सूचनाको शक्ति - The Power Of Information

        

६० प्रतिशत निःशुल्क मुद्दा लड्ने अधिवक्ता ज्ञवाली

बाँके । बासुदेव ज्ञवाली, तीन दशकदेखि नेपालगन्जमा सक्रियतापूर्वक वकालत गर्दै आइरहेको नाम । नेपालगन्जमा सबै राजनीतिक दलका नेता, कार्यकर्ता र सामाजिक अगुवाले अत्यन्त सम्मानका साथ लिने नाम पनि हो । ज्ञवालीलाई चिन्नेहरु चलेको वकिल भए पनि ब्यक्तिगत लाभ लिन नसकेको मान्छन् ।
योग्यता र क्षमताका हिसावले सहकर्मीभन्दा अघि देखिए पनि ज्ञवाली पैसाकै लागि मरिहत्ते गरेको कहिल्यै नदेखिने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । ज्ञवालीले गर्ने वकालतमध्ये करिब ६० प्रतिशत त निशुल्क नै हुने गरेको छ । विद्यार्थीकालदेखि तत्कालिन नेकपा एमालेसँग नजिक रहेका ज्ञवालीलाई अधिकांश एमाले कार्यकर्ताले निशुल्क मुद्दा लडिदिने वकिलको रुपमा चिन्छन् ।
उनले सशस्त्र द्वन्दकालमा समेत तत्कालिन माओवादी नेता कार्यकर्ताको पक्षमा वकालत गरेका थिए । २०२९ साल असार ७ गते गुल्मीको छत्रकोट गाउँपालिका दौघामा जन्मेका ज्ञवालीले ७ कक्षा सम्म निमावि दौघामा अध्ययन गरे । कक्षा ८ भने अर्घाखाँचीको फर्सवाटाकुरा मावि फिदिमबाट पुरा गरे । कक्षा ९ र एसएलसी उत्तीर्ण उनले बर्दियाको अंशुबर्मा माविबाट गरे ।
२०४६ देखि नेपालगन्ज आएका ज्ञवालीले महेन्द्र बहुमुखी क्याम्पसबाट बिएल, एमए हुँदैं काठमाडौं स्कुल अफ ल बाट एलएलएम उत्तिर्ण गरेका हुन् । हालका चर्चित कानून व्यवसायी सुरुवातमा लेखनदास थिए । ०५१ देखि उनी नियमितरुपमा वकालतमा सक्रिय भएका हुन् । ज्ञवाली २०५० देखि तत्कालिन नेकपा एमालेसँग नजिक भएका थिए ।
कक्षा ७ मा विद्यालय पढ्दादेखि नै तत्कालिन अखिलको प्रारम्भीक कमिटी अध्यक्ष भएका ज्ञवाली एमालेको भेरी अञ्चल कानून विभाग, स्कुल विभाग र निर्वाचन विभागमा रहेर लामो समयसम्म काम गरे । एमालेसँग नजिक भएका कारण उनले एमालेको गाउँ कमिटीदेखि जिल्ला कमिटी र राष्ट्रिय महाधिवेशन प्रतिनिधी चयन सम्म निर्वाचन अधिकृतको भूमिका निर्वाह गरे ।
ज्ञवाली पुनरावेदन बार एशोसिएसन नेपालगन्जको पूर्व कोषाध्यक्ष र सचिव हुन् । अध्यक्षमा प्रगतिशिल समूहबाट उम्मेदवार भएका उनले बराबरी मत पाएर गोलाप्रथामा पराजित हुनुपरेको थियो । ज्ञवाली आसन्न नेपाल बारको प्रदेश नं. ५ बाट केन्द्रीय उपाध्यक्षको दावेदार छन् । कानून ब्यवसायीहरु वामपन्थीभित्र ज्ञवाली साझा उम्मेद्धारको रुपमा सबैभन्दा उपयुक्त रहेको कानून ब्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार १४:१३

सिफारिस