सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाका राईलाई गोरखा दौडको उपाधि

गोरखा । दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जितेका छन् । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले उपाधि जितेका हुन् ।
उनले निर्धारित आठ किलोमिटरको दूरी ३० मिनेट ४० सेकेण्डमा पूरा गरेको प्रतियोगिताका संयोजक रामहरि केसीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो र राजन खत्री तेस्रो हुन सफल भएका छन् । श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ५५ सेकेण्ड र खत्रीले ३१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए ।
त्यस्तै निर्धारित दूरी ३१ मिनेट ४७ सेकेण्डमा पार गर्दै नेपाली सेनाका हरि रिमाल चौथो र ३२ मिनेट चार सेकेण्डमा निर्धारित दूरी पार गर्दै कल्याण बानियाँ पाँचौँ हुनुभएको संयोजक खत्रीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुन सफल राईलाई नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।
उपाधि जित्न सफल राईलाई श्रीपेच लगाई घोडा चढाएर नगरपरिक्रमा समेत गराइएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने खेलाडीलाई रु २० हजार, तेस्रो हुनेलाई खेलाडीलाई रु १० हजार र सान्त्वना हुन सफल दुईलाई २५÷२५ सय नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । तत्कालीन राजा द्रव्य शाहले राज्यभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट शुरु भएको दौड प्रतियोगिता नयाँबसपार्क हरमटारी चोक हुँदै गोरखा दरबारस्थित हनुमानथान पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको बिहान गोरखा क्षेत्र नम्बर १ का सङ्घीय सांसद हरिराज अधिकारीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १५:२०