सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा भेटिए बर्दियाबाट चोरी भएका खसी

बाँके । छिमेकी जिल्ला बर्दियामा चोरी भएका खसी बाँकेको नेपालगन्जमा फेला परेका छन् । दाङ घोराही उपमहानगरपालिका–४ घर रहेका राजेश चौधरीले बर्दियाको बारबर्दिया नगरपालिका–८, चौकीपुरबाट चार वटा खसी चोरेर नेपालगन्ज ल्याई बिक्री गरेका हुन् ।
चौकीपुरका कृष्णबहादुर थापाको खोरमा रहेको चार वटा खसी दुई दिनअघि १६ गते चोरी भएको थियो । खसी दुई वटा सेतो र दुई वटा रातो रंगका थिए । थापाले खसी चोरी भएको उजुरी स्थानीय बानियाभार प्रहरी कार्यालयमा उजुरी गरे । बानियाभार प्रहरीले नेपालगन्जमा खसी बिक्री भएको हुन सक्ने भन्दै वडा प्रहरी कार्यालय, नेपालगन्जलाई खबर गर्यो ।
वडा प्रहरी कार्यालयले सम्भावित स्थानहरुमा खोजतलास गर्दा बुधबार देवाफूलवारीमा एउटा र घरबारीटोलबाट तीन वटा खसी बरामद गरेको हो । प्रहरीले खसीचोर चौधरीलाई पनि नियन्त्रणमा लिएको छ । बर्दियाबाट राती खसी चोरेर अटोरिक्सामा राखेर चौधरीले नेपालगन्ज ल्याएका थिए । यहाँ ल्याएर उनले सस्तोमा खसी बेचेका थिए ।
५ देखि ७ हजारमा २०/२२ किलो खसी बेचेको प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । चौधरीले खसी बेचेर मोबाइलसमेत किनिसकेका थिए । वडा प्रहरी कार्यालयले बुधबार नै खसी बर्दिया पठाइदिएको छ भने चोरलाई आवश्यक कारबाहीका लागि उतै पठाइदिने तयारी गरेको छ । चौधरीले चोरेर ल्याएका खसी विक्री गरेर मोबाइलसमेत किनिसकेका थिए ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार ०८:०१