सूचनाको शक्ति - The Power Of Information

        

सेना परिचालन गरेर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र : नेता मगर

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का स्थायी कमिटी सदस्य एवं केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढामगरले सेना परिचालन गरेर नेपालमा राजतन्त्र पुनःस्थापित गर्ने षड्यन्त्र भैरहेको बताएका छन् । नेपालमा विप्लव नेतृत्वको ने.क.पा.लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनःस्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन् ।
पार्टीले सञ्चालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज शुरुवात गर्दै नेता सन्तोष बुढा मगरले यस्तो कुरा बताएका हुन् । आफ्नो मन्तव्यका क्रममा उनले नेपालमा दलाल संसदीय व्यवस्था असफल भैसकेको जिकी गरे । यस्तो अवस्थामा नेपालमा बैकल्पिक सत्ता संचालन गरेको ने.क.पा.लाई ध्वस्त पार्न र कम्युनिष्टको नाममा सत्तासीन बनेको सत्तारुढ नेकपालाई बदनाम गराउन साम्राज्यवादीहरुले विभिन्न षड्यन्त्रहरु गरिरहेको बताए ।
उनले सोही षडयन्त्र अन्तरगत नेपालमा राजतन्त्र पुनःस्थापित गर्ने वा सत्तारुढ नेकपाभित्र खिचलो बढाएर कि प्रचण्डको नेतृत्वमा सरकार बनाउने त्यो पनि सम्भव नभए कांग्रेस र तत्कालीन माओवादी केन्द्रलाई मिलाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने विकल्पहरु साम्राज्यवादीहरुले अघि सारेको उनको भनाइ रहेको थियो ।
नेपालमा दलाल संसदीय व्यवस्था समाप्त हुँदासाथ बैज्ञानिक समाजवादी व्यवस्था आउने जिकिर गर्दै पार्टी अन्तरगतको मध्ये पश्चिम कमाण्ड इन्चार्ज समेत रहेका नेता बुढा मगरले दलाल संसदीय व्यवस्थाको बिकल्प राजतन्त्र वा पंचायती ब्यबस्था हुने नसक्ने जिकिर गरे । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतसँग पार्टी एकताबारे चर्चा चलिरहेको कुरा औल्याए ।
नेता मगरले आफ्नो पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिबारे प्रष्ट भएर आउँदा पार्टी एकीकरणमा कुनै समस्या नरहने स्पस्ट पारे । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा एकजुट भएर लड्न तथा दलाल संसदीय व्यवस्था नढलेसम्म दिगोरुपमा संघर्षलाई अघि बढाउन वामपन्थी, देशभक्त, राष्ट्रवादी र अग्रगामी शक्तिहरुबीच संयुक्त मोर्चा निर्माणको प्रयास भैरहेको पनि उनले जानकारी दिए ।
पार्टीमा मिडियाहरुले भनेजस्तो कुनै विवाद नरहेको दाबी गर्दै उनले पार्टीका नेताहरु सबै आआफ्नो जिम्मा लिएर कार्यक्षेत्रमा खटिइरहेको बेला पार्टीभित्र विवाद छ भनेर अफवाह फैलाउनु मिडियाको बेइमानी भएको तर्क गरे । सोही अवसरमा पार्टीका केन्द्रीय सदस्यत्रय कर्णाली ब्युरो इन्चार्ज एटम, भेरी ब्युरो इन्चार्ज शितल र धवलागिरी ब्युरो इन्चार्ज विप्लव लगायतका नेताहरुले पार्टीले संचालन गरेको अभियानका क्रममा गण्डक ब्युरोमा पार्टीको बैचारिक तथा सांगठानिक अवस्थालाई सुदृढ र बलियो पारी छाड्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतवार १६:३८