सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ का सबै क्षेत्रमा वाम गठबन्धन : भट्टराई

बाँके । नेकपा एमालेका युवा नेता तथा वाम गठबन्धनका निर्वाचन परिचालन कमिटी अन्तर्गत प्रदेश नम्बर ५ को संयोजन तथा अनुगमन समितिका संयोजक खिमलाल भट्टराईले आसन्न निर्वाचनमा यस प्रदेशमा कुनै पनि स्थानमा गठबन्धनका उम्मेदवार कमजोर नभएको बताएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र राजनीतिक समुहले सबै क्षेत्रमा बिजय हासिल गर्ने भट्टराईको दावी छ । उनले भने, ‘प्रदेशका ५२ र संघका २६ वटै सिटमा गठबन्धनका उम्मेदवार अगाडी छन, कुनै पनि क्षेत्रमा कमजोर पाइएको छैन ।’
गठबन्धनका उम्मेदवारप्रति आम मतदाताको उत्साह बढि पाइएको उनले दावी गरे । ‘गठबन्धनले जितेमा स्थायी सरकार बन्छ र विकास र सम्बृद्धिको सुरुवात हुन्छ भन्ने आम मतदातालाई परेको छ,’ उनले थपे, ‘यो गठबन्धनमा प्रदेश ५ मा कुनै पनि स्थानमा कमजोरी छैन ।’ प्रदेश ५ मा गठबन्धनका उम्मेदवारलाई चुनौती र हारको समस्या नहुने भन्दै उनले मंसिर २१ पछि औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको बताए । भट्टराई नेतृत्वको समितिले गठबन्धनका उम्मेदवारलाई जिताउन जनपरिचालन, जनमत निर्माण र समन्वयको काम सशक्त ढंगले गर्दै आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ०६:४९