सूचनाको शक्ति - The Power Of Information

        

घरदैलोमै सेवाकालीन तालीम लिन पाउँदा कर्मचारी खुशी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीको ३० कार्यदिने सेवाकालीन तालीम बिहीबारबाट शुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रतिष्ठान प्रशिक्षण काठमाडौँद्वारा आयोजित ‘कार्यालय व्यवस्थापन तथा सचिवालय सीप’ विषयक ३० कार्यदिने तालीममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले तालीमले कर्मचारीको वृत्ति विकासमा सघाउ पुर्याउने बताए ।
‘अनुभव, ज्ञान र सीपका लागि हरेक व्यक्तिलाई तालीम आवश्यक छ,’ उनले भने, ‘व्यक्तिको दक्षता र क्षमता अभिवृद्धिले मात्र मुलुकको विकासमा सहयोग पुग्छ ।’ उनले कर्मचारीका लागि सञ्चालित ३० कार्य्दिने सेवाकालीन तालीमले कर्णाली प्रदेशले लिएको दीर्घकालीन सोच र लक्ष्य हासिलमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कर्मचारी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक शैलेन्द्र गिरीले गत वर्षदेखि सातवटै प्रदेशमा कर्मचारीको सेवाकालीन तालीम शुरु गरिएको जानकारी दिए ।
‘घरदैलोमा सेवाकालीन तालीम लिन पाउँदा राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारी खुशी छन्,’ कार्यकारी निर्देशक गिरीले भने, ‘दैलोमै अवसर उपलब्ध गराउँदा यहाँका कर्मचारीको यो तालीमबाट रु एक करोड ५० लाख खर्च बचेको छ ।’ उनका अनुसार प्रतिष्ठानले अबदेखि सबै कर्मचारीलाई सेवाकालीन तालीम दिनेछ । पहिलो पटक सुर्खेतमा सञ्चालित सो तालीममा कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १०० कर्मचारी सहभागी रहेको तालीम कार्यक्रम संयोजक लिलु गिरीले जानकारी दिए । विगतमा लाखौँ खर्च गरेर सेवाकालीन तालीम लिने बाध्यता खेपिरहेका कर्मचारीले घरदैलोमै अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ११:५४