सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीले थाल्यो ‘रातभरी थुन्ने अभियान’ !

इलाका प्रहरी कार्यालय कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुर ।


बाँके । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरी थुन्ने अभियान’ सुरु गरेको छ । राती १० बजेपछि अत्यावश्यक कामबाहेक ‘डुल्न’ हिड्नेलाई रातभरी थुन्ने नीति अघि बढाएको कोहलपुर प्रहरीले जनाएको छ । चोरीका घटना बढेपछि प्रहरीले रातीमा हिड्नेहरुमाथि निगरानी बढाएको छ ।
‘लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्तिहरु रातीमा भेटिए थुन्ने गरेका छौं,’ इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले भने, ‘भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउँछौं ।’ प्रहरीले यो अभियान चलाउदा दैनिक ५÷६ जना नियन्त्रणमा परिरहेको उनले बताए ।
प्रहरीले रातीमा पक्राउ परेकालाई विहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेको छ । फेरि त्यही मान्छे फोकटमा रातीमा हिडेको पाइएमा कारबाही अघि बढाउने प्रहरीको योजना रहेको छ । प्रहरीले चोरी नियन्त्रण र बिना काम रातीमा हिड्नेलाई नियन्त्रण गर्न तीन वटा टोली परिचालन गरेको छ ।
दुई वटा ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली रहेको छ । जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थको प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ । ‘रातभरी राखेर विहान छोड्दा प्रहरीले फेरि भेटेमा कारबाही गर्ने चेतावनी दिएर छोड्ने गरेका छौं,’ प्रवक्ता विसीले भने, ‘हामीले ‘पुराना चोर’को पनि खोजी गरिरहेका छौं ।’
चोरीका घटना बढ्दा स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका छन् । प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको प्रवक्ता विसीले बताए । चोरीकर्ममा लागेका यिनीहरुलाई प्रहरीले खोजी गरिरहेको हो । प्रहरीले राती हिड्नेलाई थुन्ने अभियान थालेपछि कतिपय त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’सहित पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १५:४४