सूचनाको शक्ति - The Power Of Information

        

चार महिनामा ७८८ बलात्कार, २४० हत्या

अपराधमा जेलिएको समाज

लोकेन्द्र प्रसाई । काठमाडौं । गत साउनमा कन्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । यो विषय राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको विषय बनिरहँदा नेपालमा बलात्कारको ग्राफ भने बढ्दो छ । जबर्जस्ती करणीमा चालु आर्थिक वर्षको सुरुको चार महिनामा ७८८ वटा मुद्धा दर्ता भएका छन् ।
यो संख्या चार वर्षअघि एक आर्थिक वर्षभरीमा भएका जबर्जस्ती करणीका संख्यासँग लगभग बराबरी हुन आउँछ । आर्थिक वर्ष २०७१/०७२ देशभर ९८१ वटा जबर्जस्ती करणीका मुद्धा दर्ता भएका थिए । त्यसयता हरेक वर्ष यो संख्या बढिरहेको छ । गत आर्थिक वर्षमा मात्र यो कसुरमा एक हजार ४८० मुद्धा दर्ता भएका थिए । प्रहरीको केन्द्रीय तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा जबर्जस्ती करणीमा एक हजार १३७ मुद्धा दर्ता भएका थिए ।
चालु आर्थिक वर्षको कात्तिकसम्म काठमाडौँ उपत्यकाभित्र मात्र ९२ वटा जबर्जस्ती करणीका मुद्धा दर्ता भएको तथ्यांक छ । सबैभन्दा बढी प्रदेश–१ मा बलात्कारका घटना भएका छन् । उक्त अवधीमा यस प्रदेशमा २११ बलात्कारका घटना दर्ता भएका छन् । गत आर्थिक वर्षमा उपत्यकामा १८८ र प्रदेश–१ मा ३८४ बलात्कारका घटना दर्ता भएका थिए । त्यस आर्थिक वर्षमा सबैभन्दा कम बलात्कारका घटना प्रदेश–६ मा ५९ र प्रदेश–७ मा ९३ वटा दर्ता भएका थिए । चालु आर्थिक वर्ष प्रदेश–६ मा ५६ र प्रदेश–७ मा ४७ वटा बलात्कारका घटना भएको प्रहरी तथ्यांक छ ।

लागुऔषध र हत्या पनि उस्तै
पछिल्लो समय जघन्य अपराधको ग्राफ दिनदिनै उक्लदोँ छ । कानुनले १० वर्षभन्दा बढी जेल सजाय भएको कसुरलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको छ । कानुनत् आजिवन काराबाससम्मका सजायहरु कानुनले ब्यवस्था गरेको छ । यहि व्यवस्था अनुसार जबर्जस्ती करणी, कर्तव्य ज्यान, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, ज्यान मार्ने उद्योग, व्यक्ति अपहरण, खुन डाका, विस्फोटक पदार्थ लगायत कसुर जघन्य अपराधभित्र पर्दछन् ।
आर्थिक वर्ष २०७३/०७४ मा देशभर पाँच हजार ४४५ जघन्य अपराधका घटना भएकामा यो बढेर गत आर्थिक वर्षमा ६ हजार ६४६ पुगेको थियो । चालु आर्थिक वर्षको सुरुको चार महिनामै २ हजार ७४७ मुद्धा जघन्य अपराधसँग सम्बन्धित छन् । नेपालमा अहिले हुने सबैभन्दा ठुलो संख्याको जघन्य अपराधमा लागु औषध पर्दछ । चालु आर्थिक वर्षको सुरुको चार महिनामा मात्र १ हजार १२९ लागुऔषध सम्बन्धी मुद्धा दर्ता भए ।
गत आर्थिक वर्षमा देशभर यो कसुरमा ३ हजार ८८ मुद्धा दर्ता भएका थिए । त्यस वर्ष सबैभन्दा बढी प्रदेश–१ मा ७१९ र त्यसपछि काठमाडौँ उपत्यकामा ५१९ मुद्धा दर्ता भएको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष २०७३/०७५ मा लागुऔषध सम्बन्धी दुई हजार ४६७ मुद्धा दर्ता भएका थिए । चालु आर्थिक वर्षको सुरुको चार महिनामा लागुऔषध सम्बन्धी उपत्यकामा २२७ र प्रदेश–१ मा २११ मुद्धा दर्ता भएको प्रहरी प्रधान कार्यालय बताउँछ ।
तथ्यांकलाई हेर्दा कर्तव्य ज्यानका मुद्धा अघिल्लो वर्षको तुलनामा यसपटक बढ्ने देखिन्छ । चालु आर्थिक वर्षको सुरुको चार महिनामा देशभर २४० हत्याका घटना भएका छन् । देशभर आर्थिक वर्ष २०७३/०७४ मा ६१६ र २०७४/०७५ मा ६२८ वटा हत्याका घटना भएका थिए । चालु आर्थिक वर्षको सुरुको चार महिनामा सबैभन्दा बढी हत्याका घटना प्रदेश–१ मा भएका छन् । यो प्रदेशमा ५४ वटा हत्याका घटना भएको प्रहरी तथ्यांक छ । प्रदेश–५ मा ४० र उपत्यकामा १९ वटा हत्या भएका छन् ।

 

 

#देश सञ्चार

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १२:५३