सूचनाको शक्ति - The Power Of Information

        

मालपोतमा ५१ कर्मचारी, २५० लेखन्दास !

बाँके । मालपोत कार्यालय नेपालगन्जमा कार्यरत लेखापढी व्यवसायीले जग्गा पास तथा धितो पासको शुल्क तोकेका छन् । तर, उक्त शुल्क अहिले कार्यान्वयनमा आउन सकेको छैन । लेखापढी कानून व्यवसायी संघले तयार पारेको मापदण्ड र तोकेको शुल्क कार्यान्वयनमा नआएपछि कार्यालयमा पुगेका सेवाग्राहीको व्यवहारअनुसार शुल्क निर्धारण गर्ने गरिन्छ ।
संघले जग्गा पास र धितोमा दुई हजारदेखि दुई हजार पाँच सयसम्म शुल्क लिने मापदण्ड तयार गरेको संघका उपाध्यक्ष जग्दम्भा पाठक बताउँछन् । उनले भने, ‘यो भन्दाबढी कसैले पनि लिन पाउँदैन् । तर, अहिले उक्त मापदण्ड लागू भैनसकेकोले सेवाग्राही र व्यवसायीबीचको आपसी सहमति र सेवाग्राहीको व्यवहारको आधारमा शुल्क लिने गरिएको छ ।’
उनले मालपोतको सेवा सहज भए पनि लेखापढी कानून व्यवसायी विना सर्वसाधारणले सिधै काम गर्न पनि सक्ने बताए । लेखापढी व्यवसायीले कुनै पनि सेवाग्राहीबाट जर्बरजस्ती शुल्क नलिएको संघका उपाध्यक्ष पाठकले बताउँछन् । उनका अनुसार संघमा दर्ता भएका व्यवसायीको संख्या २०० जति छ । अहिले पनि ५० बढी व्यवसायी संघमा दर्ता भएका छैनन् ।
लेखापढी व्यवयासीको यो संख्या हेर्ने हो भने मालपोत कार्यालय नेपालगन्जमा दरबन्दीका कर्मचारीको तुलनामा तेब्बरबढी लेखापढी व्यवसायी (लेखनदास) कार्यरत छन् । उनले भने, ‘करिब ५० जना जति व्यवसायीहरू संघमा दर्ता भएरै पनि निस्क्रिय बसेका छन् ।’ संघमा आबद्ध भएकामध्ये १५० जति लेखापढी व्यवसायीहरूले अहिले पनि सक्रियरूपमा काम गर्दै आइरहेका छन् । उपाध्यक्ष पाठकका अनुसार लेखापढी गर्नेलाई सबैतिर जान छुट छैन ।
कार्यालयले सबैतिर प्रवेशमा रोक लगाएको छ । मालपोतमा काम गर्ने २५० लेखापढी कानून व्यवसायी छन् । सरकारी कर्मचारीको संख्या भने ५१ मात्र छ । भूमिसुधार तथा मालपोत कार्यालयका मालपोत अधिकृत प्रेम दौत्याल काम गर्दा सेवाग्राहीबाट कर्मचारीले घुस नलिएको दाबी गर्दै आएका छन् । प्रदेश सरकार तथा नेपालगन्ज उपमहानगरपालिकाले चासो नदेखाउँदा मालपोत कार्यालय नेपालगन्जमा अझै सिसि क्यामरा जडान हुन सकेको छैन ।
क्यामरा जडानका लागि स्थानीय तहबाट स्वीकृत र बजेट लिनुपर्ने प्रावधानअनुसार बजेट र स्वीकृत नपाउँदा क्यामरा जडानमा ढिलाई भएको मालपोत अधिकृत प्रेम दौत्यालले बताए । उनकाअनुसार क्यामरा जडानका लागि आबश्यक प्रक्रिया अघि बढाई उपमहानगरपालिका, प्रदेश र मालपोतकै विभागमा पत्राचार गरिसकिएको छ । तर, कार्यालयको पत्रमाथि अहिलेसम्म पनि तीनवटै निकायबाट सुनुवाई हुन सकेको छैन । मालपोतमा कर्मचारी र सेवाग्राहीबीच कमिसनका लागि विचौलियाहरूले पुलको काम गर्दै आएका छन् ।
सेवाग्राहीको भीड हुने कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छैन । सीसी क्यामेरा नहुँदा कर्मचारीहरूलाई कार्यस्थलमै घुस लिन सजिलो भएको छ । मालपोत कार्यालयमा बिचौलियालाई जता जान पनि छुट भएको आरोप लाग्दै आएको छ । मालपोतका रजिस्ट्रेशन, मुद्दा, दाखालगायत फाँटमा काम गर्न आउने सेवाग्राहीलाई बाटोबाटै लेखापढी गर्नेले छेक्ने गरेको सेवाग्राहीको गुनासो छ । बिचौलियाका कारण मालपोतमा घुस नदिई कामै नहुने सेवाग्राही बताउँछन् ।
मालपोत कार्यालय अनलाइन माध्यममा गएका कारण प्राविधिक कारणले बेलाबेला काम गर्न असहज हुने उनले बताए । मालपोत कार्यालयमा प्रमुख दौल्यालका अनुसार मालपोतमा क्यामरा जडानका लागि स्थानीय तह नेपालगन्ज उपमहानगरपालिका र कार्यालयकै विभागमा समेत माग गरी पत्राचार गरिसकेको भएपनि अहिलेसम्म यसका लागि बजेट र स्वीकृति समेत आएको छैन ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १३:४४