सूचनाको शक्ति - The Power Of Information

        

प्रसूति केन्द्र प्रयोगविहीन, बिजुली र खानेपानीको समस्या उस्तै

बाँके । चार बर्षअघि निर्माण गरिएको बाँकेको बेलहरी स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्रको भवन अहिले पनि सञ्चालनमा आउन सकेको छैन । तत्कालिन जिल्ला विकास समितिको सहयोगमा प्रसूति केन्द्र निर्माण गरिएपनि त्यसका झ्याल र ढोका तोडफोड भएका कारण प्रयोगविहीन बनेको हो ।
बिजुली बत्ती र खानेपानीको व्यवस्था नहुँदा प्रसूति सेवासमेत सञ्चालन हुन नसकेको स्वास्थ्यचौकी प्रमुख बेल्वासे बताउँछन् । प्रसूति केन्द्र सञ्चालन नहुँदा प्रसूतिका लागि सदरमुकाम नेपालगन्ज जानुपर्ने बाध्यता छ । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले विगतमा बजेट विनियोजन भए पनि स्वास्थ्यका समस्या समेट्न नसकेको स्वीकार गर्दै आगामी दिन यसलाई प्राथमिकतामा राखिने बताए ।
यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ । स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्वासेले बताए । ‘स्रोतसाधन छैन, ६ महिना भयो विद्युतको बिल तिर्न सकिएको छैन,’ उनले भने, ‘वडा कार्यालयमा यस विषयमा पटक–पटक जानकारी गराए पनि सुनुवाइ भएन, अब कहाँ भन्न जाने ?’
विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट विगतमा बाहिरङ् सेवा सञ्चालनका लागि रकम आउने भए पनि स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरणपछि आयस्रोत पनि ठप्प भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गीरबहादुर गुरुङले मसलन्द खर्चका लागि गाउँपालिकामा रकम माग गरिएको र उपलब्ध भए स्वास्थ्यचौकी सञ्चालनमा सहजता आउने बताए ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार १२:२५