सूचनाको शक्ति - The Power Of Information

        

किसानलाई सहुलियत दिने बाम उम्मेदवारको प्रतिवद्धता


बाँके । बाँकेको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका उम्मेदवारहरुले किसानका लागि सिचाईको सुविधा र मल बीउमा सरकारी अनुदान हुनुपर्नेमा आफुहरुको जोड रहने बताएका छन् । खजुरा गाउँपालिकाको सीतापुर, जानकी गाउँपालिकाको बेलभार र साईगाउँ तथा बैजनाथ गाउँपालिकाको परसुरामपुरमा आइतबार भएको कार्यक्रममा बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले निर्वाचनपछि बन्ने बाम गठबन्धनको सरकारले किसानका समस्या समाधान गर्ने बताए ।
कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार रोकायले किसानका समस्या समाधानका लागि बामपन्थिहरुको बहुमतको सरकार आवश्यक भएको बताए । उनले भने, ‘स्थिर सरकारको अभावमा अहिलेसम्म बामपन्थीहरु सरकारमा गएपछि सोचे जस्तो काम गर्न सकेका छैनन्, यसपटक मौका दिनुहोस् ।’ प्रदेशसभा २ का उम्मेदवार गौतमले सीतापुर क्षेत्रमा देखाउनका लागि मात्रै बोरिङ भएको भन्दै आफुले सोलारमार्फत बोरिङ संचालनका लागि पहल गर्ने बताए ।
यसैगरी बिउबिजन र मलखादमा सरकारी अनुदानको पक्षमा आफुहरु रहेको भन्दै उनले सुकुम्बासी समस्या समाधान आफनो प्राथमिकताभित्र रहेको बताए । गरिब विपन्न समुदायलाई निशुल्क उपचारको ब्यवस्थासँगै औद्योगिकीकरण र बेरोजगारी समस्या हल गर्ने र बस्तीमा उच्च शिक्षालयसँगै कालेपत्रे सडक पु¥याउने योजना रहेको उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ का संयोजक दलबहादुर सुनारले बाम गठबन्धनको अगुवाईमा सुरु भएको विकास निर्माण कार्यले आगामी दिनमा थप सक्रियता पाउने बताए ।
उनले सडक कालोपत्रे, सिचाई सुविधा, किसानलाई,सहुलियतका लागि बाम गठबन्धनलाई भोट दिन अपिल गरे । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, धनीराम वली, यामबहादुर महतारा, कृष्ण राना, शालिकराम खडका, पदम धिताल, रक्षाराम बर्मा,सतिश निरौला, भिम वली, किशोर थापा लगायतले मन्तव्य राख्दै बाम गठबन्धनलाई जिताउन अपिल गरे ।
यसैगरी बैजनाथपुरको परसुरामपुरमा भएको कार्यक्रममा बाम गठबन्धनका उम्मेदवार आईपी खरेलले आफनो क्षेत्रमा सडक कालोपत्रे, पुल निर्माण, किसानका लागि सिचाई र मल बिउमा अनुदान आफनो र गठबन्धनको प्रमुख एजेण्डा भएको बताए । खरेलले आइतबार बैजनाथको एचगाउँ, बनियाभार, गाभर र बाजुरेलीटेलमा समेत भेटघाट गरिएको बताए ।

प्रकाशित मिति : १० मंसिर २०७४, आइतवार २३:५४