र पब्लिक च्वाइसमा परेको भिडियो निर्माता प्रत्येकले रु.१ लाख पुरस्कार प्राप्त गर्ने छन् भने नेपाल फिल्म एकेडेमीबाट रु.२ लाख बराबरको छात्रवृत्ति पनि पाउने छन् । फस्ट रनरअप हुने भिडियोेलाई ५० हजार, सेकेण्ड रनरअप हुने भिडियोलाई २५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । त्यस्तै सर्वोत्कृष्ट सम्पादन र सर्वोत्कृष्ट स्क्रिप्ट भएको भिडियोले पनि रु.२५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिता जनवरी १ बाट सुरु भइसकेको छ । निर्माताले अप्रिल ३० सम्म आफूले बनाएको डकुमेन्ट्री वि विल राईज फाउण्डेसनलाई बुझाई सक्नुपर्नेछ । फउण्डेशनको टोलीले अहिले नेपालका विभिन्न शहरहरुमा यस विषयमा जानकारी दिइरहेको छ । सोही क्रममा बुधबार नेपालगन्ज आइपुगेको टोलीमा सगरमाथा आरोही एवम् वि विल राइजका गुडविल एम्बासडर पूmर्वा तेन्जीङ शेर्पा, निर्देशक मुकुन्द बोगटी, रोजिता बुद्धाचार्य लगायत पनि सहभागी छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार ०८:१८