सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा पाँच करोडको पानी आयात !

काठमाडौं । जलस्रोतमा विश्वकै दोस्रो धनी देश मानिने नेपालमा एक दर्जनभन्दा बढी मुलुकबाट पानी आयात हुने गरेको पाइएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार नेपालमा एक दर्जन मुलुकबाट वार्षिक करोडौं रूपैयाँको पानी आयात हुने गरेको छ ।
नेपालमा चीन, भारत, फिलिपिन्स, फ्रान्स, बेलायत, थाइल्याण्ड लगायतका मुलुकबाट पानी आयात भएको उक्त तथ्याङ्कमा उल्लेख छ । यसका अलावा जापान, मलेसिया, स्विडेन, लिथुनिया, सिंगापुर र नर्वेबाट पनि नेपालमा पानी आयात भएको देखिन्छ । गएको तीन आर्थिक वर्षमा कुल ५ करोड ९ लाख ५८ हजार ७९८ रुपैयाँको पानी आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०१७/०१८ मा नेपालमा कुल १ करोड ८१ लाख ६७ हजार ५७४ रुपैयाँको पानी आयात भएको छ । उक्त आर्थिक वर्षमा कुल ३ लाख ८६ हजार ११४ लिटर पानी आयात भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०१६/०१७ मा १ करोड ३७ लाख ४५ हजार १६९ रूपैयाँको पानी आयात भएको केन्द्रको तथ्याङ्क छ ।
उक्त आर्थिक वर्षमा नेपालमा कुल ३ लाख ४४ हजार ४३९ लिटर पानी आयात भएको छ । आर्थिक वर्ष २०१५/०१६ मा १ करोड ९० लाख ४६ हजार ५५ रूपैयाँ बराबरको ९ लाख ४३ हजार १६७ लिटर पानी आयात भएको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले विभिन्न तारे होटेलहरूमा प्रयोग गरिने पानी मिनरल वाटरको नाममा आयात हुने गरेको बताए ।
त्यस्तै नेपालीहरूले आफ्नै मुलुकमा उत्पादन हुने पानीमाथि विश्वास गर्न छाडेका कारण पनि पानीको आयातमा मद्दत पुगेको उनको भनाइ छ । नेपालमा करोडौं रूपैयाँको पानी आयात भइरहँदा नेपालबाट विभिन्न मुलुकमा पछिल्लो तीन वर्षमा १७ लाख ४८ हजार २१८ रूपैयाँ बराबरको पानी निर्यात भएको छ ।
आर्थिक वर्ष २०१७/०१८ मा नेपालबाट कुल १२ लाख ५७ हजार २९९ रूपैयाँ बराबरको पानी निर्यात् भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०१६/०१७ मा नेपालबाट १ लाख ३७ हजार १०३ रूपैयाँको र आर्थिक वर्ष २०१५/०१६ मा ३३ हजार ३०८ रूपैयाँ बराबरको पानी नेपालबाट निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका निर्देशक रविन्द्र दुवाडीले आयात तथा निर्यातको मुख्य वस्तुको सूचीमा पानी नपर्ने भएकाले पछिल्लो आर्थिक वर्ष २०१८/०१९ को तथ्याङ्क केन्द्रमा आइनपुगेको बताए । मुख्य रूपमा आयात तथा निर्यात हुने वस्तुको मात्रै पछिल्लो ८ महिनाको तथ्याङ्क संकलन भइसकेको र अन्य वस्तुको आयात तथा निर्यातको तथ्याङ्क संकलन भइनसकेको दुवाडीको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार १५:३१