जमुना वर्षा शर्मा । चिप्लेढुङ्गा । पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ । जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुन् कलाकार मिलन शेरचन ।
हानानो ओशिआना अर्थात् सुकाइएका झारपातबाट चित्र बनाउने कलाले स्थापित गरेको छ शेरचनलाई । हानानो ओशिआना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उनलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट उनी जापान छिरे । जापान बसाइमा साइतो सान भन्ने साथीसँग उनी एउटा कला प्रदर्शनीमा पुगिन् । त्यहाँको कलाबाट उनी प्रभावित भइन् ।
जापानी कलाकार नोहारा उमीबाट हानानो ओशिआनाका बारेमा सिके । जापान बसाइकै क्रममा पहिलेदेखिकै चिनजान भएका सत्यनारायण शेरचनसँग उनको विवाह भयो । बिहेको केही समयपछि उहाँहरू दुवै नेपाल फर्किए । पाँच वर्ष जापान बसेपछि सन् १९९८ मा नेपाल फर्केसँगै यो कलालाई भित्र्याएर व्यावसायिकतामा प्रवेश गरेका हुन् शेरचन । रहरको कलालाई व्यावसायितकतामा पुर्याउन उनी सफल भएकी छन् ।
सानैदेखि फरक काममा रुचि राख्ने र सिर्जनामा रमाउने बानीले हानानो ओशिआनाको कलामा स्थापित गरेको उनको भनाइ छ । ‘केही न केही नयाँ कर्ममा रमाउने बानी थियो । घर र कोठा सजाउन मकैका भुत्ला हुन् कि, दिदीले स्वेटर बुन्दा फालेका धागाका टुक्रा, जे पाए त्यसलाई कुनै कलामा सजाउन मन लाग्थ्यो । मेरो रगतमै सिर्जनशीलता दौडिरहन्थ्यो । त्यसले सफल बनायो,’ कलामा लगाव र धैर्यता चाहिने उल्लेख गर्दै उनले भनिन् ।
विद्यालय तहमा गृह विज्ञान लिएकाले पनि कलासँग जोडिन अझै सहज भएको उनको भनाइ छ । उनका हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहारियाटोलस्थित दरबारमा सीतारावादक र तवलावादक थिए । बुबा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त थिए । कला र सङ्गीतको पारिवारिक पृष्ठभूमि भएर पनि होला मिलनमा पनि त्यो गुणको प्रभाव भेटियो । उनी चित्रकलामा मात्र नभई साहित्य र सङ्गीतमा पनि उत्तिकै रुचि राख्थिन् ।
विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उनलाई पुरस्कृत गर्यो । त्यसपछि २०४१ सालमा पनि उनले पुरस्कार पाइन् । उनको ऊर्जा झनै बढ्यो । त्यसपछि पोखराका स्थापित कलाकारसँग उनको सङ्गत भयो । कलाकार बुद्धि गुरुङले उनलाई चित्रकलाको बारेमा सिकाए । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो ।
यही हौसलाकै कारण उनले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् । सोचेभन्दा धेरै दर्शक आए । कलाको निकै प्रशंसा भयो । यही प्रेरणाले उनले पोखरा र काठमाडौँमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् । सामूहिक चित्रकलामा भने उनले दर्जनौँपटक सहभागिता जनाएका छन् । रातको समयमा सिर्जना गर्न उत्कृष्ट लाग्छ उनलाई ।
‘कल्पनाका विभिन्न चित्राकृतिलाई उतार्न शान्तिपूर्ण वातावरण चाहिन्छ । सबै सुतिसकेपछि आफ्नो सिर्जनामा तल्लीन हुन मन पराउँछु,’ उनी भन्छिन् । प्रकृतिलाई जीवन्त उतार्न बढी मन पराउनुहुने उनले आफ्ना सिर्जनालाई रु २०० देखि दश हजारसम्ममा बिक्री गरेका छन् । शेरचनले कास्कीका विभिन्न गाउँमा कला कार्यशाला गोष्ठीको संयोजक भएर कार्यक्रमसमेत गरेकी छन् । हानानो ओशिआना भनेको सुकाइएको झारपातको उचित समिश्रण गरी जीवन्त राख्नु हो ।
यसरी प्रयोग हुने झारपात हाम्रै वरपर पाइन्छ । आफू यताउता डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन् । घर आँगन, करेसीबारी, खेतबारी, भिरपाखा चौरतिर उम्रने झारपातको सदुपयोग गर्न जाने झारपातलाई जीवन्त पार्न सकिन्छ र आर्थिकरूपमा सशक्त बन्न सकिन्छ भन्ने नमूनाकी पात्र हुन् शेरचन । कलाको मर्म बुझ्नेले मात्र चित्र किन्ने गरेको शेरचन बताउँछिन् ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विद्वत्वृत्तिसमेत पाइसकेकी शेरचन दर्जन बढी सङ्घ संस्थाबाट सम्मानित भइसकेकी छन् । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उनी समावेश भएकी छन् । केही न केही गरिरहन मन पराउने शेरचनले कला क्षेत्रभन्दा बाहिर पनि निकै उदाहरणीय काम गरेकी छन् ।सामाजिक सेवामा समेत उत्तिकै सक्रिय शेरचनले ‘सुन्दर पोखराका कर्मठ नारी भाग १ र २’ को प्रकाशन गरेर विभिन्न क्षेत्रका महिलालाई समाजमा चिनाउने कामसमेत गर्दै आएकी छन् । रासस
।