बाँके । चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालगन्ज नाका हुँदै ३७ करोड बढि मुल्यको जडिबुटी भारत निकासी भएको छ । नेपालगन्ज जडिबुटी निकासी हुने प्रमुख नाका मानिन्छ । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म रु.३७ करोड २३ लाख मुल्यको ६ लाख ८२ हजार ५१० किलोग्राम जडिबुटी निर्यात भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार यहाँबाट निकासी भएको जडिबुटी भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ । जडिबुटी निकासीको प्रमुख नाका भए पनि प्रत्येक वर्ष निकासी बढ्नुको साटो घट्दो अवस्थामा छ । नेपाली जडिबुटीप्रति भारतको कडा नीतिका कारण हरेक वर्ष जडिबुटी निकासी घट्दै गएको जडिबुटी व्यवसायीहरुको भनाई छ ।
कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएको जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । नेपाल जडिबुटी व्यवसायी संघको पछिल्लो तीन वर्षको तथ्यांक अनुसार जडिबुटी निर्यात निकै खस्किएको छ । एकदशक अघिसम्म वार्षिक ७० लाख किलोग्राम जडिबुटी भारत निकासी हुने गरेकोमा हाल न्यूनमात्र निर्यात हुने गरेको संघको तथ्यांक छ ।
आर्थिक वर्ष २०७२/०७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २१५ किलोग्राम ४५ प्रकारको जडिबुटी निकासी भएको थियो । तर, आर्थिक वर्ष २०७३/०७४ मा घटेर ४० लाख ५० हजार ६७४ किलोग्राम जडिबुटी निर्यात भयो । आर्थिक वर्ष २०७४/०७५ मा २७ लाख ५४ हजार २०० किलोग्राम जडिबुटी निकासी भएको भन्सारले बताएको छ ।
जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिएको संघका कार्यालय प्रमुख पुष्कर खरेलले बताए । उनका अनुसार टिम्मुर, रिठा र काउलो सबैभन्दा बढि निकासी भएको छ । औषधि, साबुन, स्याम्मुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई जर्मन, बंगलादेशजस्ता तेश्रो मुलुकमा पनि निर्यात भइरहेको खरेलले बताए ।
नेपाल जडिबुटी ब्यवसायी संघका अध्यक्ष मोहमद याकुब अन्सारीले जडिबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागु भएपछि व्यवसायीहरु मारमा परेको बताए । ‘ट्रान्जिट परमिट’को व्यवस्थाले अहिले जडिबुटी निर्यातमा समस्या भएको देखिएको छ । सरकारले जडिबुटी निर्यातमा भइरहेको समस्या समाधानमा पहल नगरेको उनको गुनासो छ ।
उनले भने, ‘रूपैडिहा नाकामा २० वर्षदेखि ट्रान्जिट पर्मिटको समस्या भोगिरहेका छौं । समाधानका लागि सरकारले पहल गर्न सकिरहेको छैन ।’ यहाँबाट सबैभन्दा बढी रिठा, तेजपात, काउलोको बोक्रा, चिराइतो, दालचिनी, कुरिलो, पखानवेद, अमला, चुत्रो बोक्रा, टिमुरलगायतको जडिबुटी भारत निर्यात हुने गरेको बताइएको छ । यस वर्षमा भने भर्खरैमात्र खरिद कार्य सुरु भएको छ ।
जडिबुटी खेती प्रवद्र्धन
जडिबुटी खेती प्रवद्र्धन गर्न जीआइजेटको सहयोगमा पश्चिम नेपालको ६ वटा जिल्लामा विभिन्न सहयोग गरेर व्यवसायिक जडिबुटीको खेती गरिएको छ । जडिबुटी व्यवसायी संघको समन्वयमा सुर्खेत दाङ र प्युठानमा तेजपात, टिमुर र च्युरी खेती थालिएको छ भने बाँके, कैलाली र कन्चनपुरमा मेन्था, कुरिलो र केमोमाइल खेती गरिएको छ ।
यीबाहेक अन्य जिल्लाबाट पनि जडिबुटी संकलन हुन्छ । टिमुर, रिट्ठा, काउलो बोक्रा, चिराइतो, सत्तावर (कुरिलो), दालचिनी, तेजपत्ता, पखानवेद, सुठो, क्यामोमाइल, मेन्थालगायत ४० प्रकारका जडिबुटी नेपालबाट निर्यात हुँदै आएका छन् । जसमा भारतमा मात्रै झन्डै ९० प्रतिशत जडिबुटी खपत हुन्छ । त्यस्तै चिन, जर्मनी, पाकिस्तान, बंगलादेशलगायत देशमा पनि निकासी हुने गरेको छ ।
सत्यपाटी - ।