सूचनाको शक्ति - The Power Of Information

        

उद्यममा युवा, पाँच करोड लागतमा खुल्यो युपीभीसी उद्योग (फोटोफिचर)

बाँके । आर्थिक आम्दानीका लागि वैदेशिक रोजगारीमा जाने क्रम बढेका बेला कोहलपुरका चार जना युवा स्थानीयस्तरमै उद्यममा सक्रिय भएका छन् । युवाहरू स्वदेशमै केही गर्नुपर्छ भनेर विभिन्न उद्योगहरु खोल्न थालेका छन् ।
कोहलपुरका चार युवाहरू सरोज हमाल, राजेन्द्र रिजाल, दिनेश पौडेल र सनत रेग्मीको सामुहिक लगानीमा बाँकेको कोहलपुरस्थित बाबानगरमा पाँच करोड लागतमा नेपाल ग्रीन जोन प्रालि सञ्चालनमा आएको छ ।
बिहीबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधकारीले उद्घाटन गरेको उक्त प्रालीले उद्योग सञ्चालनका लागि अहिले नयाँ प्रविधिमार्फत युपीभीसीका विभिन्न सामाग्री उत्पादन गर्ने प्रालीका अध्यक्ष सरोज हमाल बताउँछन् ।
युपीभीसी अर्थात् अनप्लास्टिक साइज्ड पोलिभिन्याल क्लोराइड एक विशेष प्रकारको प्लास्टिक भएकोले यसबाट निर्माण गरिने झयाल, ढोकाको ३० बर्षसम्म ग्यारेनटी भएको अध्यक्ष हमालले जानकारी दिए । उनले भने, ‘जुन निकै हलुका भए पनि बलियो हुन्छ ।’
युपिभिसीलाई जस्तोसुकै घरका लागि आवश्यक पर्ने जस्तोसुकै झ्याल–ढोका निर्माणमा प्रयोग गर्न सकिने अर्का सञ्चालक सनत रेग्मी बताउँछन् । आलमोनियम र फलामको ढोकाबीचको विकल्पका रूपमा यसलाई लिन सकिने भएकोले काठका फर्निचर वा झयाल, ढोकाको तुलनामा यो बढी टिकाउ र बलियो हुनुका साथै आकर्षक पनि हुने रेग्मीले बताए । युपिभिसी झ्याल ढोका सबै मौसममा काम लाग्ने बताउँदै अर्का सञ्चालक राजेन्द्रप्रसाद रिजाल घाम, पानी, चिसो आदि जस्ता मौसमी तत्वले युपिभिसीका झ्याल–ढोकालाई बिगार्न नसक्ने बताउँछन् । युपिभिसीबाट बनेका कुनै पनि वस्तुमा किरा र धमिरा नलाग्ने रिजालको दाबी छ ।
‘काठका झ्याल र ढोकामा यो निकै ठूलो समस्या हो,’ उनले भने, ‘तर, युपिभिसीका हकमा यस्तो चिन्ता लिनै पर्दैन ।’ काठका झ्याल–ढोकामा जस्तो युपिभिसीका झ्याल ढोकालाई बारम्बार मर्मतसम्भार गरिरहनु नपर्ने अर्का सञ्चालक दिनेश पौडेल बतउँछन् । एकपटक सेट गरेपछि लामो समयसम्म कुनै पनि झन्झटबिना काम गर्ने भएकाले युपिभिसी मर्मत सम्भारका लागि पैसा खर्च गर्नु नपर्ने पौडेलको भनाई छ ।
प्लास्टिकमा ताप र आवाज रोक्ने (इन्सलेट) क्षमता हुन्छ सञ्चालक सनत रेग्मले युपिभिसीका झ्याल–ढोकाहरुले पनि बाहिरको आवाज र तापलाई कोठाभित्र जानबाट रोक्ने बताए । ‘रिसाइकल गर्न मिल्ने प्लास्टिक र अन्य वस्तुले युपिभिसी बनेको हुन्छ,’ उनले भने, ‘तसर्थ एकपटक प्रयोगमा आएको युपिभिसीका झ्याल–ढोका पटकपटक प्रयोग गर्न मिल्छ ।’
चीनबाट अत्याधुनिक मेसिन खरिद गरेर स्थापना भएको यस प्रालीले ढुवानी सेवा पनि उपलब्ध गराउने भएको सञ्चालकहरू बताउँछन् । कोहलपुरमा रहेको प्रालीबाट दैनिक ५० दखि ७० थान झयाल, ढोका उत्पादन गर्न सकिने अध्यक्ष हमाले जानकारी दिए । उनका अनुसार उक्त झयाल ढोका उत्पादनका लागि भन्सार खर्चसहित दुई करोडको लागतमा अत्याधुनिक मेशिन पनि ल्याएर जडान गरिएको छ ।
उक्त प्रालीमा अहिले दश जनाले रोजगारी पाएका छन् । प्रदेश पाँचसँगै कर्णाली र सुदुरपश्चिम प्रदेश प्रमुख बजारका रूपमा रहेको र बिहीबारसम्म पनि जाजरकोट लगायतका ठाउँबाट झयाल, ढोकाको माग आइसकेको उनीहरू बताउँछन् । अध्यक्ष हमालका अनुसार एउटा चारकोठाको घर निर्माणमा ६ वटा ढोका र आठ वटा झयाल बनाउँदा यसको जम्मा खर्च दुई लाखको हाराहारीमा मात्रै आउने हुँदा पनि यो प्रविधि काठको तुलनामा एकदमै सस्तो रहेको छ ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १६:३३