बाँके । पटक–पटक ‘बाबा म साँझ आउँछु’ भन्दै बाईबाईको हात हल्लाएका दाङ घोराई उपमहानगरपालिका–१४ का रामबहादुर जिएमका छोरा १७ वर्षीय एकमात्र छोरा विरेन्द्र जिएमको त्यो बाईबाईको हात हल्लाई सधैँका लागि अन्तिम बन्न पुग्यो ।
छोराको मृत्युपछि शोकमा रहेका बाबु जिएम भन्छन्, ‘हिजो सल्यानको जंगलमा प्राक्टिकल गर्न जाँदैछौं बाबा भन्यो र मोटरसाइकलमा त्यस्तै साढे ६ बजेदेखि ४० मिनेटको बीचमा क्याम्पस नजिकै लगेर छाडेको हुँ, साँझ चाँडै आउँछु बाबा भन्दै थियो । अहिले यस्तो देख्नुपर्यो ।’
तीन छोरी र एकमात्र छोरा भएको रामबहादुरले आमालाई र दिदी बहिनीहरुलाई सम्हाल्न गाह्रो भएको बताए । ‘हिजो दिउँसो सल्यानबाटै काकालाई फोन गरेर अंकल म अहिले सल्यान आएको छु । साँझ चाँडै नै घर आउँछु है भनेर फोनसमेत गरेको रहेछ ।’
मृत्यु हुनेहरुमध्ये शिक्षक र चालकबाहेक अधिकांश १६ देखि २२ बर्ष उमेरका कलिला मुनाहरु थिए । सुन्दर भविश्यका कर्णधार मानिएका तिनै कलिला मुनाहरुलाई नियतिले कहिल्लै नपलाउने गरी निमोठेर लगेको छ । ती सबैले प्राविधिक शिक्षा अध्यान गरेर चाँडै रोजगारी हाँसिल गरी सुन्दर भविष्य सजाउने सपना साँचेका थिए । जुन अधुरै रह्यो ।
शुक्रवार बिहान सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट डिप्लोमा फरेष्टीको अब्जरभेसन गर्न हिडेका ३४ जना विद्यार्थी, दुई जना शिक्षक र दुई जना चालकसहितको टोली हिड्ने बेलामा र दुर्घटनाको अघिसम्म निकै हाँसीखुसी गर्दै थिए । भ्रमणका क्रममा गीत गाउने नाच्ने गरेर रमाइलो गरिन्छ । शव राखिएको स्थान राप्ती अञ्चल अस्पालमा मृतकका आफन्तको रोदन र चित्कारले बाहिरबाट जाने मानिसहरुलाई समेत आँशु थाम्न गाह्रो परिरहेको थियो ।
‘हे अलछिने दैव ! बरु मै बुढोलाई लगेको भए हुन्थ्यो नि, मेरो मुटु मेरो छोरालाई कलिलैमा किन खोसिस भनेर छोराको शवमा टाउको राखेर डाँको छाड्नेहरु थिए । मृत्यु भएका शिक्षक नरेश वलीकी श्रीमती रुँँदारुँदै बोल्न नसक्ने अवस्थामा पुगेकी थिइन् । ‘हे मेरो हजुर ! मलाई किन एक्लै पारेर जानुभयो, यो छोरीले अब बाबा कसलाई भन्ने ? उनको यस्तो विलौनाले सारालाई रुवाइरहेको थियो ।
शिक्षक वलीका दाजु सर्कबहादुर वली घुँडामा टाउको राखेर बुहारीलाई सम्झाउँदै थिए तर आफू नै थामिन सकेनन् । दाजु सर्कबहादुरका अनुसार दाङमै डेरा गरेर उनीहरुले दुई वर्षीया छोरीलाई पढाउँदै आएका थिए । अर्का शिक्षक पदमप्रसाद घिमिरे दाङ जिल्लाभर होनाहर युवाका रुपमा परिचित थिए । घिमिरेका आफन्तजन, साथीसंगीको रुवावासीको भीड प्रहरीलाई थेगी साध्य थिएन ।
कतिपय विद्यार्थीहरुको भर्खर विवाह भएको थियो भने कतिपय कोर्ष सकेर विवाह गर्ने तयारीमा थिए । कतिपयको प्रेमसम्वन्ध पनि धागोझैँ छिनिएको छ । मृत्यु हुनेमा जुम्लाका मात्रै ११ जना रहेका छन् । दाङका ६ जना गरी १९ जना पुरुष र ४ जना महिला छन् । रोजगारीको ग्यारेन्टी सम्झेरै जुम्ला, डोल्पा जस्ता दुर्गम गाउँँका युवाहरु प्राविधिक शिक्षा पढ्न आएका थिए ।
केहि दिनअघि सम्पन्न नेपाल पत्रकार महासंघ दाङको साधारण सभामा सहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले प्रभातफेरीमा साथ थिएका थिए । शिक्षालयको युनिफर्ममा सजिएका उनीहरु सेना प्रहरीमा तालिम प्राप्त जस्तै अनुशासित र लामबद्ध देखिन्थे । एकले अर्कोसँग मुस्कान साटासाट गरेका थिए ।
सत्यपाटी - ।