सूचनाको शक्ति - The Power Of Information

        

सभामुखसँग रेशम चौधरीले सोधे, ‘माला र खादा लगाएर फेरि जेल जानुपर्ने ?’

थुनामा रहेका सांसदले लिए सपथ

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।
कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए । टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए ।
चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । राष्ट्रिय जनता पार्टीले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको थियो । तर, सरकारले त्यसलाई वेवास्ता गर्दै आएको थियो । पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा सभामुखले सांसद चौधरीलाई सपथ खुवाएका हुन् ।

अब म पनि माननीय !
फरार भएकै अवस्थामा कैलाली १ मा प्रतिनिधिसभा सदस्यको चुनाव लडेका टीकापुर घटनाका मुख्य अभियुक्त रेमश चौधरीले अप्रत्यासित सफलता पाए । प्रतिद्वन्द्वीलाई २१ हजार मतान्तरले पराजित गरेपछि उनले निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत बुझ्न चाहे । सर्वोच्च अदालतसम्म धाए तर, आफ्नो पक्षमा फैसला नभएपछि १४ फागुनमा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे ।
अदालतले पूर्पक्षका लागि जेल चलान गर्यो । चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा थिए । राष्ट्रिय जनता पार्टीले लगातार उनले सपथ लिने वातावरण बनाउनु पर्ने माग गर्दै आएको थियो । एकवर्षसम्म सुनुवाई भएन । तर, राजपाले सरकारलाई दिएको समर्थन नै फिर्ता लिने भनेपछि सरकार एकाएक गलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बिहीबार चौधरीको सपथको चाँजोपाँजो मिलाइएको छ ।
डिल्लीबजार कारागारबाट सिंहदरबार ल्याइएका उनलाई सभामुख कृष्णबहादुर महराले सपथ खुवाए । कृषि समितिको हलमा भएको सपथ कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ समेत उपस्थित थिए । सपथपछि सभामुखले उनलाई सांसदको लोगो लगाइदिए । लगतै चौधरीले पनि लोगो देखाएर हँसिलो मुद्रामा पोज दिए, ‘अब म पनि माननीय !’

सपथपछि के रेशमले भने ?
सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् ।
‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनले भने, ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।’
आफू माला र खादा लगाएर फेरि जेल जानुपर्ने भन्दै उनले प्रश्न गरे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’ नेपाली कानूनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न नपाइने भए पनि आफूहरु जेलमा बसिरहेको भन्दै चौधरीले यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरे । आफूले द्वन्द्व नचाहेको भन्दै उनले जनताले न्याय नपाएसम्म समृद्धि नआउने बताए ।
‘शान्ति नभई समृद्धि बन्न सक्दैन । समृद्धि बनाउन जनतालाई न्याय दिनुपर्छ’ उनले भने । प्रवासमा पकौडा खाएर बस्नुभन्दा आफ्नै देशको दालभात तरकारी मन परेर जेल बस्न आएको उनले बताए । ‘मलाइ मेरै देशको दालभात तरकारी मन प यो र जेलमा बन्द भएँ । जेलमा पनि सर्वसाधारण कैदीको जीवनयापन गरिरहेको छ,’ उनले भने ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १६:०८