नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको ‘टुर द ठाकुरद्वारा२०७५’ शुभारम्भका क्रममा विश्व साइकल यात्री पुस्कर शाहलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा, उपमेयर उमा थापा मगरलगायत ।
विजय मल्ल । बाँके । पश्चिम नेपालमै पहिलो पटक सद्भाव डटकमको टाइटल स्पोन्सरमा नेपालगन्ज साइक्लिङ क्लबले आजदेखि ‘सद्भाव डटकम टूर दी ठाकुरद्धारा’ आयोजना गरेको छ । वातावरणमैत्री र मानव स्वास्थ्यका हिसाबले साइक्लिङ धेरै आवश्यक छ । साइक्लिङबाट पर्यटन प्रर्वद्धन गर्न सकिन्छ, साइकल सबैका लागि आवश्यक छ भन्ने सन्देश दिन साइकल यात्राको आयोजना गरिएको हो । उक्त कार्यक्रममा सहभागी हुन नेपालगन्ज आइपुगेका साइक्लिङ्गका एक्सर्पटका विगत र वर्तमान फरक छन् । जो साइक्लिङ्गमा केही गर्न खोज्नेका लागि प्रेरणाका स्रोत बन्न सक्छन् ।
तेजप्रसाद पराजुली, २१ वर्ष, भोजपुर
भर्खरैमात्र देशका ७७ जिल्ला साइकलबाट यात्रा सकेर पहिलोपटक नेपालगन्ज आएका पराजुली पश्चिम नेपालमै पहिलोपटक आयोजित सद्भाव डटकम यात्रामा सहभागि हुँदैछन् । ‘भोजपुरको खुकुरी जोगाऔं’ भन्ने नारासहित पहिलोपटक २०७५ वैशाख ९ गते साइकल यात्राक्रममा पराजुलीले पाँचदिन लगाएर पश्चिम नेपालको दार्चुला पुगे । बच्चाबाटै साइकल चलाउन औधी रुचीराख्ने पराजुलीलाई सुरुवातमा कसैले साथ र सहयोग गरेनन् ।
पूर्वको मेचीबाट लुम्बिनीसम्मको साईकल यात्रा गर्दा ४ दिनमा १२ गोटा गहुँको रोटीका भरमा यात्रा तय गरेको तितो अनुभव सुनाउँछन् । साईकल विनाको जिवन असम्भव हुने उनको बुझाई छ । भागदौड र अस्वस्थ दिनचर्यामा जुनसुकै साइकल चलाउनुपर्छ भन्ने मान्यतामा रहेका पराजुली नेपालगन्ज पहिलोपटक आउँदा साईकलबाटै पर्यापर्यटनको प्रर्बद्धनमा उल्लेख्य भूमिका खेल्ने बताउछन् ।
यामलाल रसाईली, ४० वर्ष, कैलाली
साईकल यात्रामा आफ्नो २६ वर्ष ब्यतित गरेका रसाईली शारीरिकरुपमा विकलाङ्ग छन् । चार वर्षको हुदाँ लडेर उनको खुट्टा भाचिएको थियो । गाँउले परम्परागत उपचार गर्दा उनले खुट्टा गुमाउनु प¥यो । खुट्टा नभएकै कारण उनलाई आवगमनमा समस्या हुन्थ्यो । उनलाई चिन्नेले विचराको संज्ञा दिन्थे । एकदिन उनी कामविशेषले घरजानेक्रममा सार्वजनिक यातायतमा चढ्न खोजे तर बसका कर्मचारीले अपाङ्ग भएकै कारण बसमा चढ्न दिएनन् उल्टै बसको ढोकाबाट ढकेलिदिए ।
त्यो दिनको तितो अमानवीय ब्यवहारका कारण उनको मन मष्तिष्कमा चोट पुग्यो र त्यही दिनबाटै उनले साइकल चढ्ने अठोट गरे । १९ वर्ष हुँदा उनले भोगेको त्यो पाठबाट उनीमा आत्मबल बढ्यो र उनी अहिले देशकै पारा साइक्लिङ्गका अनुभवी यात्री भए । २०५९ सालमा ‘अपाङ्गको चाहान दिगो शान्तिको कामना’ भन्ने नारासहित देश यात्रामा हिडँे । २ महिना १८ दिनमा देशका ३१ वटा जिल्ला घुमेर किर्तीमान कायम गरे । अपाङ्ग भएकै कारण हेला गर्नेहरुले मेरो सफलताबाट प्रभावित भए । त्यसपछि उनी नेपाल तथा भारतका थुप्रै साइक्लिङ्गमा सहभागि हुन थाले । सन् २०१७ मा भारतको अरुणाञ्चलमा एमटिभी पारा साइक्लिङ्गमा सहभागि भएका उनले ६ दिनमा ७३० किमीको दूरी पुरा गरे ।
प्रोत्साहन स्वरुप उनलाई ५० हजार भारतीय रुपैयाँ आयोजकले दियो । जहाँ नेपालसहित ११ देशका साइक्लिष्टको सहभागिता रहेको थियो । यस्तै उनले कोरा–२०१७ काठमाण्डौ, काठमाडौंदेखि ‘टूर दी लुम्बिनी’ ४७५ किमी, २०१७ मै पोखरा सहर परिक्रमा, सन् २०१८ जनवरी २६ मा भारतको दिल्लीमा आयोजित साइक्लिङ्ग, २०७५ मा हेटौंडाबाट फाफरबारी सम्मको १२५ किमि दूरी सफलताका साथ पुरा गरे । एउटा खुट्टा भएका यामलाल २०७५ जेष्ठ ४ गते लम्की देखि रारा पुगे । १२ दिनको कठिन साईकल यात्राले उनको उचाँई झन बढायो । उनलाई सुरुवातमा परिवार, साथीभाईले साथ दिएनन तरपनि उनी अघिबढिरहे । आफ्नो यो सफलताको पछाडी श्रीमती र आमालाई श्रेय दिन्छन् । पहिलोपटक ठाकुद्धारा साइक्लिङ्गमा जान लागेका यामलाल उत्साहित छन् ।
भरतविक्रम शाह, ३९ वर्ष, कैलाली
झट्ट हेर्दा उनको उनलाई ३९ वर्षको कसैले पत्याउन सक्दैनन् । भरत साइकलका सौखिन भने होइनन् तर उनको जीवनमा घटेको दुःखदायी घटनाबाट प्रेरणा भने पाए । बैदेशिक रोजगारीका शिलसिलामा कतारबाट करीब ८ वर्षपछि स्वदेश फर्केका शाह केही महिनामा पारालाइसिसको सिकार भए । चारवटै हातखुट्टा नचल्ने, जिउँदो लाससरी भएका शाह डेढ वर्षको लामो उपचारपछि नयाँ जीवन पाएका शाहले साइकल चलाउन थालेका हुन् । उपचार गराउने क्रममा उनले ४० देखि ५० लाख गुमाए ।
भारतस्थित दिल्लीको एपोलो र एम्स अनि काठमाण्डौं डिस्कोसमा उपचार गराउदासम्म उनको विरामी पत्ता लागेन, सवै उपाय अपनाएर हार खाएका शाह घरमै मृत्यु पर्खेर बसिरहेका बेला धामीझाँक्रीको उपचारमा पुगे । दुईमहिनामै स्वास्थ्यमा सुधार आयो पछि मैले नयाँ जिवन पाए उनले आफ्नो विगतलाई सुनाए । उक्त कठिन परिस्थितीमा श्रीमती सुमन पाल शाहको योगदान, साथ र सहयोगले नयाँ जिवन पाएको उनले सम्झे । साढे चारवर्ष पहिले शारिरीक ब्यायमका लागि साइकल चलाउन थालेका शाहले नियमित साइकल चलाउदा उनीमा झन् स्फूर्ती बढ्यो ।
लामो साइकल यात्रा तय गर्न थाले । उनले कोरा सन् २०१७, काठमाण्डौंमा सहभागि भए जहाँ ७५ किमीको दूरी तय गरे । धनगढीबाट खप्तडसम्मको साइकल यात्रा (विवेक शर्मा, खगेन्द्र सिंह धामी) ४ दिनमा पुरा गरे जो देशमै पहिलो साईकल यात्रा थियो खप्तडसम्मको । २०७५ सालमा प्रथम नेपालगन्ज मेयर साइकल कपमा मोटिभेटरका रुपमा आएका शाह दोस्रोपटक नेपालगन्ज आए । सुदूरपश्चिमाञ्चललाई साईकलबाट चिनाउने अभियानमा लागेका शाहले २०७५ मै चार दिन लगाएर डोटीको बडीकेदारसम्म एकल साइकल यात्रा तय गरे ।
२०७५ मै कञ्चनपुरको पुर्नवासबाट डडेल्धुराको आलितारसम्मको साइकल यात्रा साथीद्वय तिर्थराज अवस्थी र यूधिर गुरुङ्गसगं पुरा गरे जो पहिलो साइकल यात्रा हो । साईक्लिङ्गले आफ्नो जिवनमा नयाँ उमंग थपेकोले साईक्लिङ्ग लाग्न उनी सवैलाई प्रोत्साहन गर्छन् । स्वास्थ्यविनाको जिवन केही नहुनेहुदाँ साइक्लिङ्गले मृत्युबाट पनि बचाउन सक्छ भन्ने उनको बुझाईछ । साइक्लिङ्गबाटै सुदूरपश्चिमलाई विश्वसामु चिनाउने अभियानमा आफू लागिपरेको शाह बताउँछन् ।
युवक लामा, १९ वर्ष, ललितपुर
साइकल यात्रामा सहभागि युवक सवैभन्दा सानो उमेरका छन् । बस दुर्घटनामा आफ्नो खुट्टा गुमाएका युवक मनमस्तिष्कबाट आँटिलाछन् । सानै उमेरदेखि साईकल चलाउन औधी रुची राख्ने लामा पछिल्लो तीन वर्षदेखि साईक्लिङ्गमा ब्यस्तछन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण साइकल किन्न नसकेका लामा साथीभाईको साइकल चालउथे । धादिङ्ग स्थायी घर भएका लामा दुर्घटनापूर्व साईकल अक्कलझुक्ल चलाउनेगर्थे । अध्ययनका सिलसिलामा काठमाण्डौं आएका उनी विद्यालयकै बसमा पढ्न जान्थे ।
माथिल्लो कक्षापुगेपछि उनी सार्वजनिक बस प्रयोग गर्न थाले । सार्वजनिक बसबाट यात्रा गर्दा सधै विद्यालय र घर ढिलो पुग्ने गर्थे । कक्षा ९मा अध्ययन गर्दा सार्वजनिक बसको यात्रा गर्नेक्रममा बस नरोक्ने, भाडा दिदैन नचढाउने भन्दै बस कर्मचारिले अपहेलित गर्थे । त्यही क्रममा एकदिन उनले अपाङ्ग साइकलयात्री यामलाल रसाईलीलाई भेटे । उनीबाट प्रभावित भएका लामा सधै शनिबार साइकल सिक्नेमा अभ्यस्त हुन्थे । २०७४ सालमा काठमाण्डौंमा भएको प्यारा साइक्लिङ्गमा उनी प्रथम भए । तीन हजार नगदसहित प्रमाणपत्र र मेडेल पाएका लामालाई एक एनजिओले साइकल प्रदान गरे ।
त्यही दिनदेखि उनको साइकल यात्रा सुरु भयो । उनले हेटौडा कोरा २०१८ मा ५५ किमीको दूरी, २०१८ मै हेटौंडामा भएको राइड टू दामनमा ७५ किमी तथा हेटौंडामा २०१८ मा भएको टूर दी फाफरबारीको १२५ किमीको यात्रामा सहभागि भए । उनी हालै काठमाण्डौंमा सम्पन्न देशकै पहिलो एकखुट्टा भएका अपांगहरुको फुटवल (एम्पुटी फुटबल)मा सहभागि भए । अपाङ्ग जोकोही हुनसक्छ तर आफुमा भएको क्षमता प्रस्फुटन गर्न कोही पनि पछि हुनुहुदैन, अघि बढ्नुपर्छ उनी आफूजस्तै थुप्रै युवालाई प्रोत्साहन गर्छन् । ११ कक्षामा अध्ययनरत उनी विकालङ्गले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने उदाहरणका पात्र हुन् ।
विजय मल्ल - ।