सूचनाको शक्ति - The Power Of Information

        

वर्तमान सरकारले सामथ्र्य गुमाइसक्यो : अध्यक्ष वली

बाँके । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले वर्तमान सरकारले सामथ्र्य गुमाइसकेकाले अत्तालिएर झुटको साहारा लिएको बताएका छन् । ‘अहिले पनि चुनाव रोक्ने बाहना खोजिरहेका छन् । हामीले त्यसको खबरदारी गरिरहेका छौँ,’ अध्यक्ष वलीले भने ।
नेपालगन्ज विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष वलीले राष्ट्रसेवक कर्मचारीहरुलाई संविधान अनुसार आफ्ना कामकारबाही गर्न आग्रह गर्दै वर्तमान सरकारले धाँधलीकै रुपमा प्रहरीभित्र सरुवा र बढुवा गरिरहेको बताए ।
‘सरकारी जागिर खाएर कर्तव्य च्यूत नहुनुस्,’ राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्दै अध्यक्ष वलीले भने, ‘राष्ट्रसेवक कर्मचारीहरुले त्यसो गर्नुहुँदैन भन्ने हामीलाई विश्वास छ ।’ उनले अहिलेको सरकारले निर्वाचनमा धाँधली गर्न अनेक खालका झुटको साहारा लिइरहेको आरोप लगाए ।
अर्को एक प्रसंगमा अध्यक्ष वलीले भने, ‘बाम गठबन्धनमा समस्या छैन । हामीले निर्वाचन नजिकै आइसकेकाले मात्रै एकीकरणको कामलाई अघि बढाउन नसकेका हौँ । निर्वाचनपछि दुई पार्टीबीच एकीकरण हुन्छ ।’
वर्तमान सरकारले जसरी बेतिथिपूर्ण कार्यहरु गरिरहेकोले सबै नागरिकहरुलाई धैर्यताका साथ बस्न आग्रह गर्दै वलीले भने, ‘निर्वाचनपछि कम्युनिष्ट सरकार आइहाल्छ । मुलुकको सम्वृद्धिको ढोका खुलिहाल्छ । तपाईहरु नआत्तिनुस् ।’
पश्चिम नेपालका विभिन्न कार्यक्रममा सहभागि भएर फर्कने क्रममा नेपालगन्ज आइपुगेका वलीले भने, ‘मुलुकको सम्वृद्धि र विकासका लागि स्थायी सरकार चाहिएको छ । त्यो निर्वाचनपछि पुरा हुन्छ ।’ कार्यकर्ताहरुलाई उत्साहका साथ निर्वाचनमा लाग्न आग्रह गर्दै अध्यक्ष वलीले बाम गठबन्धन एकीकरणमा परिणत भई एउटै कम्युनिष्ट पार्टी बन्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार १२:३९