सिराज खान/बाँके । बिद्यालय जान नपाएका र बिचमै बिद्यालय छोडेका नेपालगन्जका गरिबबस्तीका बालबालिकालाई बिद्यालयमा भर्ना गराउने उदेश्यले ती बस्तीमा ‘संगै पढौ संगै सिकौं’ अभियान संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको बेलासपुरमा रहेको चिडिमार समुदायका धेरै बालबालिकाहरु अझैपनि बिद्यालय जानबाट बन्चित रहेको पाईएपछि सो समुदायलाई लक्षित गरेर पहिलो पटक ‘संगै पढौ संगै सिकौं’ अभियान संचालन गरिएको सेभ द चिल्ड्रेनले जनाएको छ ।
बाँके युनेस्को क्लबद्धारा जिल्ला शिक्षा कार्यालयको समन्वयमा संचालन गरिएको सहयात्रा परियोजना अन्तर्गत सो अभियान संचालन गरिएको हो । उक्त अभियान अन्तर्गत धम्बोझी माविका १६ जना प्लस टु अध्ययन गर्ने बिद्यार्थिले चिडिमार समुदायका १६ जना बालबालिकालाई प्रति बिद्यार्थिले एक जना बालक वा बालिकालाई उनकै घरमै गएर ३ महिनासम्म एकदेखि दुई घण्टासम्म पढाउने छन् । तीन महिनापछि ती बालबालिकालाई बिद्यालयमा भर्ना गराईने छ ।
सो अभियान सफल भएमा उक्त अभियानलाई नगरका अन्य गरिबबस्तीमा पनि संचालन गरिने बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेजअली सिद्दिकीले बताए । उनले ती बालबालिकालाई पढाउनका लागि ‘मेरो पहिलो बिद्यालय’ नामको एक अभ्यास पुस्तिका समेत तयार गरिएको छ । सोही पुस्तिकाकै आधारमा ती बालबालिकालाई पढाइने छ । उक्त अभियान संचालन गर्नका लागि छनोट गरिएका धम्बोझी माविका १६ जना बिद्यार्थीलाई तीन दिने सहपाठी सहजकर्ता तालिम दिइएको छ ।
तालिममा चिडिमार समुदायको बारेमा बिस्तृत जानकारी गराउनुका साथै अभ्यास पुस्तिकाको प्रयोगका बारेमा पनि प्रशिक्षण दिईएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक रत्न ओझाले नेपालगन्ज शहरमा बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय पुरयाउन तथा ड्रप आउटको समस्या कम गर्न निकै चुनौती देखिएपछि यो अभियान संचालन गरिएको बताए । धम्बोझी माविका प्रधानाध्यापक किरण आचार्यले उच्च मनोबलका साथ काम गर्ने हो भने असम्भव केही पनि नभएको जनाउँदै ‘संगै पढौ संगै सिकौं’ अभियान सफल हुने बताइन् ।
उनले यो अभियानसंग धम्बोझी माविको प्रतिष्ठा समेत गाँसिएकोले राम्ररी पढाउन बिद्यार्थीहरुसंग आग्रह गरिन् । सोही अवसरमा बोल्दै वडा बाल संरक्षण समितिका अध्यक्ष रामु चिडिमारले आफ्नो समुदायका बालबालिकाको शिक्षाका लागि संचालन गरिएको अभियानलाई सफल बनाउन हरेक सहयोग गर्न तयार रहेको बताए । तलिममा सहभागि बिद्यार्थि समिक्षा रावलले तालिम निकै उपलब्धीमूलक रहेको जनाउँदै चिडिमार समुदायका बालबालिकालाई बिद्यालय भर्ना गराउने अभियानलाई पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत फुल कुमारी चौधरी, क्लबका कार्यक्रम अधिकृत आशिष बर्मा, राम श्रेष्ठ र ईश्वर विक लगायतले अभियानको औचित्य र आवश्यकताबारे बोलेका थिए । नेपालगन्ज उपमहानगरका ५ वटा गरिबबस्तीलाई लक्षित गरेर क्लबले नगरभरीका सबै सरकारी बिद्यालय र केही मदरसामा सहयात्रा परियोजना संचालन गरिरहेको छ ।
।