बाँके । पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामीहरु नेपालगन्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको संख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् ।
स्वास्थ्यमा जनचतेना नभएकाले, सरसफाईमा ध्यान नदिँदा संक्रमणबाट ढुसी (फंगस) बढी देखापर्ने गरेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका चिकित्सक डाक्टर कुमार पोखरेलले बताए ।
मेडिकल भाषामा ‘टिनिया’का नामले परिचित यो रोगका कराण ६० प्रतिशत नागरिक पीडित भइरहेका छन् । यसमा दुबी, दाद लगायतका सबै रोग पर्ने चिकित्सकको भनाई छ । नेपालमा कुष्ठरोग छैन भन्ने दावी गरिए पनि पश्चिम क्षेत्रमा कुष्ठरोग अत्यधिक देखिएको छ ।
नेपालगन्जका ठूला भनिएका अस्पतालमा कुष्ठरोगका बिरामी अहिले पनि आइरहेका छन् । कुष्ठरोग अरु छालाको रोगसँग मिल्दोजुल्दो देखिने भएकाले अरु सामान्य संक्रमण हो भनेर आफै औषधि प्रयोग गरिरहेको चिकित्सक बताउँछन् ।
कतिपय विरामी अस्पतालको पहुँच बाहिर रहनुका साथै जिल्लामा छालाका विशेषज्ञ चिकित्सकको अभावमा आफूखुसी मेडिकलमा गई मल्हम किनेर लगाउने गर्दै आएका छन् । लामो समय बितेपछि जब हातखुट्टा झमझम गर्छ, नसा दुख्छ, लुलो हुन्छ तब अस्पतालमा आउने गरेको भेटिएको भेरी अञ्चल अस्पतालले जनाएको छ ।
नेपालगन्जका अस्पतालमा कुष्ठरोगबाहेक अन्य छालाका संक्रमणबाट हुने रोगीहरु पनि आउने गरेका छन् । पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेहरुको संख्या बढेको छ । अहिले त नेपालगन्जमा भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा छालाका विशेषज्ञ चिकित्सकहरु पनि छन् ।
नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको डा.पोखरेल बताउँछन् । उनी भन्छन्, ‘नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।’ उनका अनुसार यो रोग मौसम अनुसार पनि मानिसमा देखिन सक्छ ।
‘बजारमा पाइने महँगा क्रिम लगाएर मात्र राम्रो भइँदैन, त्यसका लागि सन्तुलित खाना, पर्याप्त पानी सेवन तथा निद्रा र नियमित व्यायाम सबै आवश्यक हुन्छ,’ उनी भन्छन् । डा.पोखरेलका अनुसार पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धुलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ ।
‘छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ,’ डा. पोखरेलले भने, ‘छालाको समस्या बढ्दै गएमा वा धेरै घाममा काम गर्ने व्यक्तिमा छालाको क्यान्सर देखिन पनि सक्छ ।’ नेपालमा छालाको क्यान्सरका बिरामी कम देखिए पनि यो बढ्दो क्रममा छ ।
नेपालमा कति मानिसलाई छालाको समस्या छ भन्ने हालसम्म यकिन तथ्यांक भने रहेको पाइँदैन । छालाको क्यान्सर धेरै कारणले हुनसक्छ । एउटा कारण भने घामबाट जलेर पनि हुन्छ । लामो समयसम्म सिधा घामको सम्पर्कमा रही काम गर्ने व्यक्तिलाई यस्तो समस्या हुने गरेको डाक्टरहरुको भनाई छ ।
सत्यपाटी - ।