शम्भु दंगाल
काठमाडौं, २८ भदौं । नेपालमा मात्र पाइने र संरक्षणको सूचिमा रहेको घडियाल गोही हरेक वर्ष ७० प्रतिशतको हाराहारीमा भारत पुग्ने गरेको छ । गोहीको मुख्य आहारको रुपमा रहेको माछा जाडो याममा दक्षिणतिर जाँदा गोही पनि सँगै जाने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेद बहादुर खड्काले जानकारी दिए । भारतका नदीमा पुगेपछि फर्कने क्रममा भारतले बनाएका बाँध पार गर्न नसकेका घडियाल उतैको नदीलाई आश्रणस्थल बनाएर बस्ने गरेका खड्काले बताए । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रबाट हरेक बर्ष राप्ती र नारायणी नदीमा छोड्ने गरेका १ सयको हाराहारीका गोही मध्ये ७० प्रतिशत भारतका नदीमा पुग्ने गरेका हुन् । घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज कसरामा २०३५ सालमा घडियाल गोही प्रजनन् केन्द्र स्थापना भएपछि नारायणी र राप्तीमा हजारौं घडियाल छोडिएका छन् । तर यसरी छोडिएका घडियाल मध्ये ३० प्रतिशत मात्र नेपालमा रहने गरेका छन् ।
घडियाल गोहीको मुख्य खाना माछा हो । उनीहरु माछा जता जान्छन् उतै आहाराको खोजीमा जाने गर्दछन् । हिँउद अर्थात् जाडो याममा माछाहरु नदीको बहावतिर अर्थात भारततिर जाने गर्दछन् । सोही क्रममा माछाको पछि पछि लागेर गोहीहरु भारतीय भूमिमा पुग्छन् । तर भारतले बाँधेको बाँध कारण धेरै गोहीहरु हिँउदमा उनीहरु फेरी फर्केर आँउन सक्दैनन् । ‘हिमाली भेगमा बस्ने मान्छे जाडोमा पहाड वा तराई झर्ने र गर्मी लागेपछि बासस्थान फर्कने गरेजस्तै माछाको पनि त्यस्तै प्रक्रिया हुन्छ । राईहरुको उभौली र उधौली जस्तै नदीका माछाको पनि जाडो याममा एकठाँउमा र गर्मी याममा चिसो ठाँउमा गएर बस्ने प्रद्धती हुन्छ, सोही कारण माछा गएको ठाँउतिर पनि गोही जाने गर्दछन्,’ सहायक संरक्षण अधिकृत खड्काले भने । खासगरी भारतले बाँधेको बाँधका कारण भारतको भूमिबाट घडियाल गोही नेपाल तर्फ फर्कन नसक्ने गरेको उनको भनाई छ ।
प्राकृतिक बासस्थानमा घडियालको गोहीको बालमृत्युदर उच्च हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत खड्काका अनुसार नदीमा घडियाको बालमृत्युदर ९९ प्रतिशतसम्म हुने गरेको छ । यसकारण पनि गोही संरक्षणका लागि ह्याचारी बनाएर गोही संरक्षण थालिएको उनले बताए । ह्याचरीमा उत्पादनको क्रममा पनि ३० देखि ४६ प्रतिशत सम्म मृत्युदर हुने गरेको छ । निकुञ्जले ह्याचरीमा ७० प्रतिशत सम्म घडियाल बचाउन सकेको उनले बताए । ह्याचरीमा झन्डै ५ बर्ष बिताएपछि र १५ देखि २० किलो तौल भएपछि घडियाललाई नदीमा छोडिने गरिएको छ । ५ बर्षसम्म ह्याचरीमा माछा खुवाएर पाल्ने गरिएको छ । हरेक बर्ष ह्याचरीको मर्मत संभार बाहेक ५० लाख हाराहारीमा खर्च हुने गरेको छ ।
गोही स्याहार सुसारका लागि पोखरीमा पोटास पानी दिने, माछा खुवाउने तथा सरसफाई गर्नका लागि ११ जना कर्मचारी हरेक दिन खटिने गरेका छन् ।ह्याचरीमा सानो ठूलो गरी ३२ ओटा पोखरी रहेको छ । घडियाल गोही प्रजनन्का लागि भालेको अभाव रहेको छ । चितवन कसरास्थित प्रजनन् केन्द्रमा यतिबेला १२ पोथी र १ भाले घडियाल गोही रहेको छ । प्राकृतिक रुपमै यो प्रजातीको गोहीको भालेको संख्या कम हुने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताए । हरेक बर्ष एक पोथी घडियालले ४० देखि ४५ ओटासम्म अण्डा पार्ने गरेको छ । यसरी पारेको सबै अण्डाबाट बच्चा कोरल्न सम्भव हुँदैन् । हरेक बर्ष प्रजनन् केन्द्रले २ सय हाराहारीमा घडियालको बच्चा उत्पादन गर्ने गरेको छ ।
घडियाल गोहीले ८० देखि ९० दिनको बिचमा अण्डा पार्ने गर्दछ । बच्चा कोरल्ने समयमा तापक्रम मिलेन भने गोहीका बच्चा मर्ने जोखिम पनि हुने गरेको छ । गोही प्रजनन् केन्द्रमा भाले गोहीको अभाव रहेको छ । एउटा भालेले ७ पोथीलाई कभर गर्नुपर्ने अवस्था रहेको उनले बताए । यो प्रजातीको गोहीमा भाले भन्दा पोथीको संख्या धेरै हुने भएकोले प्रजनन् केन्द्रमा पनि सोचेजति घडियाल उत्पादनका लागि समस्या भएको उनले बताए ।
नेपालमा मात्र पाइने घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले विभिन्न प्रयासहरु गर्दै आएको छ । वन्यजन्तु संरक्षणका लागि पछिल्लो समय चितवनको कसरामा रहेको बटुकदल गुल्मले पनि सहयोग पु¥याँउदै आएको छ । विश्व सम्पदा सुचिमा समेत समावेश रहेको चितवन राष्ट्रिय निकुञ्जमा बिश्वमै दुर्लभ रहेको एकसिङ्गे गैडाका साथै घडियाल गोही पाइन्छ । तर घडियाल गोही संरक्षणका लागि भने चुनौती रहेको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बेद बहादुर खड्काले बताए ।
।