सूचनाको शक्ति - The Power Of Information

        

बाँकेबाट जारी भएका ३३ प्रतिशत नागरिकताको अनुसूची फारम गायब !

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेबाट हालसम्म जारी भएका नागरिकतामध्ये करिब ३३ प्रतिशत नागरिकताको अनुसूची फारम गायब भएको आशंका गरिएको छ । मोलमोलाईका साथ आपसी मिलेमतोमा झुटा विवरण पेश गरी नागरिकता लिने दिने गर्ने ब्यक्तिहरुको गिरोहको संलग्नतामा जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी गरिएको नागरिकताको अनुसूची फायल नै गायव पारिएकोे आशंका छ ।
नक्कली बाबुआमा, नक्कली बिवाह र नक्कली जन्मसिद्ध सिफारिस गरेर नेपाली नागरिकता लिएको भनी बिभिन्न ब्यक्तिहरुले अख्तियार, अदालत र प्रशासनमा उजुरी दिन थालेपछि बाँकेबाट जारी भएको नागरिकताको अनुसूची गायव भएको तथ्य खुलेको हो । आपसी मिलेमतोमा झुटा विवरण तयार पारी नक्कली नागरिकता लिने–दिने गरेको उजुरीका सम्बन्धमा छानबिन गर्ने क्रममा करीब ३३ प्रतिशत नागरिकताको अनुसूची फारम अर्थात् नागरिकता प्राप्त गर्दाको सबै विवरणहरु गायव छन् ।
नक्कली नागरिकता सम्वन्धी उजुरीको वास्तविकता के–कसरी नागरिकता प्राप्त गरेको हो भन्ने विवरण अख्तियारले माग गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेको नागरिकता फाँटले नागरिकता पुरानो भएर, झुत्रियर, च्यातिएर र हराएर विवरण फेला नपरेको भनेर प्रतिउत्तर पठाउने गरेको छ । आपसी मिलेमतोमा नागरिकता किनबेचको पोल खुल्ने भएकाले नागरिकता लिँदाको अनुसूचि फारम राखिएको पोका नै गायब पार्ने गरिएको स्रोतको दाबी छ ।
बाँके रनियापुर ठाउँ ठेगाना राखी कुशल सिंह ठकुरीले मिति २०६७ साल मंसिर २९ गते जिल्ला प्रशासन कार्यालय बाँकेबाट आपसी मिलेमतोमा प्राप्त गरेको नेपाली नागरिकता प्रमाणपत्र नम्बर ६६१०४३/३५५ नागरिकता नक्कली भएको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ । उक्त उजुरीको सम्वन्धमा अख्तियारले जिल्ला प्रशासन कार्यालयलाई के–कसरी नागरिकता दिइएको हो विवरण उपलब्ध गराउन माग गरेकोमा प्रशासनले प्रतिउत्तर नदिएपछि अख्तियारले गृह मन्त्रालयमार्फत उक्त विवरण माग गरेको थियो ।

आपसी मिलेमतोमा झुटा विवरण तयार पारी नक्कली नागरिकता लिने–दिने गरेको उजुरीका सम्बन्धमा छानबिन गर्ने क्रममा करीब ३३ प्रतिशत नागरिकताको अनुसूची फारम अर्थात् नागरिकता प्राप्त गर्दाको सबै विवरणहरु गायव छन् ।

उक्त नागरिकताको विवरण मागका बिषयमा नागरिकता फाँटले अन्य नागरिकताको उजुरीको प्रतिउत्तरमा विवरण फेला नपरेको भनी अख्तियारलाई प्रतिउत्तर पठाएको छ । नक्कली नागरिकता लिएको भनिएका कुशल सिंह ठकुरीले नागरिकता लिएपछि उनकै नागरिकताको बंशजको आधारमा उनका छोरा रामशरण सिंह ठकुरीले त्यसको एक बर्षपछिको मिति राखी २०६८ साल मंसिर २९ गते नै राखेर जिल्ला प्रशासन कार्यालय बाँकेबाट आपसी मिलेमतोमा नेपाली नागरिकता प्रमाणपत्र नम्बर ६६१०४३/५०८ नम्बरको नागरिकता कायम गराएर लिएको देखिन्छ ।
त्यसयता रामशरण सिंह ठकुरीका ५ भाई छोरा र १ जना छोरीले नागरिकता लिएका छन् । जसमा मुल नागरिकता लिएका कुशल सिंह ठकुरीले नागरिकता लिँदा भरेको अनुसूचि फारमसहित फाइल गायव पारिएको छ भने अन्यको फाइलमा बंशजको आधारमा नागरिकता दिइएको र जसमा बाबु रामशरण सिंह ठकुरी उल्लेख गरिएको अनुसूची फारमको विवरणसहित जिल्ला प्रशासनले अख्तियारलाई प्रतिउत्तर पठाएको छ ।
आपसी मिलेमतोमा नेपाली नागरिकता बेच्ने राष्ट्रघाती दलालहरुको जिल्ला प्रशासन बाँकेमा निकै पहिलेदेखि एउटा गिरोह नै सक्रिय रहेको र जसमा नागरिकता फाँटमा काम गर्ने पुराना कार्यालय सहयोगीदेखि अन्य केही अधिकारी रहेको स्रोतको दाबी छ । नेपाल सरकारले नेपाली नागरिकताको तथ्याड कम्प्यूटरमा डाटा इन्ट्री गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय बाँकेले हालसम्म जारी गरेका नागरिकताको अध्यावधिकसहित डाटा इन्ट्री गर्ने क्रममा पहाड घर भारत, बंगलादेश र बर्मा भएका अधिकांश ब्यक्तिहरुले नेपाली नागरिकताको अनुसूची भरेका फारमहरु रहेको फायल नै गायव पारिएको छ ।
जसमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट बंशज र २०६३ सालमा जन्मसिद्धको आधारमा जारी भएका नागरिकताको विवरणसमेत विवरण गायब पारिएको छ । वितरण गरिएका केही नागरिकताको मुख्य फाइलमा समेत आफुखुशी मनलाग्दी निर्णय गरी नागरिकताको विवरण लेखिएको ठाँउमा टिपेक्स लगाएर केरमेट पनि गर्ने गरिएको पाइएको छ । अनुसूचि गायब पारिएका नेपाली नागरिकताहरु बिभिन्न समयमा कार्यरत कर्मचारी तथा उच्च घरानाका व्यक्तिहरुकै दवाब र प्रभावमा परी केही उच्च तथा मध्यम घरनाका नाइके नागरिकता लिएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
केहीसमय अघि बाँकेको राप्तीपारि लक्ष्मणपुर गाविसको ठेगानामा २ जना बंगलादेशी नागरिकले नेपाली नागरिकता लिएको खुलेको थियो । नेपाली पासपोर्टसहित काठमाडौंबाट बिदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनीहरु हाल नेपालगन्ज कारागारमा सजाय भोगिरहेका छन् । तर जिल्ला प्रशासन कार्यालय बाँकेका केही कर्मचारीहरुको प्रत्यक्ष संलग्नतामा १३ लाखमा २ वटा नागरिकता लिएको स्वीकार गरेको र ती दुबै बंगलादेशी नागरिकलाई नागरिकता दिने कर्मचारीहरु अहिले पनि जिल्ला प्रशासन कार्यालय बाँकेमै कार्यरत रहेको र केही अन्यत्रै कार्यरत छन् । जिल्ला प्रसासन कार्यालय बाँकेले केही नक्कली नागरिकताको छानबिनपछि केही नागरिकता जफत र केही रद्द गर्दै आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १९:५२