सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका थारु गाउँमा माघीको उत्सव

कैलाली । सुदूरपश्चिमका थारु समुदायमा माघी मनाउने शैली परिवर्तन हुँदै गएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने सुदूरपश्चिमका कैलाली कञ्चनपुरका थारु समुदायले उत्सवको रुपमा पनि माघी मनाउन थालेका छन् । घरमा ठूलाबडाको आशीर्वाद लिएर मनाइने माघीलाई थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन, मेला, महोत्सव र माघी मिलन समारोह आयोजना गरी मनाउन थालेका हुन् ।
माघीको अवसर पारेर कञ्चनपुरको मेलौरी नगरपालिकामा थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा शुक्रबारबाट प्रथम बेलौरी माघी मेला शुरु भएको छ । सो मेला तीन दिनसम्म चल्ने आयोजक सभाले जनाएको छ । थारु कल्याणकारिणी सभा गोदावरीको आयोजनामा माघ ५, ६ र ७ गते कैलालीको गोदावरी नगरपालिका–८, मजगाउँमा माघ महोत्सव २०७५ हुने भएको छ । त्यसैगरी धनगढी नगरपालिका–९, बंगरा गाउँमा गाउँलेले भल्मन्सा बुद्धिराम चौधरीको अगुवाईमा पुष ३०, माघ १ र २ गते माघी मेला आयोजना हुने भएको छ ।
त्यस्तै धनगढी नगरपालिका–६ जालीका गाउँलेले पनि सोही अवधिमा माघी मेला आयोजना गर्ने भएका छन् । यी सबै मेलाको मुल उद्देश्य माघीलाई भव्यरुपमा मनाउने नै छ । मेलाहरुमा मुल आकर्षणको रुपमा थारु नाच, खानाका परिकार, प्रदर्शनी, थारुगाउँ, थारु समुदायले परापुर्वकालदेखि प्रयोग गर्दै आएको सामाग्रीहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेका छन् । बंगरामा आयोजना हुने माघी मेलाका प्रवक्ता रामनारायण चौधरीले स्थानीय बयरकोटको बयर चट्नी र चौफेरी तालको माछा, घोंङी, गंगटो समेतको स्वाद मेलामा लिन पाइने बताए ।
मजगाउँमा आयोजना हुने मेलाका कार्यक्रम संयोजक माधव चौधरीले मेलामा माघीमा थारु समुदायले बनाउने ढिक्री, घोंङी, माछा, बंगुरको मासु, मुसाको मासु, तरुल, सकरखण्डको स्वाद लिन पाइने बताए । उनले मेलामा माघीको नाच, झुम्रा, सखिया नाच, धमार लगायतका पौराणिक सांस्कृतिक कार्यक्रम हुनाका साथै थारु कलाकारहरुको आधुनिक गीत र नाचको प्रस्तुती समेत रहने बताए । मंगराको माघी मेला प्रवक्ता चौधरीले मेलामा थारु संस्कृतिको प्रदर्शनीका साथै स्थानीय कृषि उत्पादनको प्रदर्शनी समेत रहने बताए ।

यसरी मनाइन्छ माघी
पुस मसान्तसँगै थारु गाउँहरुमा भव्यताका साथ माघी पर्व शुरु भएको छ । गाउँगाउँमा पुसको अन्तिम सुंगुर काटेपछि थारु समुदायमा माघी शुरु औपचारिकरुपमा शुरु हुन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरुको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रुपमा मनाइन्छ । माघ महिना लागेसंगै थारु संवत २६४२ अर्थात् थारु समुदायको नयाँ आर्थिक वर्ष शुरु हुनेछ ।
पुस मसान्तमा बंगुरको मासु खाने र माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रहीआएको छ । यत्ति गरिसकेपछि मान्यजनहरुसंग आशिर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।
थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै विताउने गरेको छ । दिउँसभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ । माघ महिनासंगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासंगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी–चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ । माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ ।
पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु कल्याणकारिणी सभाका कार्यबाहक सभापति माधव चौधरीले बताए । थारुहरुको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । विगतमा थारु समुदायमा रहेको कमैया–कमलरी राख्ने कुप्रथा पूर्णरुपमा हटेको छ ।
भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्युनिकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यि विषयमा छलफल हुन छाडेको बताउँछन्, थारु नेता ठाकुर करियाप्रधान । थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यि सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।

माघे संक्रान्तिमा विदा
सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वका अवसरमा माघ १ गते एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषदको बैठकले माघी पर्वका उपलक्ष्यमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए ।
मन्त्रीपरिषदको नियमित बैठकले सम्पूर्ण प्रदेशबासीको महत्वपूर्ण पर्व भएकोले सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शाहले बताए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा माघे संक्रान्तिलाई चेली तिहार र तराइँका जिल्लामा बस्ने थारु समुदायको नयाँ वर्षको रुपमा मनाइने गरेकोले एक दिन विदा दिने निर्णय गरेको प्रवक्ता शाहले बताए ।

माघीमा तीन दिन विदा माग
थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघीमा सरकारले एक दिन मात्रै विदा दिएकोमा असन्तुष्टी जनाउँदै तीन दिन विदा दिन प्रदेश सरकारसंग माग गरेको छन् । सभा र समाजले संयुक्त प्रेस विज्ञप्ति जारी गरी थारु समुदायको सबै भन्दा ठूलो पर्व माघीमा पुष ३०, माघ १ र २ गते सार्व्जिनक विदा दिन माग गरेको हो ।
सभाका कार्यबाहक सभापति माधव चौधरी र समाजका संयोजक दिलबहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले माघीमा एक दिन मात्रै विदा दिएकोमा विरोध जनाइएको छ । विज्ञप्तिमा नेपालको संविधान २०७२ ले गरेको व्यवस्था पूर्णरुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १६:२२