सूचनाको शक्ति - The Power Of Information

        

प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने गण्डकी प्रदेशको पञ्चवर्षीय योजना

पोखरा । गण्डकी प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना ल्याउँदै छ । चैतभित्रै पञ्चवर्षीय आवधिक योजना ल्याउने लक्ष्यसहित प्रदेश सरकारले तयारी गरिरहेको हो । सरकारले गठन गरेको प्रदेश नीति तथा योजना आयोगले पञ्चवर्षीय आवधिक योजना तयार पार्न १० जिल्लामा सुझाव संकलन सकिसकेको छ ।
आयोगले विकास प्राथमिकताका विभिन्न क्षेत्र छुट्याएर १६८ प्रश्न तयार पारेको फारम बनाएको छ । जिल्ला–जिल्लामा पुगेर विभिन्न समूह विभाजन गरी स्थानीय तहका जनप्रतिनिधि र विषयगत विज्ञता हासिल गरेका व्यक्तिबाट सोही फारममार्फत सुझाव संकलन गरिरहेको छ ।
गण्डकी प्रदेशले पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक समृद्धिको इन्जिनको रुपमा लिएको छ । यी क्षेत्रमा केके गर्न सकिन्छ र त्यसका रणनीति, कार्यनीति र कार्यक्रम कसरी लैजाने भनेर जिल्लाजिल्लामा पुगेर सुझाव संकलन गर्ने काम गरेको आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेलले जानकारी दिए ।
सरकारले यो आर्थिक वर्ष प्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिएको छ । चैतभित्रै आवधिक योजना ल्याउने र कार्यान्वयनमा लैजाने सरकारको योजना छ । गण्डकी प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले वार्षिक आय वृद्धि गर्ने लक्ष्य लिएको छ । यसैगरी प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने र ५ वर्षभित्र गरिवी ७ प्रतिशतमा झार्ने लक्ष्यअनुसारको नीति लिएको छ ।
सरकारको नीतिअनुसार आयोगले कास्कीमा आवधिक योजना निर्माणका लागि सुझाव संकलन गरेको छ । स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्तिलाई डाकेर कास्कीमा सुझाव संकलन गरिएको हो । पाँच समूहमा विभाजन भएर कास्कीका पाँच स्थानीय तह र विभिन्न क्षेत्रका व्यक्तिले आयोगले तयार पारेको १६८ बुँदे फारममा आधारित रहेर प्रस्तुति राखेका थिए ।
गरिबी निवारण, पुँजी निर्माण र लगानी, पर्यटन, उद्योग र औद्योगिक प्रयोजनको स्रोत, सहकारी, खाद्यान्न उत्पादन, ऊर्जा, सडक सञ्जाल लगायतका क्षेत्रमा सहभागीले पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विषयमा सुझाव दिए । हरेक क्षेत्रमा प्रविधिलाई जोडेर दीर्घकालीन योजना बनाउनुपर्ने सहभागीहरुको सुझाव थियो । पालिकाको केन्द्रसम्म जोड्ने सडकलाई पाँच वर्षभित्रै कालोपत्रे गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव उनीहरुको छ ।
प्रदेश सरकारले ल्याएको नीति, आयोगले तयार पारेको फारम र प्रकाशन गरेको प्रदेशको स्थितिपत्रलाई टेकेर सहभागीले सुझाव दिएका थिए । आयोगले मनाङ र मुस्ताङबाहेकका जिल्लामा सुझाव संकलन सकेको छ । हिउँ पर्ने र अत्याधिक चिसोका कारण तत्काल यी जिल्लामा जान नसकिएको आयोग उपाध्यक्ष डा. गिरिधारीको भनाइ थियो ।
‘जिल्लाजिल्लामा स्थानीय तह र विषयगत सरोकारवालासँगै विज्ञहरुबीच पनि छलफल र सुझाव माग्नेछौं,’ उनले भने, ‘प्रत्येक जिल्लाबाट आएका सुझावलाई जम्मा गरेर छान्ने काम भइरहेको छ ।’ माघ २५ र २६ गते प्रदेश समन्वय समितिको बैठक डाकिएको र त्यो बैठकमा राष्ट्रिय योजना आयोग र प्रदेशको योजनाका विषय राखेर सुझाव संकलन गरिने उनले जानकारी दिए ।

केन्द्रभन्दा प्रदेश अघि हिँड्नुपर्छ : मुख्यमन्त्री
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिनै तहको सरकारको लक्ष्य एउटै भएकाले समृद्धि प्राप्तिका लागि पनि एउटै बाटो हिँड्नु पर्ने बताए । प्रदेशले लिएको लक्ष्य र योजनामा सँगै हिँड्न उनले स्थानीय तहलाई आह्वान गरे ।
स्थानीय तह र प्रदेश सरकारले लक्ष्य प्राप्ति नगरीकन, आर्थिक विकासमा नगइकन संघीय सरकारको लक्ष्य प्राप्त हुन नसक्ने उनको भनाइ थियो । ‘स्थानीय तह र प्रदेश सरकारको लक्ष्य संघीय सरकारको भन्दा बढी र अगाडि हुन सकेमात्रै देशको लक्ष्य र योजना पूरा हुन सक्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘त्यसैले नेपालको १४ प्रतिशत गरिबीको दरलाई हामीले प्रदेशमा चाहिँ ७ प्रतिशतमा झार्ने भनेका छौं ।’
देशको लक्ष्य प्राप्तिका लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय तह अघिअघि हिँड्नु पर्ने गुरुङले बताए । अधिकार बाँडफाँडका विषयमा आफूले त्यसै केन्द्र सरकारलाई प्रश्न नउठाएको उनको भनाइ थियो । ‘स्थानीय तह र प्रदेश सरकारलाई अझै बढी अधिकार चाहिन्छ भनेर म त्यसै कराएको होइन । समृद्धिकै लागि हो । जस्तै, स्थानीय तहलाई १ मेगावाट बिजुली उत्पादन गर्न अनुमति दिने भनिएको छ ।
एक होइन कम्तिमा ५ वा १० मेगावाटसम्म स्थानीय तहलाई र प्रदेशलाई २५० मेगावाट दिनुपर्छ भनेको छु । अनि पो लगानी आउँछ, विकास हुन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘मानौं सबै उसकै सम्पति हो झैं गर्छ ।’ स्थानीय तह र प्रदेशले हाइड्रोको बढी अधिकार नदिई छिटै विकास नहुने उनको भनाइ थियो । केन्द्र सरकारसँग ‘बेंशीमा बसेर बोल्दा सुनिँदैन, डाँडामा गएर बोल्यो हावामा उड्छ’ भनेझैं भइरहेको मुख्यमन्त्री गुरुङले बताए ।
तत्काल कहाँ छौं भन्ने जानकारी नभइ लक्ष्य निर्धारण गर्न नसकिने मुख्यमन्त्रीको भनाइ थियो । केन्द्र सरकारकै तथ्यांकअनुसार प्रदेशले स्थितिपत्र प्रकाशन गरी पञ्चवर्षीय योजना बुनिरहेको मुख्यमन्त्री गुरुङले बताए । प्रदेशले लक्ष्य भेटाउन सक्ने थुप्रै आधार रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १४:१९