सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माणमा किन ढिलाइ ?


कृष्ण अधिकारी/बाँके । नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण कार्य सुस्त भए पनि निर्धारित समयमै निर्माण सकिने आयोजनाले जनाएको छ । सडक निर्माण थालिएको ९ महिनामा करिब १५ प्रतिशत मात्रै काम भएको छ । पछिल्ला दिनमा सडकको कामले केही तीव्रता पाएकाले निर्धारित समयमै सडक निर्माणको काम पूरा हुने हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका प्रमुख सौरभ बज्राचार्यको दाबी छ ।
बाँके सदरमुकाम नेपालगन्जदेखि बघौडासम्म साढे ४४ किलोमिटर सडकमध्ये फत्तेपुरदेखि बघौडासम्मको २६ किलोमिटर क्षेत्रमा माटो फिलिङ गरी ग्राभेलिङ गर्ने कार्य भइरहेको छ । सो सडक खण्डमा पर्ने १५ वटा कल्भर्ट निर्माणको काम पनि भइरहेको छ । फत्तेपुरदेखि बघौडा क्षेत्रमा सडक निर्माणको काम भरहे पनि नेपालगञ्ज बसपार्कदेखि फत्तेपुरसम्म निर्माण रोकिएको छ ।


२०७२ साल र यो वर्ष आएको बाढीले डुडुवादेखि राप्ती नदी हुँदै फत्तेपुरसम्मको अधिकांश सडकमा क्षति पुर्याएको छ । बाढीले क्षतिग्रस्त सडकको मर्मत तथा खाल्डाखुल्टी पुर्नेसम्मको काम नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाँकेको नरैनापुर तथा राप्ती सानारी गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने प्रमुख सडक भए पनि निर्माण सुरु नहुँदा त्यस क्षेत्रका करिब एक लाख बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माणको चर्चा सुरु भएको २० वर्ष भइसके पनि सडक निर्माण कहिलेसम्म पूरा हुने हो टुंगो छैन । भारत सरकारको सहयोगमा सो सडकको निर्माण कार्य १९ मार्च २०१४ मा सक्नेगरी भारतको जिभिआर इन्फ्र प्रोजेक्ट चेन्नाईले २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता गरेको थियो । करिब ३ प्रतिशत काम गरेर निर्माण कम्पनी भागेका कारण सो सडकको निर्माण कार्य लामो समयदेखि अवरुद्ध बनेको हो ।
केपी ओली नेतृत्वको सरकारले सो सडकको निर्माण नेपालले आफ्नै लगानीमा गर्ने निर्णय गरेर बजेट समेत विनियोजन गरेपछि सडक निर्माणको काम अगाडि बढेको हो । तत्कालीन भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले २०७३ माघ ५ गते सडक निर्माण कार्यको शिलान्यास गरेका थिए । पप्पु लुम्बिनी जेभीले ६६ करोड ६ लाख ३६ हजार ८९० रुपैयाँ ३६ पैसाको लागतमा डबल लेनको कालोपत्रे सडक निर्माण कार्य सुरु गरेको हो । सो सडकको निर्माण कार्य २०७६ असार मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ०७:४३