सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टचार अभियोग लागेका निलम्बित सांसद ‘पप्पु’लाई संसद भवनमा ‘घोक्रेठ्याक’

काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायण रौनियार ‘पप्पु’ संसद भवन छिर्न नपाएपछि आक्रोशित बनेका छन् । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको संसदको बैठकमा निलम्बित सांसद रौनियार जवरजस्ती प्रवेश गर्न खोजेका थिए ।
रौनियारलाई सभामुख र महासचिवको आदेश भन्दै मर्यादापालकहरूले बैठक कक्षभित्र प्रवेश गर्न नदिइएको हो । निलम्बित सांसद रौनियारलाई संसदको बैठकमा प्रवेश नदिएपछि सभामुख कृष्णबहादुर महरा र महासचिव मनोहरप्रसाद भट्टराईलाई भेटेर आक्रोश पोख्न खोजेका थिए । तर, निलम्बित सांसद रौनियारलाई भेटन सभामुख र महासचिवले मानेनन् ।
पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता गरेपछि सांसद रौनियारलाई संसद सचिवालयले निलम्बन गरेको छ । संघीय फोरमका सांसद रौनियार असोज १९ गतेदेखि निलम्बनमा परेका छन् । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।
पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियार ‘पप्पु’सहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुमित रौनियार हरिनारायणका छोरा हुन् । रौनियारविरुद्ध अख्तियारले रु.१९ करोड ३२ लाख २५ हजार ६९५ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।
पप्पु कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको थियो । पप्पु कन्ट्रक्सनले ११ अर्ब रूपियाँ बराबरका ४० आयोजना ओगटेर अलपत्र पारेको छ । ‘पप्पु’ कन्ट्रक्सनकै कारण रौतहटमा पुलका लागि तयार पारेर अलपत्र छाडिएको खम्बामा ठोकिएर केही महिना अगाडि ढुंगा दुर्घटनासमेत भएको थियो ।
निलम्बित सांसद रौनियारले अहिले पनि सांसदको लोगो लगाएर सरकारी कार्यालय जाने, ठेक्काको कामको हिसाव किताव मिलान गर्ने लगायतका कार्य गर्दै आएका छन् । केही दिनअघि पनि निलम्बित सांसद रौनियारले सांसदको लोगो लगाएर हुलाकी सडक कार्यालय मीनभवनस्थित कार्यालयमा पुगेर हिसाव किताव मिलान गरेका थिए ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १४:३१