सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहका पूर्वाधार निर्माणमा जनप्रतिनिधिको रजाइँ : निर्माण व्यवसायी

बाँके । स्थानीय तहले निर्माण सम्बन्धी कामहरु दिन नमानेपछि निर्माण व्यवसाय धरासायी हुने अवस्थामा पुगेको निर्माण व्यवसायीहरुले बताएका छन् । जनप्रतिनिधीले नै स्थानीय तहका निर्माण ठेक्का लिन थालेको आरोप लगाउँदै यस्तो कार्य तत्काल रोक्नुपर्ने निर्माण व्यवसायीको माग छ ।
बाँके, बर्दियाका निर्माण व्यवसायीले स्थानीय तहका ठेक्का जनप्रतिनिधिकै कब्जामा रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । स्थानीय तहमा कार्यकर्ता पोस्ने नियतले स्थानीय तहले जथाभावी उपभोक्ता समिति गठन गर्दै ठेक्काको काम दिन थालेको निर्माण व्यवसायी महासंघ प्रदेश पाँचका अध्यक्ष बलिभद्र रानाको गुनासो छ ।
स्थानीय तहले टेण्डर नगर्दा सानो पुँजी भएका निर्माण व्यवसायी धरासायी बनेको उनले बताए । ‘स्थानीय तहले टेण्डर निकाल्नै छाडे । सबै काम उपभोक्ता समितिमार्फत गरेका छन् । यस्तो अवस्थामा हामी जिल्लाका निर्माण व्यवसायी बिस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।
बाँके निर्माण व्यवसायी संघका बाँकेका सल्लाहकार शशी शाहले स्थानीय तहले च्याउजस्तै निर्माण व्यवसायी जन्माउने गरेको र वैधानिकरुपमा निर्माण सम्बन्धीत काम गर्दै आएका निर्माण व्यवसायीहरु धरासायी बनेको बताए । खुला प्रतिस्पर्धाबाट योजना निर्माण नगरी जनप्रतिनिधिहरुले नजिकैका आफन्त काम दिने गरेको निर्माण व्यवसायीहरुको भनाई छ ।
त्यसो त बाँकेका केही जनप्रतिनिधिहरुले आफ्ना पार्टीका कार्यकर्ता र आफन्तको लगानीमा स्काभेटर खरीद गरी काम गरिरहेका छन् । जनप्रतिनिधिहरुले स्थानीय तहको बजेटमा आफन्तको रजाई चलाएपछि स्थानीयहरु समेत आक्रोशित छन् । खजुरा गाउँपालिका–४ का एक स्थानीयले भने, ‘स्थानीय तहका योजना जनप्रतिनिधिको ठेक्काजस्तै छन् ।’
‘ठुला सार्वजनिक योजना सञ्चालन गर्दा बोलपत्र आव्हान गर्नुपर्छ, तर ‘जनप्रतिनिधिले भने नजिकैका आफन्त र पार्टी निकटका व्यक्तिलाई सिधैं दिइरहेका छन्,’ एक निर्माण व्यवसायीले भने, ‘करोडौंका योजना निर्माणमा जनप्रतिनिधिको मिलेमतो भइरहेको छ ।’ स्रोतका अनुसार डोजर सञ्चालक र ठेक्का पट्टामा संलग्नहरुलाई अहिले जनप्रतिनिधि भएपछि काम पाउन निकै सजिलो भएको छ ।
ठेक्का पट्टाको सूचना आदानप्रदानमा पनि निकै सजिलो हुँदै गएको छ । निर्माण व्यवसायमा संलग्न केही जनप्रतिनिधिहरुले सञ्चालन गरेका निर्माण व्यवसाय कम्पनी परिवारका सदस्यको नाममा गरेका छ । स्रोतका अनुसार निर्माण व्यवसायमा संलग्न कार्यकर्ता देखाउने, गोप्यरुपमा आफ्नो लगानी राख्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २९ पुष २०७५, आइतवार १३:०८