कोम खत्री । ‘उनी कहीँबाट पनि आएका होइनन्, उनी बादलबाट आएका हुन् ।’ द अस्ट्रेलियन पत्रिकामा सन् २०१८ साल डिसेम्बर १५ तारिखको अंकमा खेलकुद संवाददाता विल स्वान्टनले सन्दीप लामिछानेका बारेमा लेखेको पहिला दुई वाक्यहरू यिनै थिए । यी वाक्यहरूमा गहिराइ थिए, भावना थिए अनि एउटा युवा क्रिकेटरप्रति लेखकको सम्मान र तारिफ पनि उद्वेलित थिए । सम्भवतः लेखकले सन्दीपको जन्मथलो स्याङ्जाको आरुचौरलाई बादलपारिको एउटा थलोको रूपमा इङ्गित गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र नेपाली खेलाडीहरूको नाम त्यति आउँदैन किनभने नेपालमा क्रिकेटको इतिहास त्यति लामो छैन । तर, जति छोटो समयमा नेपालले यस खेलमा फड्को मारेको छ, त्यसले धेरै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलप्रेमीहरूको मन जित्न सफल भएको छ । क्रिकेटमा त्यति लामो इतिहास नबोकेको देश नेपालबाट लामो इतिहास बोकेको देश अस्ट्रेलियाको ‘बिग बास लिग’मा दिग्गज तथा अन्तर्राष्ट्रिय खेलको अनुभवले खारिएका खेलाडीहरूसँग खेल्नु एउटा १८ वर्षे युवाका लागि ठूलो चुनौतीको विषय थियो ।
त्यस्ता धेरै चुनौती र उतारचढावहरुलाई पार गर्दै स्याङ्जामा जन्मेर, चितवनमा हुर्केको एक नेपाली ठिटोले अस्ट्रेलियाको घरेलु प्रिमियर लिग बिग बासमा अक्टोबर २०१८ मा छानिएर धेरैलाई आश्चर्यचकित पार्न सफल भएका थिए । त्यति मात्र होइन, बिग बास लिगका लागि मेल्बर्न स्टार्सबाट खेल्दै गर्दा उनले उत्कृष्ट खेल प्रदर्शन गर्न पनि सफल भएका छन् । १८ वर्षको उमेरमा नै उनले धेरै क्रिकेटरहरूले जीवनभर प्राप्त गर्न नसक्ने सफलता प्राप्त गरिसकेका छन् । उनले आफ्नो मात्र होइन, देशको नाम पनि फैलाउन सफल भएका छन् ।
सन्दीप लामिछाने अहिले अस्ट्रेलियामा रहेका हरेक क्रिकेटप्रेमीले उच्च सम्मानका साथ लिने नाम बनेको छ । उनी आफूले खेलेका चारवटा खेलमा उत्कृष्ट बलिङ गर्दै जम्मा ८ विकेट लिन सफल बनेका छन् । उनले पहिलो खेलमा सिड्नी थण्डर्सविरुद्ध २ विकेट, दोश्रो खेलमा होबार्ट हरिकेन्सविरुद्ध ३ विकेट, तेश्रो खेलमा सिड्नी सिक्सर्स्विरुद्ध २ विकेट र चौंथो खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध १ विकेट लिएका थिए ।
साथै उनले आफ्ना सबै खेलमा विपक्षी टोलीका कप्तानहरूलाई आउट गर्ने रेकर्ड पनि बनाएका छन् । पहिलो खेलमा उनले सिड्नी थन्डर्सका कप्तान सेन वाट्सन, दोश्रो खेलमा होवार्ट हरिकेन्सका कप्तान म्याथ्यू वेड, तेश्रो खेलमा सिड्नी सिक्सर्सका कप्तान मोजेज हेनरिक्स तथा चौंथो खेलमा मेलबर्न रेनेगेड्सका कप्तान टिम कुपरलाई आउट गर्न सफल भएका थिए । साथै, उनी सम्मिलित टोली मेलबर्न सिक्सर्सले अहिलेसम्म खेलेका चार खेलमध्ये दुई खेलमा जीत र दुई खेलमा हार व्येहोरेको छ ।
बंगलादेशमा आगामी शनिबार अर्थात् ५ जनवरी २०१९ बाट शुरु हुने ‘बंगलादेश प्रिमियर लिग’मा सिल्हेट सिक्सर्सबाट खेल्नका लागि त्यसतर्फ जानुअघि सन्दीपले बिग बास लिगमा जम्मा चारवटा खेल खेलेका छन् । चारवटा मात्र खेल खेले पनि सन्दीपले अस्ट्रेलियन क्रिकेटप्रेमीमाझ उत्कृष्ट तथा गहन छाप छोड्न सफल भएका छन् । उनको खेलकौशलको तारिफ उनी खेल्ने टीम ‘मेल्बर्न स्टार्स’का कप्तान ग्लेन म्याक्सवेलले मात्र होइन हरेक खेलमा कमेन्ट्री गर्ने विश्लेषकहरुले गरिरहेका देखिन्थे ।
चारवटा मात्र खेल खेले पनि सन्दीपले खेलेका हरेक खेलहरूमा अस्ट्रेलियामा उपस्थित नेपाली खेलप्रेमीहरुले साथ दिइरहेका देखिन्थे । क्यानबेरामा होस् या सिड्नी र मेलबर्न नै किन नहोस्, नेपाली क्रिकेटप्रेमीहरु भ्याएसम्म नेपाली झण्डा बोकेर सन्दीपको हौसला बढाउँदै गरेका देखिन्थे । सन्दीपले क्रिकेटमार्फत् अस्ट्रेलियामा नेपाल तथा नेपालीको नाम उच्च राख्न मात्र होइन, नेपाली समुदायको अस्ट्रेलियामा गर्विलो उपस्थितिलाई दरिलो बनाउनामा पनि सघाउ पुर्याएका छन् ।
सन्दीपले मेलबर्नको ‘मेलबर्न क्रिकेट ग्राउण्ड’मा २०१९ सालको पहिलो दिन मेलबर्न रेनेगेड्सविरुद्ध खेलेको खेल हेर्न र साथ दिनका लागि नेपालबाट राष्ट्रिय टोलीका कप्तान पारस खड्का तथा राष्ट्रिय अण्डर–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी पनि उपस्थित थिए । खेलका क्रममा पारसले सन्दीपको खुलेर प्रशंसा गरेका थिए । पारस खड्काका साथै दीपेन्द्रसिंह ऐरी एक्सर्ट क्रिकेट फेस्टिभलमा भाग लिन केही दिनअघि अस्ट्रेलिया आएका थिए ।
यो खेललगत्तै ‘बंगलादेश प्रिमियर लिग’मा सन्दीपले आफ्नो पहिलो खेल आइतबार अर्थात् ६ तारिख जनवरी २०१९ का दिन कोमिला भिक्टोरियन्ससँग खेल्न जानेछन् । यस प्रिमियर लिगका सबै लिग खेलहरू फेब्रुअरी २ तारिखमा सकिनेछन् । फाइनल खेल ८ फेब्रुअरीमा हुनेछ । अस्ट्रेलियामा हुने बिग बास लिगमा मेल्बर्न स्टार्सले आफ्नो अन्तिम लिग खेल फेब्रुअरी १० तारिखका दिन सिड्नी सिक्सर्सविरुद्ध खेल्नेछ ।
शुरुवाती खेलजीवन
२ अगष्ट सन् २००० मा स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीप लामिछानेले सचिन तेन्दुलकर र शेन वार्नलाई आइडल मान्दथे । चितवनमा बसाइ सरेपछि उनले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काद्वारा संचालित चितवन क्रिकेट एकाडेमीमा ट्रेनिङ लिने गर्दथे । त्यही एकाडेमीमा छँदा वर्तमान राष्ट्रिय टोलीका कप्तान पारस खड्का र पूर्व कोच पुबुदु दसानाएकेले सन्दीपलाई अण्डर–१९ राष्ट्रिय टोलीका लागि छनोट गरेका थिए ।
सन्दीपले अण्डर–१९ राष्ट्रिय टोलीका तर्फबाट सन् २०१६ मा खेलेको अण्डर–१९ वर्ल्डकप क्रिकेट प्रतियोगिताको दोश्रो खेलमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरे थिए, जसमा उनले लोरकान टकर, एडम डेनिशन र फिएचरा टकरको विकेट लिएका थिए । त्यस ह्याट्रिकसँगै उनी अण्डर–१९ क्रिकेट इतिहासमा ह्याट्रिक लिने पाँचौं बलर बन्दै सो खेलको ‘म्यान अफ द म्याच’ भए । उनले अण्डर–१९ वर्ल्ड कप प्रतियोगिताको पाँचौ स्थानका लागि भएको प्लेअफ खेलमा पाकिस्तानविरुद्ध ३ विकेट लिएका थिए । सातौं स्थानका लागि भएको प्लेअफ खेलमा नामिवियाविरुद्ध ३ विकेट लिएका थिए । सो प्रतियोगितामा उनी १४ विकेटका साथ दोश्रो धेरै विकेट लिने खेलाडी बन्न सफल भएका थिए ।
सन्दीपले आफ्नो पहिलो ‘लिस्ट ए’ खेल आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशीपमा नामिवियाविरुद्ध १६ अप्रिल सन् २०१६ मा खेलेका थिए । त्यसैगरी उनलाई अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले सन् २०१६ मा सिड्नीमा वेष्टर्न सबर्ब डिस्ट्रिक्ट क्रिकेट क्लबबाट खेल्नका लागि निम्ता पठाएका थिए । साथै सन् २०१७ मा भएको अण्डर–१९ एसिया कपमा मलेसियाविरुद्ध उनले ८ रन खर्चेर ५ विकेट लिएका थिए जसले गर्दा मलेसियालाई नेपालले ४५ रनमा अल आउट गरेको थियो । त्यस खेलमा उनी म्यान अफ द म्याच भएका थिए ।
अन्तर्राष्ट्रिय टी–२० मा प्रवेश
जनवरी २०१८ मा सन्दीप लामिछाने ‘इण्डियन प्रिमियर लिग’मा छानिने पहिलो नेपाली क्रिकेटर बने । सो लिगका लागि उनलाई दिल्ली डेयरडेभिल्सले ३२ लाख रुपैयाँमा किनेको थियो । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेलेको पहिलो खेलमा उनले १ विकेट लिएर २५ रन खर्चेका थिए । प्रतियोगिताभर उनले तीन खेल खेल्दै ५ विकेट लिएका थिए । मार्च २०१८ मा सन्दीप लामिछाने ‘क्यारेबियन प्रिमियर लिग’मा छानिने पहिलो नेपाली क्रिकेटर बने । सो लिगका लागि उनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स ५ हजार डलरमा किनेको थियो ।
सो प्रतियोगितामा टिमका लागि ६।२३ को इकोनोमीका साथ सबैभन्दा कसिलो बलिङ गर्दै ५ खेलमा ७ विकेट लिएका थिए । जुन २०१८ मा सन्दीप ‘ग्लोबल टी–२० क्यानाडा’मा छानिने पहिलो नेपाली क्रिकेटर बने । सो लिगका लागि उनी मोन्ट्रियल टाइगर्सका तर्फबाट छानिएका थिए । सो प्रतियोगितामा उनले ५ खेल खेल्दै ८ विकेट लिन सफल भएका थिए । सेप्टेम्बर २०१८ मा सन्दीप ‘अफगानिस्तान प्रिमियर लिग’मा छानिने पहिलो नेपाली क्रिकेटर बने । सो लिगका लागि उनी नानगरहार लियोपर्ड्सका तर्फबाट छानिएका थिए ।
अक्टोबर २०१८ मा सन्दीप अस्ट्रेलियाको ‘बिग बास लिग’मा छानिने पहिलो नेपाली क्रिकेटर बनेका थिए । त्यसैगरी, उनी आगामी शनिबार अर्थात् ५ जनवरी सन् २०१९ देखि बंगलादेशमा हुने ‘बंगलादेश प्रिमियर लिग’मा सिल्हेट सिक्सर्सबाट खेल्ने पहिलो नेपाली क्रिकेटर पनि बन्नेछन् । साथै १४ फेब्रुअरी २०१९ देखि १७ मार्च २०१९ सम्म हुने ‘पाकिस्तान सुपर लिग’मा पनि लाहोर कलन्दरबाट छानिएपश्चात् उनी सो लिगमा खेल्ने पहिलो नेपाली क्रिकेटर बन्नेछन् ।
भविष्यको यात्रा
नेपाली राष्ट्रिय टोलीका लागि अहिलेसम्म तीनवटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल, दुईवटा टी–२० अन्तर्रा्ष्ट्रिय खेल, २४ वटा लिस्ट ए खेल तथा १५ वटा टी–२० खेल खेलेका सन्दीपको भविष्य उज्ज्वल देखिन्छ । प्रत्येक खेलबाट निखारिँदै आएका सन्दीपले जसरी आफ्नो व्यक्तिगत खेल कौशललाई अझ उचाइमा पुर्याएका छन् । त्यसैगरी, आगामी दिनमा नेपाली राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अझ अगाडि बढाउने ठूलो चुनौती पनि थपिएको छ ।
अन्तर्राष्ट्रिय तथा ख्यातीप्राप्त खेलाडीहरूसँग खेलेर अनुभव प्राप्त गर्न सफल सन्दीपले यो अनुभवलाई नेपाली राष्ट्रिय टोलीका लागि पनि प्रयोग गर्दै नेपाललाई क्रिकेटमा अझ अगाडि एक दिवासीय मात्र होइन टेष्ट खेल खेल्ने राष्ट्र बनाउने दिशातर्फ अग्रसर बनाउनेतर्फ केन्द्रित रहनुपर्छ । नेपाली क्रिकेटका लागि यही नै ठूलो चुनौती बनेको छ । एउटा खेलाडी खेल मैदानभित्र मात्र खेलाडी रहन्न । ऊ प्रत्येक खेल प्रशंसकहरु माझ खेल मैदानबाहिर पनि उत्तिकै रूपमा चम्किरहेको हुन्छ ।
खेल मैदानभित्र खेलाडीले जति उचाइ चुम्छ, त्यो उचाइसँग ऊसँग एक दायित्व र जिम्मेवारी पनि थपिँदै जान्छ । त्यो जिम्मेवारी जसले देश र प्रत्येक खेलप्रेमीलाई एकताबद्ध गरोस्, त्यो दायित्व जसलाई प्रत्येक सामान्य मानिसले पछ्याउन प्रेरित रहिरहुन् अनि त्यो दायित्व जसले खेल मात्र होइन, खेलभन्दा पनि ठूलो जीवन जिउने सन्देश प्रवाह गर्न सकोस् । यो गहन जिम्मेवारीमा पनि सन्दीपले आगामी दिनमा खेलमा निखारिएजस्तै गरी निखारिँदै जाउन् । सन्दीपलाई उज्ज्वल भविष्यको शुभकामना ।
#देश सञ्चार
कोम खत्री - ।