बाँके । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएकामध्ये अधिकांश सोलार बत्ती बल्दैनन् । तीन बर्षअघि पाइलट प्रोजेक्टका रूपमा राखिएका सोलार बत्ती बिग्रिएपछि मर्मतमा कसैले चासो देखाएको छैन । सोलार बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्नेमा अन्यौलता छ ।
वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र पुष्पलाल चौकसम्म ७० वटा र तत्कालिन संसद विकास कोष, जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा जमुनाहादेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयदेखि जमुनाहासम्म १५० वटा पोलमा जडान गरिएका सोलार बत्तीमध्ये ६२ वटा विग्रिएका छन् । ठेकेदार कम्पनी र नेपालगन्ज उपमहानगरपालिकाबीच मर्मत कसले गर्ने भन्नेमा निक्र्यौल नहुँदा विग्रिएका सोलार बत्ती बनाउनेतर्फ पहल हुन सकेको छैन ।
त्यसो त नेपालगन्ज उपमहानगरपालिका सोलार बत्ती विग्रिएको बारेमा बेखबर छ । काठमाडौंस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको सरूवाती ७० वटा सोलार बत्तीबारे मात्र आफूसँग जानकारी रहे पनि अन्य कसले जडान गरेको भन्ने बारेमा उपमहानगरपालिकासँग जानकारी छैन । विग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य ईनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकोले समस्या रहेको उपमहानगरपालिका योजना शाखाका इन्जिनियर सुरजकुमार गुप्ता बताउँछन् ।
ईन्जिनियर गुप्ताका अनुसार सोलारको बत्तीको कुनै पाठपूर्जा दुई बर्षसम्म त कुनै तीन बर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको छ । सबै सम्झौता मन्त्रालयबाट सोझै भएको हुँदा प्राविधिक कुराबारे आफूलाई जानकारी नभएको बताए । गणेशमान चोकदेखि ट्राफिक चोकसम्म २८ वटा सोलार बत्तीमध्ये चार वटा विग्रिएका छन् ।
गणेशमान चोकदेखि वीपी चोकसम्मको २६ मध्ये ७ वटा सोलार बत्ती विग्रिएको छ । सबैभन्दा बढी वीपी चोकदेखि धम्बोझी चोकसम्मको सोलार बत्ती बिग्रिएका छन् । यो सडक खण्डमा पर्ने ३७ वटामध्ये २४ वटा सोलार बत्ती विग्रिएका छन् । तर, ईन्जिनियर गुप्ताले भने १०÷१५ वटा मात्र सोलार बत्ती बिग्रिएको हुनसक्ने बताए ।
सत्यपाटी - ।