सूचनाको शक्ति - The Power Of Information

        

‘सपथ खाएपछि फूलमाला र अबीर लगाएर जेल !’

सांसद रेशम चौधरीको नियति

काठमाडौं । १३ महिनाअघि कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक मतसहित विजयी राजपा नेता रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । विहीबार संसद सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट चौधरीले शपथ लिएका हुन् । कैलालीको टीकापुर हत्याकाण्डमा मुछिएपछि चौधरी पुर्पक्षका लागि जेल चलान भएका थिए ।
निर्वाचन अघि देखिनै फरार रहेका चोधरीले गत फागनु १४ गते कैलाली जिल्ला अदातमा आत्मसमर्पण गरेका थिए । अदालतमा थुनछेक वहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको थियो । जिल्ला कारागार कैलालीमा रहँदा बिरामी परेपछि उपचारका लागि चौधरीलाई काठमाडौं ल्याइएको थियो ।
वीर अस्पतालमा उपचाररत चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले अनशन तोडाएका थिए । त्यसबेला पनि उनले शपथ लिने सहमति भएको र अनशन तोडिएको बताइएको थियो तर अनशन तोडेपछि पनि रेशम चौधरी केन्द्रीय कारागारमा थुनामा थिए । चौधरी जनमतबाट स्वीकृत भएको भन्दै उनको दल राजपा नेपालले चौधरीमाथि लागेको मुद्दा सरकारले फिर्ता लिनुपर्ने बताउँदै उनलाई शपथ दिलाउन माग गर्दै आएको थियो ।
राजपा अध्यक्षमण्डका संयोजक राजेन्द्र महतोले केही दिन अघि संसद बैठकमा रेशम चौधरीलाई अविलम्ब शपथ खुवाउनु पर्ने बताएका थिए । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको राजपाले केही दिन अघिदेखि आफ्ना मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । राजपाले रेशम चौधरीलाई शपथ गराउनुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली त्यसका लागि तयार भएका थिए ।

विहीवार संसद सचिवालयमा सांसदको शपथ ग्रहरणका लागि चौधरीलाई केन्द्रीय कारागारबाट सिधैं ल्याइएको थियो । सिंहदरबारमा ल्याइएका चौधरीलाई स्वागत गर्न राजपाका शीर्ष नेता, कार्यकर्ता, चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी, अन्य दलका सांसदहरु उपस्थित भएका थिए । शपथ ग्रहणमा आएका उनलाई खादा, अबीरले स्वागत गरिएको थियो ।
शपथ सकिएपछि उनी केही समय सिंहदरबारमा बसेका थिए । चौधरीले शपथ लिएकोमा नेता कार्यकर्ताबाट बधाइ लिएका थिए । पत्रकारहरुबाट घेरिएका चौधरीले टीकापुर घटनामा आफू निर्दोश रहेको र आफूले न्याय पाउने आशा व्यक्त गरेको बताएका थिए । उनको मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै शपथ पछि चौधरीलाई पुन केन्द्रीय कारागार लगिएको छ ।
जेल लगिनुभन्दा पहिला चौधरीले शपथपछि सांसद लोगो लगाएर जेल लान मिल्छ भन्दै प्रश्न गरेका थिए । सामान्यतया राजनीतिक प्रकृतिका मुद्दामा जेलबाट निस्किएपछि कार्यकर्ता, समर्थकले नेतालाई माला, खादा, अबीर लगाएर स्वागत गर्ने गरेका छन् । यस्तो घटना खुमबहादुर खड्का जेलबाट निस्कदा भएको थियो । खड्का जेलबाट छुटेपछि कांग्रेस कार्यकर्ताले अबीर माला खादा लगाएर स्वागत गरेका थिए ।
त्यस्तै पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलल रिहा हुँदा पनि उनका समर्थकहरुले अबीर माला लगाएर स्वागत गरेका थिए । तर रेशम चौधरीको हकमा भने उल्टो दृश्य देखिएको छ । जेलबाट निस्कदा अबीर र खादा लगाएर स्वागत गरिने भएपनि चौधरीले जेल जाँदा खादा, माला र अबीर लगाएका छन् । विहीबार (आज) शपथपछि पुनः कारागार लगिएका रेशम अबीरले राताम्मे र खादाले ढाकिएको अवस्थामा प्रहरीको भ्यानमा चढे ।

रेशमपत्नी रञ्जिता भन्छिन्, ‘उहाँ जेलबाट छिट्टै घर फर्किनुहुन्छ’
निर्वाचित भएको १३ महिनापछि सांसदको शपथ खाएर डिल्लीबजार जेल फर्किएका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्ना पति छिट्टै घर फर्किने विश्वास व्यक्त गरेकी छन् । रेशमको शपथका लागि सिंहदरबार पुगेकी रञ्जिताले रेशम छिट्टै घर फर्किने विश्वास परिवारले लिएको बताएकी हुन् ।
‘निर्वाचित भएको एक वर्षसम्म शपथ भएको थिएन । शथप लिएर उहाँ जेल गएपनि केही दिनमा घर आउनुहुन्छ भन्ने आशा गरेकी छु,’ संसद् परिसरमा पत्रकारहरूसँग रञ्जिताले भनिन् । रञ्जितासँगै छोरा आभुषण पनि बुवाको शपथ ग्रहण समारोह हेर्न सिंहदरबार पुगेका थिए ।

यस्तो थियो टीकापुर घटना
राज्यको पुनःसंरचना एंव संविधान निर्माणको क्रममा कैलाली कञ्चनपुरसहितको थारु बाहुल क्षेत्रसहितको थरुहट प्रदेश र मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको एक प्रदेश बनाइनुपर्ने माग राखी दुई परस्पर विरोधी आन्दोलन भयो । ७ भदौ २०७२ मा थरुहट आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी ८ प्रहरी र एक नाबालकको ज्यान गयो ।
त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी भएको अवस्थामा करिब थारुका ८५ घर र पसल एफएममा आगजनी भयो । लुटपाट पनि भयो । लगत्तै प्रहरीले थारु अगुवा, नेता, कार्यकर्ता, सर्वसाधारणलाई गिरफ्तार गर्यो । हालसम्म सांसद रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारु, थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीसहित २६ जनालाई पुर्पक्षकै लागि थुनामा राखिएको छ । उनीहरूको मुद्दा अदालतमा विचाराधिन छ ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १७:५८