सूचनाको शक्ति - The Power Of Information

        

मेहनत र आत्मविश्वासले बनायो प्याराग्लाइडर

जमुना वर्षा शर्मा । चिप्लेढुंगा । पोखरा लेकसाइडकी प्रतिभा भुजेल चरा जस्तै उडेका दृश्य देखेर मुग्ध हुन्थिन् र मनभरि त्यस्तै सपना देख्दै हुर्किइन् । त्यो सपना पूरा गर्न उनले कुनै कसूर बाँकी राखिनन् । निरन्तरको मेहनतले आफूलाई अन्ततः प्याराग्लाइडिङ्ग पाइलटका रुपमा स्थापित गर्न उनी सफल भइन् । यद्यपि, नेपाली समाजमा अझै पनि महिलाको आत्मविश्वास र क्षमतालाई सहजै स्विकार्ने अवस्था बनिसकेको छैन । तर, अवसर मिलेमा जस्तोसुकै चुनौतीको पनि सामना गर्ने सामथ्र्य महिला राख्छन् र सफल पनि हुन्छन् भन्ने एक नमूना बनेकी छिन् भुजेल ।
भुजेलले भनिन्, ‘आकाशमा उडेको सपना देख्थें । त्यही पूरा गर्न मेहनत गरें र सफल पनि हुँदै गए ।’ सफल बन्न हरेक दिन नयाँ सपना देख्नुपर्ने र आफ्नो रुचि र सन्तुष्टि मिल्ने सपनालाई पूरा गर्न मेहनत गर्नुपर्ने उनको धारणा छ । बुबा काली बहादुर भुजेल र आमा देउमाया भुजेलका चार सन्तान मध्येकी जेठी प्रतिभाले सन् २००९ देखि प्याराग्लाइडिङ्ग उडानका लागि तालीम लिएकी हुन् र विसं २०१२ देखि तिनले व्यावसायिक उडान शुरु गरिन् । ब्लु स्काई कम्पनीबाट उडानको प्रशिक्षण लिएकी ३३ वर्षीया भुजेलले सोलो हुँदै टेन्डम उडान गरेकी हुन् ।
भुजेल टेन्डम उडान गर्ने नेपालकै पहिलो व्यावसायिक महिला पाराग्लाइडर पाइलट हुन् । शुरुमा उनको यो रुचिप्रति परिवारको समर्थन रहेन तर, रहर र इच्छाबीच झाङ्गिएको आत्मविश्वासमा परिवारले बाध्य भएर समर्थन गर्नुप¥यो । आज उनको कामप्रति परिवारका सदस्य खुशी छन् । पहिलो उडान गर्दाको अनुभवबारे भुजेल भन्छिन्, ‘पहिलो उडान त रोबोट जस्तै वाकिटकिको सहारामा प्रशिक्षकको निर्देशनमा मात्रै केन्द्रित भयो । मजा लिने अवसर नै मिलेन ।’ त्यसपछिका दिनहरुमा भने आकाशमा रमाउने बानी भएको र साढे चार घण्टासम्म उडेका उनको अनुभव छ । भुजेल एसियाड गेममा सहभागी महिला टोलीको नेतृत्व गरेकी प्यारापाइलट पनि हुन् ।
लेकसाइडकै त्रिसा श्रेष्ठको पनि सपनाको उचाइ निकै माथि छ । परिवारको साथ र प्रेरणाबाट आफ्नो लक्ष्यतर्फ लम्किएकी त्रिसा नेपालमा प्याराग्लाइडिङ्ग भित्र्याउने पाइलट बिरु बम्जनकी बुहारी हुन् । बुबा ज्ञान बहादुर र आमा सीता मायाकी सन्तान त्रिसा प्याराग्लाइडिङ्ग पाइलट श्रीमान् राजेश बम्जनको प्रेरणा र साथले सफल भएको बताउँछिन् । तीस वर्षीया त्रिसा ग्राफिक्स डिजाइनर पनि हुन् । सन् २००७ मा श्रीमान्ले सिक्ने हो भनेर ख्यालख्यालमै भनेको स्मरण गर्दैै उनी भन्छिन्, ‘त्यही शब्दले नै रहरलाई स्थापित गरिदियो ।’ उनले सनराइज प्याराग्लाइडिङ्गबाट १५ दिनको कोर्स गरिन् र ६ वर्ष सोलो तथा ४ वर्ष टेन्डम गरिन् ।
आकाशमा उड्दा बढेको आत्मविश्वासले जीवनलाई सधैं प्रफुल्लित बनाइरहेको उनको अनुभूति छ । त्रिसाले नेपाल ओपन प्याराग्लाइडिङ्ग च्याम्पियनशीपमा पनि पहिलोपल्ट तेस्रो स्थान र दोस्रो पल्ट दोस्रो स्थान हासिल गरेकी छिन् । इण्डोनेशियाको बाटुमा एकुरेशि वल्र्ड कपमा पनि उनी सहभागी भएकी थिइन् । किसु पौडेल पनि पोखरा लेकसाइडकी बासिन्दा हुन् । हरेक दिन आकाशमा उडिरहेका प्याराग्लाइडिङ्ग देख्दा उनमा पनि नजानिँदो किसिमले रुचि बढ्दै गयो । त्यो बेला विदेशी प्यारापाइलट महिलाले निर्धक्कसँग उडेको देख्दा उनको मनमा पनि गरे सकिने रहेछ भन्ने सोच पलायो । उनले भनिन्, ‘विदेशबाट आएर हाम्रो भूगोलमा यति आनन्दले उडिरहेका छन्, हामीले पनि त गर्न सक्छौ नी ।’ त्यही दिनदेखि उनलाई आकाशमा उड्ने रहर बढ्यो ।
सन् २००९ मा उनले प्याराग्लाइडिङ्ग तालीम गरिन् । त्यसको तीन वर्षपछि आफैं प्याराग्लाइडर पाइलट बन्ने सोच बनाइन् । ब्लु स्काइ कम्पनीबाट १५ दिने सैद्धान्तिक र सोलो उडानको व्यावहारिक अभ्यास पूरा गरिन् । व्यवस्थापनमा स्नातक उत्तीर्ण २७ वर्षीया किशु बुबा होमनाथ र माता रुपा पौडेलकी चौथो सन्तान हुन् । जीवनमा खुशीका रङ्गहरु मेहनतले मात्रै भर्न सकिन्छ भन्ने सोच राख्ने पौडेल पर्यटकीय नगरी पोखरामा साहसिक खेलको रुपमा विकास भएको प्याराग्लाइडिङ्गको सम्भावना राम्रो भएको ठान्छिन् । उडानमा पर्यटकले महिला पुरुष पाइलट भनेर नरोज्ने तर, मुस्लिम महिलाले महिला पाइलट बढी खोज्ने गरेको पौडेलको अनुभव छ । उनी भन्छिन्, ‘पर्यटकहरु उडान पछि खु्शीका साथ धन्यवाद दिन्छन् । त्यो बेला बेग्लै अनुभुति हुन्छ ।’
कतिपय क्षेत्रमा महिला र पुरुषबीच पारिश्रमिकमा विभेद रहे पनि यो क्षेत्रमा त्यस्तो भेदभाव नरहेको तर, बढ्दो अस्वस्थ प्रतिस्पर्धाका कारण यो पेशा पहिलेजस्तो आकर्षक नरहेको उनको भनाइ छ । पोखरामा प्रमुख पर्यटकीय आकर्षणका रूपमा साहसिक खेल प्याराग्लाइडिङ्गको विकास भएको दुई दशकभन्दा बढी भइसकेको छ । व्यवस्थापन फितलो भएकाले प्याराग्लाइडिङ पाइलटहरु सन्तुष्ट भने छैनन् । अझ महिला पाइलटहरु जुन उत्साहले यस क्षेत्रमा प्रवेश गर्छन् त्यो अनुसारको वातावरण नभएको उनीहरु बताउँछन् । सिक्ने र रहर पूरा गरेर अर्को पेशा व्यवसायतिर लाग्ने थुप्रै रहेको उनीहरु बताउँछन् । पोखरामा ५० कम्पनीले व्यावसायिक प्याराग्लाइडिङ्ग उडान गर्ने गरेको नेपाल हवाइ खेलकूद संस्थाका महासचिव वसन्त दवाडी बताउँछन् ।
झण्डै ३०० हाराहारीमा पाइलट छन् । त्यसमा दश–पन्ध्र जना मात्रै महिला छन् । व्यावसायिक उडान गर्ने महिला जम्मा पाँच–छ जना छन् । बाँकी सोलो उडान गर्छन् । विदेशी पर्यटकले भने महिला पाइलटसँग बढी सुरक्षित महसुस गर्ने गरेको दवाडी बताउँछन् । सन् २००९ मा महिला पाइलट एउटा उत्साहका साथ यस क्षेत्रमा प्रवेश गरे । त्यो बेला महिलाले पनि प्याराग्लाइडिङ्ग गर्न सक्छन् र भनेर आशङ्का र अविश्वासको नजरले हेर्ने थुप्रै भए पनि आज तिनै महिला हरेक दिन उडान भरिरहेका छन् र व्यावसायिकरुपमा सफल भइरहेका छन् । दवाडी भन्छन्, ‘उनीहरु साहसी हुन् र नेपाली समाजका नमूना महिला हुन् ।’ रासस

प्रकाशित मिति : १३ माघ २०७५, आइतवार १५:१६

सिफारिस