सूचनाको शक्ति - The Power Of Information

        

बिवाह उत्सवमा मृत्युको पीडा, शोकमा शमशेरगन्ज

जन्ती बोकेको जीप दुर्घटना

बाँके । आफन्तहरु जन्ती कुरेर बसेका थिए । कोही नाचगान गर्दै थिए, कोही दुलही भित्र्याउन गर्नुपर्ने कर्मका लागि सरसामानहरु तयार गर्दै थिए । बेहुलाको घरमा छिमेकीहरुले पनि उसैगरी सघाइरहेका थिए । चारैतिर सिघारिएको बिहेको घरमा तिनै रमाइलो भइरहेको थियो ।
त्यहीबीचमा एकाएक गाडी दुर्घटना भएको खबर टोलभरी फैलियो । त्यहाँ भइरहेको रमाइलो एकाएक मौनतामा परिणत भयो । दुर्घटनापछि बेहुलाको घरमा मात्रै तीन जनाको मृत्यु भएको खबर गाउँभरी फैलियो । बाजे, बज्यै र नातीको अकाल मृत्युको पीडा भोग्नुप¥यो । चितवन गीतानगरबाट छोराको बिहे गरेर फर्किएका मनबहादुर, उनकी श्रीमती बिमला खत्री, नाती प्रवीण केसी कहिल्यै नफर्किने गरी अस्ताए ।
दुर्घटनामा शमशेरगन्जकै विश्वनाथ अधिकारी, दीपकबहादुर खड्का र कोहलपुरका दत्तबहादुर खत्रीको पनि मृत्यु भयो । बिवाहको उत्सबमा रमाइरहेको गाउँ मृत्युको पीडा सहदै एकाएक शोकमा डुब्यो । सधैँ चहलपहल भइरहने शमशेरगन्ज बजार बिहीबार बिहानैदेखि सुनसान बन्यो । आसपासका गाउँका मानिसहरु पनि छिमेकीको शोकमा मिसिए ।
दुलही भित्र्याउन ठिक्क परेका स्थानीयको आँखा रसाइरहेका थिए । जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरु शव यात्रामा जानुपर्ने भयो । ‘जन्ती बोकेका गाडी विरलै दुर्घटना पर्छन् तर, निकै पीडादायी हुन्छन्,’ यस्तै पीडा र समवेदनाका स्वरहरु सुनिँदै थिए । घरको अगाडि लस्करै चार वटा बासको घार (लाश बोक्ने) बनिरहेका थिए ।
२४ घण्टा अघिसम्म खुशीमा रमेको बिहेको घरमा चट्याङ नै परेको छ । बजारकै अलिकति पूर्वतिर रहेको मनबहादुर केसीको घरमा पुग्नेहरुको आँखा रसाएका छन् । पेशाले शिक्षक रहेका मनबहादुरसहित ८ जना बा १२ च २१२२ नम्बरको स्कोरपियोमा सवार थिए । महेन्द्रनगरबाट काठमाडौँतर्फ जादै गरेको ना ५ ख ४०९० नम्बरको बससँग दाङको रिहार नजिक ठोक्किएको थियो ।
दुलाहा बुवा मनबहादुर गाउँकै स्कूलमा पढाउँथे । विश्वनाथ अधिकारीले शमशेरगन्ज बजारमै क्लिनिक चलाइरहेका थिए । दीपकबहादुर खड्का पनि गाउँका अगुवा नै मानिन्थे । छोराको बिहे गरेर घर फर्कंदै गरेका मनबहादुरसहित ६ जनाको मृत्यु भएपछि शमशेरगन्ज शोकमा डुबेको छ । स्कोरपियोमा सवार दुई जना बाँचेका छन् । गीतादेवी खत्री र चालक यमबहादुर मगर घाइते भएका छन् ।
दुवै जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर नै रहेको छ । चार वटा स्कोरपियो र एउटा बस जन्ती गएको थियो । दुलही लिएर आउदा सिसहनियामा खाना खाएर दुर्घटना भएको स्कोरपियो अगाडि बढेको थियो । अलि अगाडि नै घरमा पुगेर आउने जन्तीलाई स्वागत गर्न मनबहादुरसहित आठ जना अगाडि निस्केका थिए ।
बेहुलाका आफन्त बाँके राप्तीसोनारी गाउँपालिका–८ ओभरीका जीतबहादुर खत्रीले भने, ‘बेहुलाका बुवा बसमा र आमा दुलहीसँग कारमा हुनुहुन्थ्यो । सिसहनियामा खाना खाँदै गर्दा अलि छिटो घरका मुख्य व्यक्ति जाने कुरा चलेपछि दुलहीको गाडीबाट आमा र बसबाट बुवा ओर्लिएर स्कारपियोमा चढ्नुभयो ।’
जीतबहादुरका अनुसार दुलाहाका बुवाआमा अघिनै घरमा पुगेर दुलही भित्र्याउने चाँजोपाँजो मिलाउने भन्दै हिँडेको र अरु जन्तीहरु विस्तारै आराम गर्दै आउने भनेर सोही अनुसार हिँडेका थिए । ‘जन्ती बोकेको बस र बेहुला–बेहुली चढेको कार पछिनै थियो । छिटो पुग्ने भनेपछि त्यही अनुसार गाडी परिवर्तन गरेर पठाइयो । तर, सोच्दै नसोचेको घटना हुनपुग्यो । पुजाको तयारी गर्न अलि छिटो जान खोज्दा यस्तो भयो,’ जीतबहादुरले भने ।
जन्ती बोकेको जिप तिव्र गतीमा गुडेको र चालक निदाउदा दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमको नेतृत्वमा घटना स्थल पुगेको प्रहरीको टोलीले जन्ती बोकेको जीपका चालक निदाउँदा बससँग ढोक्किन पुगेको प्रारम्भीक निश्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ०७:४४