सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महासमिति बैठकमा जुहारी, दर्ता हुँदै हिन्दु राष्ट्रको प्रस्ताव

काठमाडौं । धर्मको विषयलाई लिएर कांग्रेस महासमिति बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप चलेको छ । पार्टीले हिन्दूराष्ट्रको नीति लिनुपर्ने भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका सदस्यहरूले जनताको भावना अनुसार पार्टीले नीति बदल्नु पर्ने बताएका छन् ।
बुधवारको बन्दसत्रमा लोकेश ढकाल, चन्द्र केसी लगायतका नेताले नेपालको मौलिक पहिचानका लागि सनातन हिन्दू धर्मसापेक्ष राष्ट्र बनाउनु पर्ने बताएका थिए । नेपालमा धर्म परिवर्तनको डरलाग्दो अभियान शुरू भएको भन्दै उनीहरूले नेपालको मौलिकता बचाउन पनि हिन्दूराष्ट्र बनाउनुपर्ने बताएका थिए ।
केही महासमिति सदस्यले भने संविधानमा भएको धर्मनिरपेक्षताको व्यवस्थाबाट पछि हट्न नहुने बताएका छन् । सुवास यादव, तेजुलाल चाौधरी, राजकिशोर सिंह लगायतले हिन्दू धर्ममा जान नहुने बताएका थिए । हिन्दूराष्ट्रको पक्षमा ६९३ जना महासमितिसदस्यले हस्ताक्षर गरेका छन् ।
‘म हिन्दू हुँ, तर पार्टी धर्मनिरपेक्षताको अडानबाट पछि हट्नु हुँदैन,’ सिराहाका महासमिति सदस्य यादवले भने, ‘धर्मनिरपेक्षताबाट पछि हट्दा जनजाति, मुस्लिम लगायका समुदाय पार्टीबाट टाढिने खतरा छ ।’ नेता रामहरि खतिवडाका अनुसार बुधवार साढे ११ बजेसम्म सुधीर शिवाकोटी, बैकुण्ठ न्यौपाने लगायत १४ जना सदस्यले धारणा राखिसकेका छन् ।
केही महासमिति सदस्यले विधानको विषयमा निर्णय गर्न बोलाइएको महासमिति बैठकमा विधान संशोधन प्रतिवेदन पेश गर्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । लामो कसरतपछि कांग्रेसले कोषाध्यक्ष बाहेकका पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्नेगरी विधानलाई अन्तिम रूप दिएको थियो ।
विधान छपाइमा भएको ढिलाइका कारण आज बाड्न नसकिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरलाई बताए । विधान संशोधनमा भएको ढिलाइका कारण महासमिति बैठक भोलिसम्मका लागि लम्बिने भएको छ । नेपाललाई हिन्दु राष्ट्रको हैसियतमा फर्काउन दबाब दिदैँ कांग्रेस महासमिति सदस्यहरुले आज (बुधबार )महासमिति बैठकमा छलफलका लागि प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।
हिन्दु धर्मको विषयमा छलफल प्रस्तावका लागि ६९३ जना महासमिति सदस्यहरुको हस्ताक्षर संकलन भएको र आज १२ बजेभित्रै उक्त प्रस्ताव दर्ता गराइने यसको नेतृत्वकर्ता मध्येका एक बैतडीका कांग्रेस महासमिति सदस्य उत्तरबहादुर ऐरले जानकारी दिए । ‘६९३ जना महासमिति सदस्य र अन्य नेताहरु सहित ११ सय जनाको हस्ताक्षर संकलन भइसकेको छ, हामी आजै यो प्रस्ताव दर्ता गर्दैछौँ, फाइल तयार भइसकेको छ,’ ऐरले भने ।
कांग्रेसको महासमिति बैठकमा छलफलको एजेण्डा बन्न चारसय जना महासमिति सदस्यको समर्थन चाहिने प्रावधान रहेको छ । हिन्दु राष्ट्रका पक्षमा कांग्रेस रहनुपर्ने भन्दै नेताहरु शंकर भण्डारी, कर्ण मल्लसहितको अगुवाईमा हस्ताक्षर संकलन अभियान चलेको हो । नेता ऐरले हिन्दु राष्ट्रका पक्षमा संकलन गरिएको यो हस्ताक्षर सभापति शेरबहादुर देउवालाई समेत बुझाउने तयारी भएपनि समय नमिलेको बताए ।
शनिवारदेखि महासमिति बैठक चलिरहेको योगम्बर पार्टी प्यासलेमा भोलिका लागि अर्को कार्यक्रम तय भएका कारण भोलिको बैठक भने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । विधान संशोधन र पार्टीको भावी रणनीति तय गर्दै कांग्रेस महासमिति बैठक भोलि समापन हुँदैछ ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १२:१६