सूचनाको शक्ति - The Power Of Information

        

अभावै, अभावले थलियो जुद्धसंस्कृत विद्यालय

बाँके । जीर्ण अवस्थाका कक्षा कोठा, विद्यार्थीको संख्या पनि न्युन, साँधुरिएको भवन, बजेटको अपर्याप्तता, परीक्षा नतिजा सन्तोषजनक नहुनु यस्तै नियति भोग्दै जेनतेन चलेको छ, नेपालगन्जको एक ऐतिहासिक विद्यालय । विसं १९८७ मा श्री ३ जुद्धशम्शेरले स्थापना गरेको ‘जुद्ध संस्कृत माध्यमिक विद्यालय’ले अहिले अभावै, अभावको नियति भोग्नुपरेको छ ।
विसं २०५९ सम्म संस्कृत माध्यमबाट अध्यापन गराइने यो विद्यालयमा अहिले संस्कृत विषयको पढाइ हुँदैन । राणाशासनका शासकले संस्कृतको ज्ञान वृद्धि गर्नुपर्ने उद्देश्यले विद्यालयको स्थापना गरेका थिए । राजनीतिक परिवर्तनका क्रममा जनयुद्धका समयमा तत्कालीन माओवादीले पठनपाठनमा अवरोधपछि सो विद्यालयबाट संस्कृत विषय हटाइएको छ ।
यो विद्यालयमा बाल विकास कक्षादेखि १० कक्षासम्म सञ्चालन गरिएको छ । विद्यालयमा १८१ विद्यार्थी संख्या छ भने १६ जना शिक्षकले अध्यापन गराइरहेका छन् । संस्कृतबाट सामान्य विद्यालयमा रुपान्तरण गरिएको विद्यालयमा अहिले भौतिक संरचनाको समस्या देखिएको छ । व्यवस्थित शौचालयको अभाव, विद्यार्थीका लागि चमेनागृहको अभाव, अव्यवस्थित कक्षा कोठाजस्ता समस्या देखिएका छन् ।
विद्यालयमा उपयुक्त खेल्ने खुला ठाउँ नहुँदा इच्छाअनुसारको खेल खेल्न नपाउने विद्यार्थी बताउँछन् । जेनतेन सञ्चालनमा रहेको यो विद्यालयमा तोकिएको मापदण्डअनुसार विद्यार्थीको संख्या कम भएकाले बजेट पनि कटौती गरिएको छ । बजेटको अभावमा विद्युत्को महसुल पनि शिक्षकले मिलेर तिर्ने गरेका प्रधानाध्यापक दिलीप श्रीवास्तवले बताए । कुल ३०० विद्यार्थी क्षमताको सो विद्यालयमा विद्यार्थीलाई टिकाइराख्नु ठूलै चुनौती बनेको छ ।
‘यहाँ अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशत बालबालिका अरुका घरमा घरेलु कामदारमा रुपमा रहेकाले पनि उनीहरुलाई टिकाउने चुनौती छ,’ प्रधानाध्यापक श्रीवास्तवले भने । अर्काको घरमा बसेर काम गर्ने र दिउँसोका समयमा विद्यालयमा पढ्न आउने गर्छन् । त्यसले गर्दा उनीहरुको पढाइमा धेरै समस्या भएको छ । साँझ बिहान घरको काम गर्नुपर्ने भएकाले कहिलेकाहीँ विद्यालयबाट दिइएको गृहकार्य पनि नगरेको शिक्षक बताउँछन् ।
विद्यालयले विद्यार्थीबाट कुनै पनि किसिमको शुल्क भने लिने गरेको छैन । संस्कृत विद्यालय सञ्चालनमा समस्या हुने देखिएपछि विद्यालय व्यवस्थापन समितिले संस्कृत पढाइ छोडेर साधारण पढाइ शुरु गरेको विद्यालयका शिक्षक नारायण शर्माले बताए । सो विद्यालयमा अध्ययनरत विद्यार्थी आफ्नो पढाइप्रति संवेदनशील छन् । उनीहरुलाई विद्यालयले चाहेर पनि उचित वातावरण दिन सकिरहेको छैन ।
अहिले विद्यालयमा बाल क्लब गठन गरी सरसफाइलगायत सिर्जनात्मक र रचनात्मक भूमिकामा विद्यार्थीलाई समेटिएको पाइन्छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले उक्त विद्यालयमा विद्यार्थी संख्याका आधारमा खर्च दिने गरिएको बताए । ‘विद्यार्थीको संख्या विद्यालय व्यवस्थापन समितिले नै बढाउनुपर्छ, आन्तरिक स्रोतको खोजी गर्ने जिम्मेवारी पनि समितिकै हुने भएकाले सबै पक्षमा शिक्षा शाखा आकर्षित हँुदैन,’ रेग्मीले भने ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार १५:३२